12/07/2024
"विदेशको~मोह"
"खण्ड~ 'क'
भाग- ०१"
"सर्वे भवन्तु सुखीन, सर्वे सन्तु निरायमा.... बाट शुरु भएको पण्डित बुबा को दिनचर्या .... ॐ गोविन्दाय नमोनम" मा टुङ्गिने गर्छ । सुर्यको उदय नहुँदै सुरु भएको दैनिकीले राती नौ–दश बजेतिर मात्र विश्राम पाउँछ ।
पण्डित बुबा- ईश्वरको पुजाआजा एवं नित्य कर्मकाण्ड गर्छन। सबै जीवात्मालाई पानी अर्पण गरी दैनिकी शुभारम्भ गर्छन् । यसले उनलाई शक्ति र सन्तोष दुवै दिएको छ । तीन तले खरले छाएको माटेघर निकै उज्यालो देखिन्छ । डाँडाको थाप्लोमा रहेको घर, वरिपरि पर्खालले घेरिएको छ।
पण्डितनी गैह्री कुवाबाट सवेरै पानी ल्याएर खसमलाई स्नानको चाँजोपाँजो मिलाउँछिन । यी काम सबै घाम झुल्कनुअघि गरिसक्नुपर्छ।
घाम झुल्केपछि पण्डित बुबा डाले घाँस काट्न, खेतमा पानी चलाउन लाग्छन। खर्चको जोहो गर्ने काम पण्डित कै हुन्थ्यो । तीन कोश परसम्म जजमानी छन, उनीहरूकोमा श्राद्ध, न्वारन, पूजापाठ गर्ने काम पनि पण्डित बुबा को।
बामे सर्दादेखि नै रमेशले बुबाको पूजापाठ सुन्दै हेर्दै आएको थियो। तोते बोलीमै ‘सर्वे भवन्तु सुखिन’ भन्न जान्ने भएको छ।पण्डितले एक्लो छोरो रमेशलाई कर्मकाण्डमा मात्र सीमित राख्न चाहँदैनथे।
पूर्वीय दर्शनको जगमा आधुनिक विज्ञानलाई जोडेर शिक्षा दिने उनको चाहना थियो । छोरो आफ्नै जीवनकालमा सरकारी कार्यालयको हाकिम भएको देख्न चाहन्थे । दाहाल र खरेलका छोराहरू खरिदार र सुब्बा बनेर मान कमाएका थिए। रमेशले पनि त्यही बाटो पछ्याउँदै जाओस, अझ अब्बल बनोस भन्ने रहर थियो ।
पण्डित दम्पती खुसी थिए । ससाना सफलतामा खुसी मान्ने आदत परेको थियो। पण्डित पण्डितनी रमेशका आँखाबाट संसार हेर्न चाहन्थे ।
रमेशको तोते बोली अब स्पष्ट भइसकेको थियो। डण्डिबियो र कपर्दीमा रमाउन थालिसकेको थियो । सधैँ साथीको झुण्डमा हुन्थ्यो । साथिहरुमा रानो छ, पढाईमा कक्षा- ७ मा तेस्रो भयो।
पण्डितबुबाले पण्डितनीसँग सल्लाह गर्न थाल्छन् – भन त सिता, रमेशलाई शहर पढ्न पठाएपछि हामी कसरी बस्ने ?
आमा भएकीले सिता भावुक हुन्छिन् – मलाई त नेपाल सेपाल पठाउन मन लागेको छैन । रमेशले यहिँ पढ्छ । रामभक्त मास्टरसाहाबले जस्तै स्कुलमा पढाउला, हजुरले जस्तै कर्मकाण्ड पनि गर्ला । किन नेपाल पठाउने ?
कुरा त ठीकै हो सिता तर कुवाका भ्यागुतो कुवामै भन्छन् ।
यो पाल्पाको खोचबाट अलि टाढा पुगोस्, जागिर पनि खाओस्, कीर्ति पनि फिँजाओस भनेर पो हो। नेपाल पठाउन त मलाई पनि कहाँ मन छ र । तर के गर्ने ..?
