12/07/2026
उग्रचण्डी भगवती
नेपाल मण्डलका चार प्रमुख भगवतीहरु मध्ये काभ्रे जिल्लाको बनेपा नगरपालिका-२, नालामा अवस्थित उग्रचण्डी भगवती पनि एक हो । नाला शहर लिच्छविकालमै अस्तित्वमा रहेको उग्रचण्डी भगवतीको मन्दिरमा रहेको शिलालेखबाट पुष्टि हुन्छ । यस शहरको नाम सत्य युग र त्रेता युगमा नागिरीपुर, द्वापर युगमा उत्तरापुर रहेका थिए । त्यस्तै कलियुगमा नालाङ्ग हुँदै कलियुगको ५१२ सालसम्ममा नाला शब्दले यो स्थानलाई सम्बोधन गरि । उक्त नागिरीपुरका राजा दीर्गरथ, रानी शुभलक्ष्मीले अष्टमी व्रत पूजा अनुष्ठान गर्दा शुधर्मादेवी यस स्थानमा सदाकाल रहनेगरी पवित्र शिलामा सिद्ध हुनुभयो । उक्त शिलानै नालाको उग्रचण्डी भगवती माताको साक्षात रूप मानिन्छ ।
पलाञ्चोक भगवतीको कलात्मक आकर्षक मूर्ति बनेपछि फेरि त्यस्तै सुन्दर मूर्ति नबनोस् भत्रे हेतुले तत्कालीन लिच्छवि महारानी राज्यवती (नवसागर) को आदेशानुसार दरबारिया भारदारहरूबाट कलाकारको दायाँ हातको बूढी औँला र चोरी औँला काटिएका थिए । बूढी औँला र चोरी औँला काटिएका कलाकारले दशौं शताब्दीमा उग्रचण्डी भगवतीको मूर्ति बनाएका थिए ।
मल्लकालीन राजा जय जगतप्रकाश मल्लको शासनकालमा उग्रचण्डी भगवतीको चारतले मन्दिर विभिन्न चरणमा निर्माण भएको पाइन्छ । नेपाल सम्वत् ७६१ मा पहिलो तल्ला, नेपाल सम्वत ७६३ मा दोश्रो तल्ला र नेपाल संवत ७६७ मा तेश्रो एवम् चौथो तल्ला निर्माण भएको हो भन्ने उल्लेख छ । पाटनका ६ प्रधानहरु सत्ताच्यूट भएपछि ६ प्रधानमध्येका चोछे नायजु तत्कालीन राजा पृथ्वीनारायण शाहको कोपभाजनबाट बच्न पाटनबाट भागेर नाला शहरमा थर परिवर्तन गरी लुकेर बस्न थाले । तिनै नायजुले पछि उग्रचण्डी भगवतीको चौथो तला एवं स्वर्ण गजुर निर्माण गरे भन्ने जनश्रुति पाइन्छ । यिनै नायजुहरूको खलक नै नालाका श्रेष्ठहरू हुन् ।
नाला शहर प्राचीन कालदेखि नै तान्त्रिक विद्याका लागि प्रख्यात मानिन्छ । खासगरी नालाका ज्ञानसिंह कर्माचार्य तन्त्रविद्याका विख्यात पण्डित मानिन्थे । तन्त्रविद्यामा यी पारंगत नै थिए । तान्त्रिक साधनाबाट यिनी लोप भएका र हालसम्म पनि हराइरहेको किंवदन्ती रहेको छ । तन्त्रविद्यामा नालाका कर्माचार्यहरू अति पोख्त थिए भन्ने भनाइ अद्यापि रहेको छ ।
लेख: GR Ranjit
किंवदन्तीमा भक्तपुर
मध्यपुर थिमि या कला संस्कृती ।।