20/08/2026
सम्माननीय प्रधानमन्त्रीज्यू !
हुँदाहुँदा अब त अति नै भइसक्यो । लोग्नेमान्छे हाैँ भनेर मुख देखाएर हिँड्न पनि लाज हुने स्थिति आइसक्यो । एक गरीव किशोरी निर्मला पन्तदेखि भागीरथी हुँदै आज यी तीनवर्षकी गरिमा चाैधरीको बलात्कारपछि दुवै आँखा झिकेर र जिब्रो काटेर गरिएको वीभत्स हत्यासम्म आइपुग्दा त देशकै शिर पनि निहुरिसकेको छ । यस्ता क्रूर हत्यारा र बलात्कारीहरूलाई तत्काल मृत्युदण्ड दिने कानून नबनेसम्म सधैँ यस्तै भइरहने स्थिति देखियो !
यो 'मृत्युदण्डरहित' संविधान किन बनेको हो भन्ने पनि हामी सबैलाई थाहा छ । अब यो प्रावधानमा गर्व गर्न सकिन्नँ प्रधानमन्त्रीज्यू ! हिजोको अवस्था अर्कै थियो र राजनीतिक प्रतिशोधका कारणले नेताहरू मारिएलान् कि भनेर यो प्रावधान राखिएको थियो । तर यो प्रावधानको मार निरन्तर छोरीचेलीमाथि परिरह्यो । अमेरिका, बेलायत, भारत, चीन, युरोपेली देशहरू सबैतिर नै अति क्रूर प्रकृतिका अपराधीहरूलाई मृत्युदण्ड दिने व्यवस्था छँदैछ । हामीले अब पनि "मृत्युदण्डरहित देश" भनेर फोस्रो धाक लगाइरहने हो भने छोरीचेलीलाई जोगाउन नसकिने भइयो । त्यसैले यी अबोध शिशुहरूलाई मारिनबाट जोगाउनका लागि पनि गरिमाका हत्यारा वर्गका क्रूर अपराधीलाईचाहिँ सार्वजनिक स्थलमै भीड जम्मा पारेर दुनियाँका आवारा छोराहरूले देख्ने गरी गोली हानेर मार्ने कानून चाहियो ।
संविधान संशोधन गर्दा यो कुरो बिर्सिएर पनि नछुटोस् है सम्माननीय प्रधानमन्त्रीज्यू । तर अहिले तत्कालका लागि नेपालको संविधानको धारा १६ को उपधारा (२) निलम्बन गरेर अघि बढाैँ । वर्तमान संसद पनि यो मामिलामा गम्भीर हुनैपर्छ । यी अपराधीले चाहिँ काखे शिशुलाई पनि नछोड्ने अनि सरकारले चाहिँ यिनीहरूको उमेर हेर्नुपर्ने ? यस्ता नरपिशाच पछि गएर पनि हुने त हत्यारा नै हुन् । त्यसैले यिनलाई राज्यले पाल्नु जरुरी नै छैन । अरबी देशहरूमा जस्तै पहिले "जस्तालाई तस्तै" अर्थात् पहिले जिब्रोको बदला जिब्रो काट्ने, आँखाको बदलामा आँखै निकाल्ने अनि त्यसपछि मात्रै सार्वजनिक रूपमा झुण्ड्याउने कानून बनाइयोस् । यो देश साह्रै भाँडियो, यो शक्तिशाली सरकारले यति काम गरोस् । यी क्रूरतम् अपराधीहरूको मानवाधिकारको रक्षा गर्न कुन ब्राण्डका मानवाधिकारवादीहरू अघि सर्दा रहेछन्, नेपाली जनताले पनि मूल्याङ्कन गर्ने अवसर पाउनेछन् ।
#साभार
B***n