‘आफूले कोख र काख दिएको सन्तान आफैसँग रहनु जति आनन्द केमा आउँछ र रमेशका बा’ ।
तिमीले भनेको मनासिब हो । पढ्न र पेशाका लागि पठाउनुपर्छ, नत्र रमेश पनि यही खोलाको ब्याङ बन्छ । उसको भविष्यको लागि मायाको बन्दी पनि बनाउनु भएन नि ।
म के भनूँ रमेशका बा’ । आफै जानकार हुनुहुन्छ । गाउँका अरू मानिसलाई सल्लाह दिनुहुन्छ । मैले त मायाको कुरा भनेकी । मनको कुरा मात्र बताएकी ।
अर्को दिन बिहान,
गलैँचामा बसेर तमाखु तानिरहेका पण्डितले रमेशलाई आफूसँग बस्न सङ्केत गर्दै भने, “बाबु तिम्रो पढाइ त्यति राम्रो छैन । कि नेपाल गएर पढ्छौ त ?”
“नेपालमा को छ बुबा हाम्रो ?”
“हाम्रा आफ्ना कोही छैनन बाबु । चिनजान भएपछि त सबै आफ्नै हुन नि ।”
“स्कुल यही सकेर कलेजको लागि त्यता गए भएन र बुबा ?”
जीवनमा पहिलो पटक पण्डितले रमेशसँग सल्लाह लिएका थिए । रमेशको सल्लाहबाट पण्डित बुबा केही मख्ख र केही द्विविधामा पर्छन।
रमेशले आफ्नो मनको कुरा आफ्नो बुबालाई भन्यो।
साथीहरु भनेपछि रमेश हुरुक्कै हुन्छ । खरेलकी छोरी पुजा (उसलाई सबैले माया गरेर नानीमाया भन्छन) रमेशसंग कहिले छुटिन्न । बिकाश, नवराज, नारन, शान्ता, बिनिता, जनक, लक्ष्मी, तुलशा सबैको आँखाको नानी थियो रमेश। स्कुले साथी निस्वार्थी हुन्छन। कहिलेदेखि साथी बनेका पनि उनीहरूलाई थाहा हुँदैन।
बुबाले शहर जाने कुरा गरेपछि रमेशका आँखाभरि यिनै साथीहरू घुमिरहेका थिए । बुबाको प्रत्येक दिनको छोरालाई हाकिम बनाउने धोको सुन्दा सुन्दै रमेशको मनको एक कुनामा हाकिमले आसन जमाउन थालेको थियो।
"हाकिम भएर साँच्चिकै मान पाइन्छ भने किन हाकिम नबन्ने?"
दिनहरु बित्दै गए,
एस.एल.सी. परिक्षाको नतिजा पनि आयो । रमेश तृतीय श्रेणीमा पास भएछ । पण्डित पण्डितनीलाई श्रेणीको के मतलब । छोरो पास भयो, यत्तिकैमा खुसीको सीमा रहेन । फुरुङ्ग बनेका उनीहरू मनमस्तिस्कमा सपनाको संसारमा पौडिन थाले ।
पण्डितको राजनैतिक सम्बन्ध पनि राम्रै थियो । गाउँ पञ्चायत, जिल्ला पञ्चायत, राष्ट्रिय पञ्चायतका सदस्यहरू सबैकोमा जजमानी गर्थे । गुरुले भनेको सके जति नकाट्ने जजमानको धर्म । सानातिना काम जजमानले गरिदिई हाल्थे । पण्डितमा एउटा विश्वास हुन्छ – मैले भनेपछि राष्ट्रिय पञ्चायत सदस्यले रमेशलाई सानोतिनो जागिर खोज्दिहाल्छन।
नेपाल गएपछि रमेश रत्नराज्य लक्ष्मी क्याम्पसको साँझको सिफ्टमा आइए का लागि भर्ना भयो । राष्ट्रिय पञ्चायत सदस्यले "गुरु दक्षिणा" संस्थानमा सहायक जागिरे बनाइदिए । नयाँ बानेश्वरमा डेरा लिएर पढ्न थाल्यो । तर उसलाई गाउँका साथीहरूको सम्झनाले सताउन थाल्छ। नानीमायाको विषयमा त कविता पनि लेख्छ।
नानीमाया के गर्छे ? रमेशका विषयमा कविता लेख्छे लेख्दिन? - थाहा छैन।
शहर आफ्नै तालको छ।
