29/05/2020
तत्काल नेपाल फर्किनुपर्ने अवस्थामा रहेका नेपाली नागरिकहरूलाई आफ्नो विवरण अध्यावधिक गर्नेसम्बन्धी अत्यन्त जरुरी सूचना
नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७७/०२/१२ को निर्णयानुसार “कोभिड-१९ विश्वव्यापी सङ्क्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनैपर्ने अवस्थामा रहेका नेपाली नागरिकहरूलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश २०७७” जारी भएको सन्दर्भमा कोभिड-१९ महामारीको परिणामस्वरूप बन्दाबन्दीको कारणले नेपाल फर्कन नपाएका र तत्काल नेपाल फर्कनुपर्ने बाध्यतामा रहेका अष्ट्रेलिया र यस राजदूतावासको कार्यक्षेत्रअन्तर्गतका देशहरूमा रहनुभएका नेपाली नागरिकहरूलाई प्राथमिकताको आधारमा नेपाल फर्कने व्यवस्था गर्न लागिएको ब्यहोरा अनुरोध छ । तसर्थ, यस प्रयोजनका लागि अध्यावधिक विवरण आवश्यक भएको हुँदा यसअघि दूतावासको फेसबुक पेज, इमेल, इमर्जेन्सि रजिष्ट्रेसन फाराम तथा टेलिफोनमार्फत् नाम टिपाउनुभएका र टिपाउन बाँकी रहेका नेपाल फर्कन चाहनुहुने सम्पूर्ण नेपाली नागरिकहरूले यस राजदूतावासको वेभसाइटमा राखिएको Travel to Nepal फर्म (https://au.nepalembassy.gov.np/registration-form-to-return-back-nepal/) भरी आफ्नो विवरण यही २ जुन २०२० सम्ममा राजदूतावासमा उपलब्ध गराउनुहुन अनुरोध गरिन्छ। विवरण अध्यावधिक भएपश्चात् मात्र नेपाल फिर्ता जाने सम्बन्धमा प्राथमिकता निर्धारण गर्न, नेपालसम्मको पहुँच सुनिश्चित गर्न र नेपाल पुगेपश्चातको क्वारेन्टिन आदिको व्यवस्थापन गर्न सहज र सहयोग पुग्ने भएकोले यथार्थ र सही विवरण उपलब्ध गराइदिनुहुन अनुरोध गरिन्छ । साथै, यस सम्बन्धमा अन्य व्यवस्था र शर्तहरू निम्नानुसार रहेका छन्:
तपशिलः
१. नेपाल प्रवेश गर्ने प्रत्येक व्यक्तिले अनिवार्य रूपमा १४ (चौध) दिनसम्म स्थानीय तहको क्वारेन्टिन वा स्थानीय प्रशासनले व्यवस्था गरेको होटल क्वारेन्टिनमा बस्नु पर्नेछ । तत्पश्चात् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तोकेबमोजिम स्वास्थ्य परीक्षण भएपछि थप ७ दिन अनिवार्य होम क्वारेन्टिनमा समेत बस्नु पर्नेछ ।
२. हवाई उडान खर्च, होटल क्वारेन्टिन खर्च, विमानस्थलदेखि क्वारेन्टिनस्थलसम्मको यातायात खर्चलगायतका सम्पूर्ण खर्च व्यक्ति स्वयंले ब्यहोर्नु पर्नेछ । त्यसरी लाग्ने खर्चको विवरण पछि उपलब्ध गराइने छ ।
३. स्वदेश फर्कने व्यक्तिले हवाई उडान गर्नुअगाडि कोभिड-१९ सङ्क्रमण नभएको स्वास्थ्य परिक्षण (पि.सी.आर.) रिपोर्ट दूतावासमा पेश गर्नुका साथै आफ्नो साथमा पनि राख्नु पर्नेछ ।
४. विदेशबाट जाने प्रत्येक यात्रुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा स्वास्थ्य स्वघोषणा फाराम भर्नु पर्नेछ र निजको ज्वरो मापन गरी १००.४ F (एकसय दशमलव चार डिग्री फरेनहाइट) भन्दा बढी ज्वरो आएकालाई सोझै आइसोलेसन कक्षमा र अन्यलाई होल्डिङ सेन्टरमा लगिने छ ।
५. नेपाल भित्रिएका प्रत्येक व्यक्तिले आफ्नो मोबाइलमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको “हाम्रो स्वास्थ्य एप” डाउनलोड गरी क्वारेन्टिनमा रहँदाको अवधिको नियमितरूपमा स्वास्थ्य विवरण अध्यावधिक गर्नु पर्नेछ।
६. विमानस्थलमा पुगेपश्चात् प्रत्येक यात्रुलाई काडमाडौं चक्रपथ आसपासमा रहेका होल्डिङ सेन्टरमा लगी आवश्यक प्रक्रिया पूरा भएपछि मात्र सम्बन्धित जिल्लामा रहेका क्वारेन्टिनस्थलमा ट्रान्स्फर गरिने छ ।
७. नेपाल जाने प्रत्येक व्यक्तिले तोकिएको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गर्नु पर्नेछ ।
नोटः एअरलाइन्स र उडान तालिकाको सम्बन्धमा पछि जानकारी गराइने ब्यहोरा अनुरोध छ ।
मितिः २०७७ जेठ १६
नेपाली राजदूतावास
क्यानबेरा
In order to update the information of Nepali citizens who would like to return to Nepal in this uneasy COVID-19 pandemic situation are requested to submit their information. Information provided in this page shall be kept confidential and will be discreetly used by the Embassy of Nepal in Australia....