09/08/2023
देर आए दुरुस्त आए
धार्मिक अतिबादि बिचार/विद्वान/अभियन्ताहरु संग होशियार रहौं |
बिगतमा कुनै बेलामा हिन्दु र बौद्दहरु बीच मतभेद थियो होला, तर कालान्तरमा यी दुवै धर्मावालम्बीहरु बिगतको कुराहरुलाई विर्सेर कहिँ कतै तल माथी भएपनि सौहार्दपूर्ण वातावरणमा अघि बढिरहेको छ नै , नेवा समाज यस्तो समाज हो जहाँ हिन्दु र बौद्द अन्तरघुलन हुन्छ, अतिबादिहरुले यी दुई धर्म पानी र तेल हो भन्लान, हो दर्शन, शाब्दिक/पौराणिक गन्तब्य र धार्मिक जीवन शैली फरक होला, तर के धर्म नै दुई सम्प्रदाय बीचको सिमा हो त ? के पानी बाराबार कै स्थिती हो र?
बिगत केहि बर्ष देखी अतिवादि धार्मिक अगुवा/बिद्वान र अभियन्ता भन्नेहरु धर्म र आस्थालाई विवादमा ल्याएर आफ्नो दुनो सोझ्याउन वा धार्मिक कलहको बिउ रोप्न खोजी रहेको छन् तर उनीहरु सफल भने हुन सकिरहेको छैन वा भनौं समाज कट्टरतावाद हाबी नभएको र धर्म अतिवाद सोच नभएको कारण यी दुई सम्प्रदाय विच फुट /बैमनष्यता पैदा गराएर आफ्नो एकतर्फी बिचार लाड्ने वा समाजलाई दिग्भ्रमित बनाउने उनीहरुको मिसन पुरा हुन पाईरहेको छैन |
यस्ता तत्वहरुको कारण समाजमा दुई सम्प्रदाय बीच मनमुटाव भई सौहार्दपूर्ण वातावरणमा हुर्किरहेको धर्महरुलाई नै कमजोर बनाएर तेश्रो धर्मले फाईदा लिन
खोजीरहेको नहोला भन्न सकिन्न, कुनै देश र समाजलाई पछाडी धकेल्नु छ भने उनीहरुलाई धार्मिक/जातीय विवादमा अल्झाउनु पर्छ भनेर बुझिसकेकाहरुले, यसैलाई आफ्नो शस्त्र/अवसरको रुपमा लिइरहेको पनि हुन सक्छ, यस्तै कुरामा समाज अल्मलिंदै जाँदा विकासले गति लिन सक्दैन भने देश अस्थिरता तर्फ जान्छ र अन्तत धर्मान्तरण गराउनेहरुको उद्देश्यलाई मलजल पुग्छ |
यदि सदियौं देखी मिलेर बसेको दुई सम्प्रदायहरु बीच बिवादित बिषयहरुमा बहस वा बिमर्श गर्न आबश्यक देखेमा एक अर्कालाई दोष नथोपरीकन, बिगतको धार्मिक कुराहरुलाई निहुँ नबनाई, सौहार्दपूर्ण तरिकाले हिन्दु बौद्द मध्यमार्गी बिद्वान/अभियन्ताहरु बसेर एक अर्कालाई सम्मान पुर्वक आपसी समझदारीमा समाधान निकाल्न सक्नु पर्छ, अतिवादिहरुको संलग्नता र बहकाउमा लागेमा धार्मिक सदभाव र सहिष्णुता सम्भव छैन |
आयातित तेश्रो धर्मले पनि नेपालमा जरा गाडेर बसेको हिन्दु र बौद्द धर्म बीच फाटो ल्याउन सधैं कोशिस गरी नै रहेको हुन्छ, त्यति मात्रै हैन, दुवै धर्म भित्र तेश्रो धर्मवाट परिचालित तत्वहरुले (हिन्दु र बौद्ध धर्मको खोल ओढेका) सहिष्णुतामा खलल पुर्याउन अतिबादी विचार र व्यवहार पनि गराई रहेको नहोला भन्न सकिन्न | यसरी बहकाउने खेलमा केहि मिडियाहरु समेत प्रायोजित रुपमा लागेको स्पष्ट देख्न सकिन्छ |
तसर्थ धर्मको नाममा हुने कुनै पनि अतिबादी र उतेज्जक बिचारबिमर्शमा नेवा समाजले समय खर्चिनु र अल्झिनु नेवा समाजलाई पछाडी धकेल्नु हो |