शहरले रमेशलाई माया गरेको छैन । काठमाडौँको वातावरण पल्पाको जस्तो छैन ।
‘सरसङ्गत गर्दा सबैसँग सतर्क हुनुपर्छ । पढाइमा सावधान बन । भाइको अहिले पढ्ने बेला हो’ ।- अफिसकी ममता दिदीले सल्लाह दिइन।'
“किन र दिदी ?” रमेश झसङ्ग हुन्छ ।
“केही होइन भाइ, भनेकी मात्र । पहाडबाट आएका छौ, कलिलो छौ, आमा बुबाको सपना होलान्, बहकिएर यता उता पो लाग्छौ कि भनेर।”
ममता दिदी उसको अभिभावक नै बनेकी छन ।
बुबालाई चिठ्ठी लेख्दा पनि रमेशले उनको प्रशंसा गर्छ। त्यस्तै हलका डराउँछ पनि।
ममता दिदीको सङ्केत- शहर बजारका लफङ्गा केटा र फेसनवाल केहि केटीहरूले फस्ल्याङ्फुस्लुङ पार्लान् भन्ने थियो । पहाडका केटा शहरमा नभिजेसम्म सिधासाधा हुन्छन्, छिटै अरूको विश्वास गर्छन र ठगिन्छन पनि । ममता दिदीले यस्ता धेरै सपनाहरू भत्किएको देखेकी छन। त्यसैले कार्यालयका सबैलाई सम्झाउने गर्छिन।
रमेशले पढ्ने कलेजको वातावरण पनि अजीवको हुन्छ । पूर्वतर्फ पद्योदय हाइस्कुल, बार्डिङ्बाट निकालिएका प्राय बिग्रेका विद्यार्थीहरू यही पढ्छन, आवारा बनेर पुलमुनि बस्दै चुरोट र खैनीमा दिन बिताउँछन। बगलको वाल्मीकि विद्यापीठ पूर्वीय दर्शनमा दन्किन्छ।
रत्नराज्य क्याम्पस भने पढ्ने - नपढ्ने सबै खाले विद्यार्थीहरुको खानी हो । राजनीति गर्ने भनेर भातृसंगठन खोलेका- अनेरास्ववियु, नेविसंघ, क्रान्तिकारी र राष्ट्रवादी मण्डलका सदस्यहरू पनि त्यहिँ छन् । माथिल्लो तलामा सङ्गीतको राग घन्किन्छ, भुइँतलामा होहल्ला साथ पढाइ । प्राध्यापकहरूले पढाउने कि अनुशासन सिकाउने ? पश्चिम बगलमा ल क्याम्पस, अझै ठुलो राजनीतिको केन्द्र । त्यसपछि विश्वभाषा क्याम्पस। त्यसभन्दा माथि राष्ट्रिय सभा गृह, पञ्चभेला भैरहने ठाउँ । अलि पर शङ्करदेव क्याम्पस । पछिल्तिर बस पार्क । यहाँको वातावरणमा नेपाल र नेपालको राम्रो नराम्रो सबै भेटिन्छ । पञ्चायत विरुद्ध आन्दोलन जगाउन काङ्ग्रेस कम्युनिस्टहरू यही आएर आगो फुक्छन ।
रमेश केही कालो भए पनि हिस्सी परेको थियो । नरिवलको तेल लगाएर कपाल चम्काउँथ्यो । कालो सर्ट, सेतो पाइन्ट र टल्किने कालो चुच्चे जुत्ता, नाडीमा जापानी सिको घडी, पकेटमा चिनिया कलम र हातमा कालो फेल्डर ब्यागले उसको व्यक्तित्व आकर्षक देखिन्थ्यो । हलका अग्लो पनि थियो ।
प्रत्येक दिन बिहान बानेश्वर- खरिवोट डेरा अघि उभिएर चिया पिउँदै पत्रिका पढ्ने बानी बनेको थियो। रमेशलाई आफ्नो इलाकामा पाल्पाली केटोको नामले चिनाएको थियो। दुईचार जनाको झुण्ड वरिपरिको बीचमा उसको उपस्थिति देखिन्थ्यो। हिन्दी फिल्म, राजनीति र पञ्चायत व्यवस्था विरुद्धका कुराहरू चियासँगैका विषय हुन्थे । मीन भवन र बानेश्वर कलेज पढ्न जाने विद्यार्थीहरू आफ्नै उमेर समूहको व्यक्तित्वको नियमित गफसँग आँखा लगाउँदै हिँड्थे । तीमध्ये एक थिइन- बिनिशा। लामो कपाल, आफुजस्तै अग्ली, गहिरा आँखा, हलका कालीकाली- सलक्क परेकी सधैँ मीनभवन क्याम्पसको पोशाकमा ठाँटिएर हिँड्ने आफूजस्तै उमेर समूहकी बिनिशासँग रमेशको पनि आँखा जुधेका थिए ।
