26/09/2025
आज नवरात्रको पाँचौं दिन : स्कन्दमाताको पूजा पूजा–आराधना गरिदै
आज बडादशैंको नवरात्रको पाँचौं दिन हिन्दू धर्मावलम्बीहरूले देवी स्कन्दमाताको पूजा–आराधना गरिरहेका छन्। भगवान् स्कन्दकुमार (कार्तिकेय) लाई काखमा राख्ने भएकाले उनी ‘स्कन्दमाता’ नामले पुकारिन्छिन्।
ज्ञानशक्ति र कर्मशक्तिको प्रतीक स्कन्दमातालाई सूर्य मण्डलकी अधिष्ठात्री देवी मानिन्छ। सूर्यजस्तै देदीप्यमान वर्ण भएकी उनी सिंहमा सवार भई पद्मासनमा बस्छिन्। उनका चार हातमध्ये एक हातमा स्कन्दकुमार, अर्कोमा कमलको फूल र एक हातमा बरमुद्रा धारण गरेको वर्णन पाइन्छ।
नवरात्रमा क्रमशः नौ देवीको आराधना गर्ने परम्पराअनुसार पाँचौं दिन स्कन्दमाताको विशेष पूजा गरिन्छ। पूजा विधिमा काठको चौकोशमा प्रतिमा स्थापना, गंगाजल वा गोमूत्रले शुद्धीकरण, कलश स्थापना, श्रीगणेश, नवग्रह, षोडश मातृका र सप्त घृत मातृकाको पूजा गरेर वैदिक तथा सप्तशती मन्त्रले षोडशोपचार पूजा गर्ने प्रचलन छ।
पूजापछि आरती, प्रदक्षिणा र प्रसाद वितरण गरी नवरात्रको पाँचौं दिनको आराधना सम्पन्न गरिन्छ। भक्तजनहरू काठमाडौं उपत्यकाका नक्साल भगवती, मैतीदेवी, कालिकास्थान, भद्रकालीलगायत शक्तिपीठमा विशेष सजावटसहितको दर्शनमा जुटिरहेका छन्।