08/30/2026
आजीवन सदस्यज्यूहरू, सल्लाहकारज्यूहरू तथा सम्पूर्ण तमु दाजुभाइ तथा दिदीबहिनीहरूमा छ्याजालो!
नेपालको दुःखमा हाम्रो साथ — विपत्तिमा पीडितका लागि आर्थिक सहयोगको हार्दिक अनुरोध
मातृभूमि नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट ठूलो जनधनको क्षति पुर्याउनुका साथै कैयौँ परिवारलाई आफ्ना प्रियजन, घर, सम्पत्ति र जीविकोपार्जनका आधार गुमाउने अवस्थामा पुर्याएको छ। यस दुःखद् घडीमा ज्यान गुमाउनुहुने सम्पूर्णप्रति द गुरुङ (तमु) सोसाइटी इन्क., अमेरिका हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ। साथै, अझै बेपत्ता हुनुभएका सबैजना सकुशल फेला परी आफ्ना परिवार र प्रियजनसँग पुनर्मिलन हुन सकून् भन्ने हार्दिक प्रार्थना गर्दछौँ।
यस कठिन र जोखिमपूर्ण अवस्थामा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल सरकारका सम्बन्धित निकाय तथा सम्पूर्ण उद्धार तथा राहतकर्मीहरूले आफ्नो ज्यानको समेत पर्वाह नगरी पुर्याइरहनुभएको उद्धार तथा मानवीय सेवाप्रति हार्दिक सम्मान, कृतज्ञता र धन्यवाद व्यक्त गर्दछौँ।
आज मातृभूमि नेपाल पीडामा छ। विदेशमा रहे पनि हाम्रो मन, भावना र जिम्मेवारी नेपालसँगै छ। यही भावनाका साथ द गुरुङ (तमु) सोसाइटी इन्क., अमेरिका ले बाढी तथा पहिरोबाट प्रभावित परिवारहरूको सहयोगका लागि आर्थिक सहयोग संकलन गर्ने निर्णय गरेको छ। यस अभियानअन्तर्गत संकलित सम्पूर्ण रकम पारदर्शी रूपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रत्यक्ष पठाईनेछ /जम्मा गरिनेछ।
त्यसैले, सम्पूर्ण सदस्य, शुभेच्छुक तथा नेपाली समुदायमा आफ्नो सामर्थ्यअनुसार आर्थिक सहयोग गरी पीडित परिवारको दुःखमा साथ दिन हार्दिक अनुरोध गर्दछौँ।
सहयोग सानो होस् वा ठूलो—हरेक योगदान अमूल्य छ। तपाईंको सहयोगले पीडित परिवारमा आशा, हौसला र हामी उनीहरूको साथमा छौँ भन्ने विश्वास जगाउनेछ।
नोट : थप जानकारीका लागि अध्यक्ष श्री ओम गुरुङलाई ९१७ ५६२ ६३५७ मा सम्पर्क गर्नु हुनु अनुरोध छ ।
आर्थिक सहयोग गर्न चाहनुहुन्छ भने, कृपया सहयोग रकम Zelle मार्फत The Gurung (Tamu) Society Inc., USA को इमेल [email protected] मा पठाइदिनुहुन हार्दिक अनुरोध गर्दछौं। सम्पूर्ण सहयोगदाताहरूले Zelle मार्फत समाजको उल्लेखित इमेलमा सहयोग रकम सकेसम्म छिटो पठाइदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।
*Zelle मार्फत सहयोग रकम पठाउँदा लेख्ने नोट:
नेपाल बाढीपीडित राहत सहयोग – २०२६ उल्लेख गर्नुहोस्, ताकि सहयोग रकमको उचित अभिलेख राख्न तथा पछि कर दाखिला (Tax Filing) गर्दा आवश्यक कागजात व्यवस्थापन गर्न सहज होस्।
यस मानवीय अभियानमा सहयोग गर्नुहुने सम्पूर्ण सहयोगीहरूप्रति हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दछौँ। तपाईंहरूको उदारता, सद्भाव र ऐक्यबद्धताको हामी हृदयदेखि सम्मान गर्दछौँ।
**आउनुहोस्, दुःखमा साथ दिऔँ।
विपत्तिमा हातेमालो गरौँ। मातृभूमि नेपालका लागि एकजुट बनौँ।**
नेपालको दुःखमा हाम्रो साथ—विपत्तिमा पीडितका लागि हाम्रो सहयोग।
सादर,
द गुरुङ (तमु) सोसाइटी इन्क., अमेरिका