बिनिशाले भने रमेशलाई अल्लि हावा केटाको रूपमा लिन्थिन। कलेज पढ्ने केटा सधैँ चिया र पत्रिकामा बाटोमा रहनु लफङ्गा, हावा कै पहिचान भएको उनको निष्कर्ष थियो । तर अनेकौं पटक एकै ठाउँमा आँखा ठोक्किन थालेपछि मन कस्तो कस्तो हुन थालेको थियो । केटी जिस्क्याउन त परै जाओस केटीसँग कुराकानी गर्न पनि निक्कै लजाउँथ्यो- रमेश।
आफ्नो कलेजमा केटिसाथी हरुले नरिवले जुल्फे भनेपछि उसको मुख एकाएक रातो हुन्थ्यो । शहरिया केटीहरूले मन पराउलान भन्ने त रमेशको कल्पनामा पनि थिएन ।
यता, कलेज पढेर फर्किदा पनि बिनिशाका आँखा खरिबोट चिया चोकमा गहिरिन्थे । रमेश भने साढे नौमा नै अफिस बसबाट बालाजु हिँडिसकेको हुन्थ्यो, बेलुकी कक्षा सकेर फर्किदा दश पनि बज्न सक्थ्यो । बिनिशाको आँखाले उसलाई भेट्न भोलि बिहान पर्खनु पर्थ्यो ।
बिनिशा काठमाडौँकी रैथाने नेवारकी छोरी, बुबाआमा खेती किसानीमा रमाएका थिए । दाजुको किराना पसल खुवै चलेको थियो । बिनिशा भने परिवारको माया पाएर पुलपुलिएकी थिइन् । त्यसैले पढाइमा खासै ध्यान थिएन, पढे नपढेको सोध्ने पनि घरमा कोहि थिएनन। सबै आ-आफ्नै काममा व्यस्त।
रमेश बिनिशाको विषयमा त्यति जानकार थिएन । आफू चोकमा रहँदा सधैँ कलेज पोशाकमा देखिने एउटी हिस्सी परेकी केटी उसको नजर काट्दै जान्थी । त्यस बाहेक उसले केही बुझेको थिएन, बुझ्नु जरुरी पनि थिएन ।
एक बिहान रमेश चिया पिएर हातमा पत्रिका च्यापेर डेरातर्फ फर्किदै थियो। हतारिएर हिँडेकी बिनिशासँग रमेशका आँखा चार भए । उनि केही फरासिली थिइन, मनमा आएको कुरा झट्ट भन्ने आँट पनि उनमा थियो । बोल्ने मौका खोजिरहेकी उनले अनुरोधको शैलीमा प्याट्ट भनिहालिन्, “त्रिविले परीक्षा रुटिन दिएको छ रे, गोरखापत्र हेरौँन दाइ ।” रमेशले गोरखापत्र त दियो, उसको हात लुलो भैसकेको थियो । बिनिशा भने पत्रिका हेर्ने बहानामा दुईतिन मिनेटमै रमेशलाई पढिसकिन् । रमेशले पनि उनी बारे हल्का जानकारी लियो ।
त्यस दिनदेखि देखभेट हुँदा बोलचाल हुन थाल्यो । बहानामा बोलचालको बाटो बनाउन थाले । बिनिशाप्रति रमेश पनि लहरिएको थियो, बिनिशा त अलि बढी नै फरासिली थिइन् । लायकी केटो, इलममा पनि लागेको, नमिल्ने एकै कुरा- जात थियो । मन मिलेपछि जातको डोरी छिनेर नारी र पुरुष बाहेक अरू जात हुने पनि भएन ।
रमेश बिनिशाप्रति जति आशक्त थियो, उता नानीमायालाई पनि भुल्न सकेको थिएन । एकसाथ बिनिशा र नानीमायाको आकृति उत्रिन थाले । बिनिशा भेटघाटमा संवाद लम्ब्याउन थालिन्, रमेशका सपनामा नानीमायाले पनि आसन जमाउन थालिन।
