27/11/2015
नेपाल क्रेडिट एण्ड कमर्स बैंक सहित इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, एपेक्स डेभलपमेन्ट बैंक, इन्टरनेशनल डेभलपमेन्ट बैंक र सुप्रिम डेभलपमेन्ट बैंक एकआपसमा गाभिने भएका छन्।
चार विकास बैंक सहित नेपाल क्रेडिट एण्ड कमर्स बैंक एक आपसमा गभिँदा बैंकको चुक्ता पुँजी ५ अर्ब ३ करोड रुपैयाँ पुग्ने भएको छ।
साथै पाँच बैंक गाभिएपछि कुल निक्षेप ४७ अर्व ७० करोड पुग्ने भएको छ भने कर्जा ३७ अर्ब ८१ करोड पुग्ने नेपाल क्रेडिट एण्ड कमर्स बैंकले शुक्रबार जारी गरेको पे्रस बिज्ञप्तीमा उल्लेख गरिएको छ।
शुक्रबार सबै बैंकका प्रतिनिधीहरुले गाभ्ने सम्झौतामा हस्ताक्षर गरेका छन्। सम्झौतामा एनसीसी बैंकका व्यवस्थापन समितिका संयोजक लक्ष्मीप्रपन्न निरौला, इन्फ्रास्टक्चरका अध्यक्ष इमानसिंह लामा, एपेक्सका अध्यक्ष बिष्णु प्रसाद धिताल, सुप्रिमका अध्यक्ष चन्द्र प्रसाद वास्तोला र इन्टरनेशनल डेभलपमेन्ट बैंकका माधव पन्तले हस्ताक्षर गरेका थिए।
राष्ट्र बैंकले गत साउनमा मौद्रिक नीति सार्वजनिक गर्दै सबै बैंकहरुलाई पुँजी बृद्धि गर्न निर्देशन दिएको थियो।
राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमा दुई वर्षभित्र वाणिज्य बैंकको चुक्ता पुँजी ८ अर्ब पुर्याउनु पर्ने उल्लेख गरिएको छ। मौद्रिक नीतिमा २०७४ असार मसान्त सम्म राष्ट्रिय स्तरका विकास बैंकहरुले २ अर्ब ५६ करोड रुपैयाँ, ४ देखि १० जिल्ला कार्यक्षेत्र भएका विकास बैंकहरुले १ अर्ब २० करोड रुपैयाँ चुक्ता पुँजी पुर्याउनु पर्ने व्यवस्था कायम गरिएको छ। साथै १ देखि ३ जिल्ला कार्यक्षेत्र भएका विकास बैंकहरुले ४० करोड रुपैयाँ चुक्ता पुँजी कायम गर्नुपर्ने व्यवस्था कायम गरिएको छ।