04/09/2026
रसुवा बाढीपीडितका लागि हिमालय बोर्डिङ स्कुल बुढानिलकण्ठ -३ को दुई लाख सहयोग।
प्रधानाध्यापक खेम घिमिरे भन्छन्– ‘विपद्मा पीडितको दुःखमा साथ दिनु नै हाम्रो मानवीय दायित्व हो’
काठमाडौं । रसुवा जिल्लाको भोटेकोशी नदीमा २०८३ साल भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित तथा पीडित परिवारको सहयोगार्थ बुढानीलकण्ठ–३ स्थित हिमालय बोर्डिङ स्कुलले रु. २ लाख सहयोग गरेको छ।
प्याब्सन केन्द्र तथा काठमाडौं प्याब्सनको पहलमा सञ्चालन भइरहेको राहत अभियानमा विद्यालय परिवारले शिक्षक तथा कर्मचारी, विद्यार्थी, अभिभावक, रोबर्ट ह्यन्सेन (Robert Hansen) तथा विद्यालयको संयुक्त योगदानबाट उक्त रकम संकलन गरेको हो।
विद्यालय परिवारबाट संकलित रु. २,००,००० (अक्षरेपी दुई लाख रुपैयाँ मात्र) रकम PABSON Kathmandu Welfare Fund मार्फत केन्द्रीय प्याब्सनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गर्ने व्यवस्था गरिएको विद्यालयले जनाएको छ।
विद्यालयका प्रधानाध्यापक खेम घिमिरेले प्राकृतिक विपद्का कारण ठूलो पीडा भोगिरहेका परिवारहरूप्रति विद्यालय परिवारको ऐक्यबद्धता रहेको बताए।
“विपद्को समयमा पीडितको दुःखमा साथ दिनु हाम्रो मानवीय दायित्व हो। हामीले गरेको सहयोग रकमका हिसाबले सानो हुन सक्छ, तर यसभित्र रहेको मानवीय भावना र पीडितप्रतिको ऐक्यबद्धता महत्वपूर्ण छ,” प्रधानाध्यापक घिमिरेले भने।
उनका अनुसार विद्यालयले विद्यार्थीहरूलाई केवल पाठ्यपुस्तकमा सीमित शिक्षा नभई मानवीय संवेदना, सामाजिक उत्तरदायित्व र सहयोगको संस्कारसमेत सिकाउनुपर्ने आवश्यकता महसुस गरेको छ।
“विद्यार्थीहरूलाई असल नागरिक बनाउने हो भने उनीहरूलाई समाजको दुःख र समस्यासँग जोड्नुपर्छ। विपद्मा परेका नागरिकलाई सहयोग गर्नु पनि शिक्षाकै एउटा महत्वपूर्ण पक्ष हो,” उनले भने।
प्रधानाध्यापक घिमिरेले विपद्का बेला राज्यका निकाय, सामाजिक संघसंस्था, निजी क्षेत्र, विद्यालय तथा आम नागरिक सबै एकजुट भएर राहत तथा उद्धारमा जुट्नुपर्ने बताए।
“यस्ता विपद्ले हामीलाई मानवताको कुनै सीमा हुँदैन भन्ने सिकाउँछ। अहिलेको आवश्यकता दोषारोपणभन्दा पनि उद्धार, राहत र पुनःस्थापनामा सबैको सामूहिक सहभागिता हो,” घिमिरेले बताए।
हिमालय बोर्डिङ स्कुल परिवारले बाढीमा परी ज्यान गुमाउनु भएका सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन तथा आफन्तप्रति हार्दिक समवेदना व्यक्त गरेको छ। साथै, बाढीका कारण हराइरहेका सम्पूर्ण व्यक्तिहरूको शीघ्र तथा सकुशल उद्धारको कामनासमेत गरेको छ।