25/09/2026
इन्द्रजात्राको शुभकामना !!
वर्षा तथा सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी परम्परागत रूपमा इन्द्रजात्रा पर्व मनाइन्छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ। भाद्र शुक्ल चतुर्दशीका दिन अनन्तनाथ (भगवान् विष्णु) को पूजा आराधना पनि गरिन्छ । यसैले यस दिनलाई अनन्त चतुर्दशी पनि भनिन्छ । यस दिन चोखो धागोमा अनन्त मन्त्रण गरी बाँध्नाले वर्षभर शुभ हुन्छ भन्ने विश्वास छ ।
भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ ।
इन्द्र जात्रा नेपालका नेवार समुदायले विशेष महत्त्वका साथ मनाउने काठमाडौँको एक प्रमुख सांस्कृतिक पर्व हो। यो पर्व विशेष रूपमा ,काठमाडौँ , ललितपुर र भक्तपुरमा मनाइन्छ, तर यसको मुख्य केन्द्र भने काठमाडौं दरबार स्क्वायर (हनुमानढोका) हो। इन्द्र जात्रालाई वर्षाका देवता इन्द्रको पूजा गर्न मनाइन्छ, साथै यसलाई मृतक आत्माहरूको स्मरणको पर्व पनि मानिन्छ।
इन्द्रजात्रासँग जोडिएको कथा महाभारतकालीन कालसँग सम्बन्धित छ। कथाअनुसार, इन्द्रकी आमा अदितिलाई एउटा विशेष प्रकारको फूल, पारिजातको आवश्यकता थियो। इन्द्रले त्यो फूल खोज्दै पृथ्वीमा आए, जस क्रममा उनले काठमाडौँको दक्षिणी भागमा रहेको एक बगैँचामा त्यो फूल भेट्टाए। जब उनी फूल टिपिरहेका थिए, त्यहाँका स्थानीयवासीले उनलाई चोर ठानी बाँधिदिए। पछि इन्द्रको पहिचान भएपछि स्थानीयले उनलाई मुक्त गरे। इन्द्रकी आमाले कृतज्ञतास्वरूप काठमाडौँवासीलाई वर्षभरि वर्षा प्रदान गर्ने आशीर्वाद दिइन्। यो कथा देव इन्द्र र काठमाडौँबासीबिचको परम्परागत सामीप्यता हो भन्ने बुझिन्छ ।
इन्द्र जात्राको पहिलो दिन (नेवार पात्रोअनुसार भाद्र शुक्ल द्वादशी) एक ठूलो काठको लिङ्गो (खम्बा) ठड्याउने प्रचलन छ। लिङ्गो ठड्याउनुपूर्व त्यसलाई विशेष रूपमा पूजा गरिन्छ। यसलाई 'यसिं ठ्यो' भनिन्छ, जसको वास्तविक अर्थ लिङ्गो ठड्याउने भन्ने हुन्छ। यो लिङ्गगो ३६ फुट अग्लो हुन्छ र यसमा विभिन्न झण्डा र ध्वजाहरू राखिन्छन्। लिङ्गो ठड्याउनाका लागि हजारौँ मानिसहरूको उपस्थितिमा बाजागाजासहित समारोह गरिन्छ
इन्द्रजात्राको मुख्य आकर्षण कुमारी, गणेश, र भैरवको रथयात्रा हो। तीनै देवी-देवताका रथहरू काठमाडौँको वसन्तपुर दरबार क्षेत्रबाट सुरु भएर सहरका प्रमुख गल्लीहरूमा घुमाइन्छ। कुमारी, काठमाडौँकी जीवित देवी, दैवी शक्तिको प्रतीक मानिन्छ। उनी काठमाडौँका नेवार बस्तीको संरक्षक देवी हुन् भन्ने मान्यता रहिआएको छ । त्यसैले उनलाई विशेष सम्मानका साथ रथमा राखी नगर परिक्रमा गराइन्छ।
इन्द्रजात्रामा लाखे नाचको महत्त्वपूर्ण स्थान रहेको छ । लाखे भनेको राक्षसलाई जनाउने पात्र हो। लाखे नाच विशेष गरी असन र इन्द्रचोक क्षेत्रमा प्रदर्शन गरिन्छ। यस नाचमा लाखेको भेषमा कलाकारहरूले अनुहारमा विशेष मास्क लगाएर डर लाग्दो र शक्तिशाली भाव प्रस्तुत गर्दै नाच्छन्। लाखे नाच इन्द्र जात्राको सांस्कृतिक महत्त्वलाई बढाउने एउटा माध्यम हो।
इन्द्रजात्राका दिन पुलुकिसी नाच पनि देखाइन्छ । यसले इन्द्रको हराएको हात्तीलाई प्रतिनिधित्व गर्छ। पुलुकिसी एउटा सेतो हात्ती हो, जसलाई इन्द्रले पारिजातको फूल खोज्न लगाएका थिए। पुलुकिसीले कुमारीको रथयात्रामा भाग लिन्छ र आफ्ना विशेष किसिमका हाउभाउ देखाएर मानिसहरूलाई मनोरञ्जन गराउँछ। यो हात्ती काठमाडौँका गल्लीहरूमा घुम्दै इन्द्रको हराएको हात्ती खोजी गर्न तल्लीन हुन्छ भनिन्छ । इन्द्रजात्राको अर्को महत्त्वपूर्ण कुरा भनेको "धः" बाजा हो । यो परम्परागत बाजा नेवार समुदायको विशेष बाजा हो, जसले जात्रामा धार्मिक र सांस्कृतिक वातावरणलाई थप उचाइमा पुर्याउँछ। यसलाई काठमाडौँका प्रमुख चोकहरूमा बजाइन्छ र यसको तालमा मानिसहरू रमाइलो गरी नाची रमाइलो गर्दछन् ।
इन्द्रजात्राको अन्तिम दिन काठमाडौँका मानिसहरूले आफ्नो मृत आफन्तहरूलाई सम्झी .उनीहरूको आत्माको चिरशान्तिको कामना गर्ने परम्परा छ। मानिसहरूले मन्दिर र देवालयहरूमा गई पूजा-अर्चना गर्छन् र आफन्तहरूको सम्झनामा विशेष दीप प्रज्ज्वलन गर्छन्। यो दिनलाई नेवारी भाषामा "जात्रया भिन्य" पनि भनिन्छ, जसको अर्थ "मृतकहरूको रात" हो।
काठमाडौँको सांस्कृतिक पहिचानको पर्व इन्द्रजात्राले विभिन्न समुदायहरूलाई एकतामा बाँध्नुको साथै सांस्कृतिक र धार्मिक मान्यताहरूको संरक्षण गर्दछ । यस पर्वमा नेवार समाजका पुरोहितहरू, ज्योतिषीहरू, कलाकारहरू, र समाजका हरेक तहका मानिसहरूको सहभागिता रहन्छ। इन्द्रजात्राले नेपालको सांस्कृतिक धरोहरलाई जीवित राख्न महत्त्वपूर्ण भूमिका खेलेको छ।
धार्मिक आस्था, सांस्कृतिक सम्पदा, र परम्परालाई एकै ठाउँमा ल्याई सबैमा आत्मीयपन को विकास गराउने इन्द्रजात्राको पावन अवसरमा काठमाडौँ ग्लोवल स्कुल सबैमा शुभकामना व्यक्त गर्दछ ।