26/08/2026
#विद्यालयको बस सेवा अन्य विभिन्न भ्रामक समाचारप्रति शान्ति माध्यमिक विद्यालयको गम्भीर आपत्ति
अर्घाखाँची । श्री शान्ति माध्यमिक विद्यालय, मालारानी–५, बाँगी, अर्घाखाँचीले विद्यालयको बस सेवा तथा अन्य शैक्षिक गतिविधिका विषयमा तथ्य र प्रमाणमा आधारित नभएका, भ्रामक तथा भ्रम सिर्जना गर्ने सामग्री विभिन्न माध्यमबाट प्रसारण तथा प्रचारप्रसार भइरहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
विद्यालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार २०८३/०५/०९ गते विद्यालयको बस सेवासम्बन्धी विषयमा प्रसारित समाचार तथा सामग्रीप्रति विशेष आपत्ति जनाइएको छ। विद्यालयका अनुसार उक्त विषयमा वास्तविक तथ्य तथा आधिकारिक स्रोतको यकिन नगरी समाचार वा सूचना सम्प्रेषण गर्दा विद्यालय, शिक्षक–कर्मचारी, विद्यार्थी, अभिभावक तथा सम्बन्धित पक्षमा भ्रम सिर्जना हुन सक्ने र विद्यालयको प्रतिष्ठामा समेत असर पर्न सक्ने अवस्था देखिएको छ।
विद्यालयले पछिल्ला विभिन्न समयमा समेत विद्यालयको प्रतिष्ठामा आँच पुर्याउने, विद्यालय र समाजबीचको सम्बन्धमा खलल पार्ने तथा जनमानसमा भ्रम सिर्जना गर्ने प्रकृतिका तथ्यहीन वा अपुष्ट सूचनाहरू सामाजिक सञ्जाल तथा अन्य सञ्चार माध्यमबाट फैलाइएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ।
प्रेस विज्ञप्तिमा कुनै पनि संस्था, पदाधिकारी, शिक्षक/कर्मचारी वा सम्बन्धित व्यक्तिको प्रतिष्ठामा आँच पुर्याउने, सामाजिक रूपमा बदनाम गर्ने, जनमानसमा भ्रम सिर्जना गर्ने उद्देश्यले प्रमाणविहीन वा कपोलकल्पित सामग्री प्रकाशन, प्रसारण, शेयर वा पुनःप्रसारण गर्नु जिम्मेवार नागरिकको आचरण नभएको उल्लेख गरिएको छ।
विद्यालयले प्रचलित मुलुकी अपराध संहिता, २०७४ तथा विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ लगायतका प्रचलित कानुनी व्यवस्थातर्फ समेत ध्यानाकर्षण गराउँदै गलत, भ्रामक तथा आपत्तिजनक सामग्री डिजिटल माध्यमबाट प्रसारण गर्ने कार्य कानुनी प्रश्नको विषय बन्न सक्ने जनाएको छ।
विद्यालयले आफ्ना गतिविधिबारे कुनै जिज्ञासा, गुनासो वा असहमति भएमा सम्बन्धित पक्षले विद्यालय प्रशासनसँग प्रत्यक्ष सम्पर्क गरी तथ्य बुझ्न आग्रह गरेको छ। विद्यालयका शैक्षिक, आर्थिक, प्रशासनिक तथा बस सेवासम्बन्धी गतिविधिमा रचनात्मक सुझाव, आलोचना तथा प्रश्नका लागि विद्यालय सधैँ खुला रहेको पनि विज्ञप्तिमा स्पष्ट पारिएको छ।
विद्यालयले बालबालिकाको पढ्न पाउने अधिकार तथा उनीहरूको मानसिक अवस्थामा प्रतिकूल असर पर्ने गरी अपुष्ट सामग्री सामाजिक सञ्जालमा प्रसारण नगर्न समेत आग्रह गरेको छ। विद्यालयका गतिविधिबारे गलत सूचना वा भ्रामक प्रचारप्रसारका कारण विद्यालय र समुदायबीचको सम्बन्धमा नकारात्मक प्रभाव पर्न नदिन सबै सरोकारवालालाई जिम्मेवार र संयमित भूमिका निर्वाह गर्न विद्यालयले अनुरोध गरेको छ।
विद्यालयले आगामी दिनमा समेत विद्यालयसम्बन्धी कुनै पनि समाचार, सूचना वा आरोप सार्वजनिक गर्नुअघि तथ्य, प्रमाण र सम्बन्धित पक्षको आधिकारिक धारणा यकिन गर्न सञ्चारकर्मी, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सबै सरोकारवालालाई आग्रह गरेको छ।
विद्यालयले आफूविरुद्ध फैलाइएका कुनै पनि गलत वा भ्रामक सामग्रीका कारण विद्यालयको प्रतिष्ठा, विद्यार्थी–अभिभावकको विश्वास तथा विद्यालय–समुदाय सम्बन्धमा क्षति पुगेको अवस्थामा प्रचलित कानुनबमोजिम आवश्यक प्रक्रिया अघि बढाउने चेतावनीसमेत दिएको छ।