26/09/2024
राम्रा कुरा....( शिक्षक मासिकबाट साभार )
जापानी शिक्षक खायोको सवादाको केही भनाई
(क). जापानमा विद्यालय बिहान ८.३० बजे शुरु हुन्छन् । तर, हामी शिक्षक ७ बजे नै विद्यालय पुगिसक्छौं । डेस्क–बेन्च मिलेको छ÷छैन, हेर्ने र मिलाउने गर्छाैं । जापानका सरकारी विद्यालयमा पियन वा कार्यालय सहयोगी हुँदैनन् ।
(ख). कक्षा शुरु हुनुभन्दा ५ मिनेट अघि शिक्षक कोठामा पुगिसक्नुपर्छ । विद्यार्थी २ मिनेटअघि आफ्नो सीटमा बसिसकेको हुनुपर्छ । कक्षाकोठा दिनदिनै विद्यार्थीले नै सफा गर्छन् । शौचालय अनि भान्सा पनि शिक्षकहरुको साथमा विद्यार्थीले नै सफा गर्छन् । यो पनि शिक्षाकै अङ्ग हो ।
(ग). कक्षा शिक्षकले हाजिरी गर्दा हरेक विद्यार्थीको मुहार ध्यानपूर्वक हेर्ने गर्छौं । यदि कसैको अनुहार अँध्यारो छ भने सञ्चो भएन कि भनेर सोध्छौं । अरु नै केही समस्या भए अभिभावकलाई सोध्छौं र समाधानको प्रयास गर्छौं ।
(घ). हरेक सोमवार नैतिक शिक्षाको पढाइ हुन्छ । यसमा यसो गर्नुपर्छ उसो गर्नुपर्छ भनेर शिक्षकले अर्ति–उपदेश दिने भन्दा पनि शिक्षक विद्यार्थीबीच छलफल हुन्छ । उनीहरुलाई कहिले कुनै किताब पढ्न त कहिले कुनै विषयवस्तुमा छलफल गर्न दिइन्छ । जस्तो, फोहोर जहाँ पायो त्यहीं फाल्नुहुन्छ कि हुँदैन, कक्षामा समयमा आउनुपर्छ कि पर्दैन, म्यूजियम वा कतै जाँदा हल्ला गर्नुहुन्छ कि हुँदैन आदि जस्ता विषयमा छलफलपछि विद्यार्थी आफैं निष्कर्ष निकाल्छन् ।
(ङ). परीक्षाको नतिजा प्रकाशनको बेला हरेक विद्यार्थीका अभिभावकलाई १५ मिनेटका दरले समय दिइन्छ । अभिभावकसँगको कुराकानी ४÷५ दिन चल्छ , कोही विद्यार्थी पढाइमा कमजोर भएमा कुन विषयमा किन कमजोर भए भनेर विषयगत शिक्षकहरुसँग छलफल हुन्छ । त्यसपछि मात्र कमजोर विद्यार्थीलाई कसरी माथि उठाउन सकिन्छ भनेर योजना बनाइन्छ ।
(च). विद्यालयमा अङ्ग्रेजी भाषाको पढाइ हुन्छ । तर, गणित, विज्ञान, सामाजिक शिक्षा लगायत विषय जापानी भाषामा पढाइ हुन्छ । सानै कक्षादेखि विद्यार्थीलाई श्रम र कामको महत्व बुझाउन व्यावसायिक सीप पनि सिकाइन्छ । सिलाइ, बुनाइ, सिकर्मी, डकर्मी, इलेक्ट्रिसियन तालिम दिइन्छ । माध्यमिक तहका विद्यार्थी त कम्पनीमा गएर इन्टर्नसिप समेत गरेर पारिश्रमिक प्राप्त गर्छन् ।
(छ). विद्यार्थी किताब मात्रै पढ्न मन पराउँदैनन् । त्यसैले उनीहरुलाई कक्षाकोठा बाहिर लैजाने गर्छौं । विभिन्न क्रियाकलाप गराउँछौं । नियमितरुपमा संगीत, कला र खेलमा सहभागी गराउँछौं । हामीले उनीहरुलाई आफ्नो लागि मात्र होइन आफ्नो वरपर, समाज र देशको लागि काम गर्नुपर्छ भनेर सिकाइरहेका हुन्छौं । विद्यालय तहको पढाइ पूरा हुँदा उनीहरुमा आफूलाई राम्ररी अभिव्यक्त गर्न सक्ने क्षमता, न्याय, इच्छाशक्ति र समाजमा मिलेर बस्ने सीप विकास भएको हुन्छ ।
(ज). विद्यार्थीले शिक्षकलाई हेरेर पढिरहेको हुन्छ । शिक्षक राम्रो भएन भने विद्यार्थी राम्रो हुँदैन । शिक्षक दक्ष बन्न आधुनिक तरिका सिक्दै जानुपर्छ । पेसागत विकासका लागि सरकारले पनि तालिम दिन्छ । साथै, सिनियरले जुनियरलाई सिकाउने गरिन्छ । कतिपय नयाँ शिक्षकहरु गुगल सर्च गर्न मन पराउँछन् । प्रविधिबाट पनि सिक्नुपर्छ । तर नयाँबाट पुरानाले र पुरानाबाट नयाँले सिक्नुपर्छ । किनकी मानिस सामाजिक प्राणी हो ।
(झ). जापानमा शिक्षकको सेवा–सुविधा राम्रो छ । घरपायक भन्दा अन्यत्र गएर काम गर्नुप¥यो भने आधा घरभाडा थप पाउँछन् । पेन्सन पनि राम्रो छ ।
(ञ) शिक्षकका विभिन्नखाले समस्या वा दुःख हुन सक्छन् । तर पनि विद्यार्थीलाई माया गर्नुपर्छ । सम्मान दिनुपर्छ । उनीहरुको जीवनमा खुशी र सुख होस्, बच्चा राम्रो हुन् र देश राम्रो होस् भन्ने उद्देश्य हुनुपर्छ ।
स्रोत ः शिक्षक मासिक