13/05/2017
नेपाल र चिनियाँ अधिकारीद्वारा बीआरआईको ‘फ्रेमवर्क सम्झौता’मा हस्ताक्षर
------
छिमेकी चीनले विकासमा सहकार्य भन्दै अघि बढाएको महत्त्वाकांक्षी योजना ‘बेल्ट एण्ड रोड इनिसिएटिभ बीआरआई’ मा नेपाल औपचारिक सदस्य बनेको छ। उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा र परराष्ट्रमन्त्री प्रकाशशरण महतको उपस्थितिमा सचिव शंकरदास बैरागी र नेपालका लागि चिनियाँ राजदूत यु होङले आज शुक्रबार बिहान बीआरआईको ‘फ्रेमवर्क सम्झौता’मा हस्ताक्षर गर्दै उक्त अभियानमा सहभागिता निश्चित गरेको कान्तिपुर अनलाइनले लेखेको छ। परराष्ट्र सचिव वैरागी राष्ट्रपति विद्यादेवी भण्डारीसँगै शुक्रबार बिहान थाइल्यान्ड र श्रीलंका जान लाग्नु भएका कारण विमानस्थल पुग्नुअघि हस्ताक्षर सम्पन्न गरिएको हो। चीनमै परराष्ट्रमन्त्रीस्तरमा हस्ताक्षर गर्ने भनिए पनि बेइजिङमा हुने बीआरआई सम्मेलनअघि समय कम भएकाले सचिवस्तरमा उक्त हस्ताक्षर भएको हो। चीनका तर्फबाट भने परराष्ट्र सचिवको अख्तियारी राजदूत यूले पाउनु भएको थियो।
नेपालले सन् 2014 को आरम्भमा बीआरआईमा जाने प्रारम्भिक सहमति गरेकामा औपचारिक पत्राचार हुन डेढ वर्ष लागेको थियो। त्यसपछि निष्कर्षमा पुग्न अर्को नौ महिना लागेको हो। चीनले आफ्नो योजनाका विषयमा विश्वलाई उत्साहित बनाउन वैशाख 31 र जेठ 1 मा बेइजिङमा अन्तर्राष्ट्रिय बीआरआई सम्मेलन गर्दै छ। त्यसमा विश्वका उच्च नेताहरू सहभागी हुनेछन्। नेपालबाट उपप्रधानमन्त्री महराको नेतृत्वमा अन्य दुई मन्त्रीसहित 11 सदस्यीय टोली त्यसतर्फ जाँदैछ। उक्त टोली सम्मेलनमा सहभागी हुनुअगावै सम्झौता आवश्यक रहेकाले पनि पछिल्लो समय ‘हतारो’ भएको हो।
परराष्ट्रमन्त्री महतले यो समझदारी दुई देशको सम्बन्धमा महत्वपूर्ण पाइला भएको बताउनुभयो। परराष्ट्र मन्त्रालयमा सम्पन्न हस्ताक्षरमा मन्त्री महतले भन्नुभयो, ‘रोड र रेलमार्ग ‘कनेन्टीभिटी’ हाम्रा लागि महत्वपूर्ण छ। यसमा लगानी होस् भन्ने चाहन्छौं।’ यो सम्झौताले हाम्रो विकास प्रक्रियामा सहयोग सिद्ध हुने पनि उहाँले बताउनुभयो। ठूला लगानीमा यो सम्झौता उपयोगी सिद्ध रहने भन्दै उहाँले यो सम्झौतालाई सहकार्यमा महत्वपूर्ण पाइला भनेको स्पष्ट पार्नुभएको छ।
नेपाल बीआरआईमा सहभागी भएकोमा चिनियाँ राजदूतले होङले खुसी व्यक्त गर्दै भन्नुभयो, ‘यो सम्झौताले हामी झन् निकट बनेका छौं। विकासका लागि हुने सहकार्यबाट नेपाललाई थप सहयोग मिल्नेछ ।’ आर्थिक विकासमा दक्षिण एसियाबाट अघि बढ्न खोज्दा नेपाल थप फाइदा हुने राजदूतले बताउनुभयो। राजदूतले भन्नुभयो ‘यो हाम्रो अभियानले विकासमा सहकार्य र लगानीको बाटो खुलेको छ। ठूला पूर्वाधार परियोजना र रोल रेल लिंकमा हाम्रो सहयोग रहनेछ।’
चिनियाँ फल्यागसिप अभियानमा नेपालले साथ दिएको छ तर नेपालले के लिने भन्नेमा हाम्रो तयारीमा भर गर्ने अधिकारीहरु बताउँछन्। चीनले आफ्नो व्यापार र बजार विस्तारका साथै छिमेकका मुलुकलाई समेत फाइदा पुग्न सक्ने बताउँदै आएको बीआरआई परियोजना चिनियाँ राष्ट्रपति सि चिनिफिङले सन् 2013 मा अघि बढाएका हुन्।
प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणपछि बीआरआईबारे दूतावास र परराष्ट्र मन्त्रालयबीच पटकपटक छलफल भएको थियो। मन्त्रालयले यसमा पहिलेदेखि नै छलफल र तयारी गरिरहेको दाबी गरेको छ। दुईपक्षीय लामो छलफल र गृहकार्यबाटै हस्ताक्षर गर्ने विन्दुमा नेपाल पुगेको अधिकारीहरुले बताए। चीनले पश्चिमी भागबाट मध्य एसिया हुँदै युरोप, मध्यपूर्व, दक्षिण एसियासम्मै रेलमार्गले जोड्ने परिकल्पना यो परियोजनामा गरिएको छ। चीनले सम्मेलन अघि नेपालले गरेको उक्त सम्झौता र साथलाई महत्वका साथ लिएको छ। दक्षिणी छिमेकी मुलुक भारत र भुटानले मात्र हस्ताक्षर गरेको छैन। ‘वान बेल्ट वान रोड’ अवधारणामा हस्ताक्षर भएसँगै चीनले नेपालमा सडक, रेल सञ्जाल लगायतमा आर्थिक सहायता उपलब्धमा अर्को आयाम खुलेको बताइएको छ। सम्मेलनमा भाग लिन महरा नेतृत्व टोली शुक्रबार साझ चीन प्रस्थान गर्नेछ।