24/02/2021
सानो छँदा स्कूलमा हामीलाई पछि ठूलो काम गर्नुपर्छ, नाम चम्काउनुपर्छ, उडेर चन्द्र छुने उदेश्य लिनुपर्छ भनेर सिकाए । अहिले आएर मलाई feel भएको कुरा के हो भने 'अरूलाई कुनै हानी नोक्सानी नगरीकन आफू खुशी भएर बाँच्न सक्नुपर्छ ।' यो नै सबैभन्दा ठूलो नैतिक शिक्षा हो । खुशी भएर बाँच्नु नै जीवनको उदेश्य हो र सफल जीवन पनि त्यही नै हो ।
अहिले मैले जवाफ खोज्न चाहेको प्रश्न चाहिं के हो भने भ्रममा खुशी पाइन्छ भने भ्रममा बाँच्नु ठीक हो कि होइन ? यसको ठीक जवाफ मसँग छैन, तर यहाँ उल्लेख गर्न योग्य केही प्रसंगहरू चाहीं छन् ।
१. विपश्यनाको सकारात्मक पक्षबारे विशेषत: mysansar.com मा धेरै पढेपछि एकदिन म पनि विपश्यनाको कक्षा लिन्छु भन्ने लागेको थियो । तर पछि म निश्चित भएँ कि त्यो पनि एउटा भ्रम नै हो । १० दिनसम्म मनलाई एकोहोर्याएपछि प्राप्त हुने भ्रम । त्यसपछि विपश्यनाको कक्षा लिने योजना रद्द भयो ।
२. नेपालमा रक्सी धेरै खानेहरूले 'किन रक्सी खाएको' भन्ने प्रश्नको जवाफ बेलाबेलामा दिनुपर्ने हुन्छ । यहाँ चाहीँ 'किन रक्सी नखाएको' भन्ने प्रश्नको जवाफ मैले बेला बेलामा दिनुपर्ने हुन्छ । मैले उनीहरूलाई दिने जवाफ कस्तो हुन्छ भने 'रक्सीले प्राप्त हुने आनन्द भनेको भ्रम मात्र हो, म भ्रममा खुशी हुन चाहन्न' ।
३. नेपालमा रहेको मेरो ७ जनाको संयुक्त परिवारमा बुहारीलाई कोरोनाको लक्षण देखिएपछि isolation बसे । भाई र बुहारी दुबैजनाको test गरीहेर्दा दुबैलाई रोग लागिसकेको रहेछ । भाईलाई त लक्षण पनि थिएन र isolation मा पनि बसेको थिएन, सबैसँग घुलमिल थियो । यो हिसाबले परिवारको सबैलाई भाइरस सरिसक्यो भन्ने भयो । उमेर अलि गैसकेको र शरीरमा अनेक रोगहरू पनि भएकोले बुबाआमा त पहिल्यैदेखि कोरोनासँग त्रसित हुनुहुन्थ्यो । यस्तो अवस्थामा के गर्ने भन्ने निर्णय गर्न गार्हो थियो । अन्तत: बाँकी अरु कसैको test नगर्ने, भाईलाई लक्षण नदेखिएकोले isolation मा पनि नबस्ने र भाईलाई कोरोना लागेको छ भनेर आमालाई थाहा नदिने सल्लाह भयो र त्यस्तै गरियो । १९ दिनपछिको दोस्रो test मा दुवैजनाको negative आयो । त्यतिबेला भाईले भनेको कुरा सम्झन्छु 'जीन्दगीमा भ्रम पनि आवश्यक हुँदो रहेछ' । आमालाई पूर्णरुपले र बालाई आंशिक रुपले भ्रममा राख्न सकेकोले उहाँहरूको स्वस्थ्यमा पनि समस्या आएन र परिवारमा आइपरेको ठूलो टेन्सनलाई पनि सहज रूपले हल गरियो भन्ने उसको आशय थियो । बाआमालाई मात्र होइन बाँकी कसैको test नगरेर आफैलाई पनि भ्रममा राखेको हो भन्नेमा सहमति थियो । भ्रमको महत्वको चर्चा भयो । हाम्रो घरमा कोरोना भित्रिनु केही दिन अघिमात्र एकजना जेष्ठ नागरिकले आफुलाई कोरोना लागेको सुन्ने वित्तिकै त्यहीं बेहोस भएर केहिपछि नै प्राण त्याग गरेको खवर अनलाइनमा पढेको थिएँ ।
४. आमासँग कुरा गर्दा मैले धेरै पटक महशुस गरेको कुरा के हो भने उहाँ मृत्यलाई सहज ढंगले स्वीकार गर्न सक्नुहुन्न । विरामी हुँदा मृत्यु पो नजिक आइरहेको हो कि भन्ने आभाषले उहाँ धेरैपटक मसँग कुरा गर्दै रुनुभएको छ । अन्तिम दिनहरूमा उहाँसँगै हुन पाए उहाँलाई पुनर्जन्मको अनेक भ्रमपूर्ण कुराहरू गरेर मृत्युलाई सहज ढंगले ग्रहण गर्न सक्ने गरी प्रभावित गर्न सक्छु भन्ने आत्मविश्वास चाहीं आफूमा छ । यसको मतलब के हो भने भ्रममा राखेर भए पनि म आमालाई खुशी देख्न चाहन्छु ।
दर्शनशास्त्रको एउटा विध्यार्थीको लागि 'तितो सत्य रोज्ने कि भ्रमपुर्ण खुशी ?' भन्ने प्रश्न निकै जटिल हुँदोरहेछ .......