सपना–बिपना, बिपना–सपना, नानीमाया - बिनिशा, पाल्पाको खोच - नेपालको खरिबोट मनमस्तिष्कमा एकले अर्कोलाई लखेट्ने क्रम बढ्दो छ । बिनिशा र रमेशका मनभरि भुइँचालो थियो, जवान केटाकेटी सम्मोहनमा तानिएका थिए । नानीमायासँगको सपना भने अव्यक्त सम्मोहन थियो । विचरा नानीमायाको लागि रमेश बालसखा थियो, त्योभन्दा पर उसले न सोचेकी थिई न गाउँको परिवेशले सोच्ने ठाउँ नै दिएको थियो।
समयले नपत्याउने गरी जीवन फेर्दोरहेछ । भएको त केही पनि होइन तर उमेर, उमेर अनुसारको सोच, सोच अनुसारको स्वभाव फेरिँदै गएको छ । दुवै त्यत्तिकै खुसी छन् । खुसी हुने, रमाउने कारण पनि आवश्यक थिएन । मनको भाव चेहरामा देखिन्थ्यो । बानेश्वर, मिनभवन, खरिबोटका सडक पेटीमा नजिकिँदै हिँड्दा दुवैका अनुहारमा सधैँ मन्द मुस्कानका छाल देखिन्छ । उपस्थितिले मात्र ल्याएको खुसी ।
रेस्टुरेन्टमा जाने पैसा रमेशसँग कहाँ छ र ? चिया र चटपटेमै खुसी छन् । रमेश चियासँग क्रिमरोल, बन खान्छ, बिनिशा चाहिँ पानीपुरी, चटपटे र ल्यासिपाउ । छेउछाउका चिया पसल र फुटपाथका चनाचटपटे- पानीपुरु ठेला सबैले यो जोडीलाई चिनिसकेका थिए। उनीहरूको मेनु बुझिसकेका थिए।
प्रेममा जति लठारिए पनि कसैको चियो चर्चो नभएको अचम्मको अवसर उपलब्ध भएको छ। रमेशको त काठमाडौँमा को छ र ?
अफिसकी ममता दिदीलाई पनि यी सबै कुरा थाहा छैन । बिनिशाका आमाबुबा, दाजु आआफ्नै धुनमा छन् । बेला बेलामा नमुना, आकृती, प्रीया हरुले बिनिशालाई जिस्क्याउँछन- माया जालमा परेर पढाइ चाहिँ नबिगारेस नि बिनु ? नमुना थपिन्छे- पाल्पाको घाँस र सेउला गर्नुपर्ला, समयमै सोच है …।
यता,
राजेश, पवन र रविले रमेशलाई ‘एस.एल.सी.’ को झटारो बजार्छन। यस्ता शब्दबाट रमेश झन मस्त हुन्छ । आफूले राम्रै काम गरेछु कि भन्ने सोंच्छ।
बालाजु, रत्नपार्क, जाउलाखेलका पार्कहरू बिदाका मनोरञ्जन स्थल थिए । तर दुवैले कक्षा भने छाडेनन् । नछाडेपनि दुवैलाई आइएमा दुई ~ दुई विषय लागिहाल्यो ।
विषय लागे पछि प्रेमलीलाले झनै बिस्तारिन पायो । विषय पनि प्रेमले नै लगाएको हो नि । डेटिङमा चित्लाङ, कुलेखानी जाँदा ढुङ्गा कोरेर लभर्स चियर बनाएछन् । ढुङ्गाका अक्षर जत्तिकै नमेटिने प्रेमको प्रतिज्ञा गरेछन् । नारायणघाट, दोलालघाटको बालुवामा प्रेमचिन्ह भित्र ‘विस’ बनाएछन् । सुन्दरीजल र ककनी त नजिकका प्रेमपार्क थिए । परीक्षाको असफलतालाई मायाले क्षतिपूर्ति गर्ने क्रम बढेको छ । सच्चा प्रेमीलाई प्रेमभन्दा ठूलो अर्को सफलता के हुन्थ्यो र ?
रमेशका धेरै साथी आइएमा नै अड्केका थिए । आफ्नो जीवनको एक शैक्षिक सत्र गुमाएकोमा धेरैजसो साथीहरूमा महसुस पनि थिएन । रमेश ~ बिनिशालाई भने प्रेम प्राथमिकताले गर्दा पढाइले त्यति महत्त्व पाएन ।
रमेश~बिनिशाको प्रेम तरङ्ग पाल्पा खोचसम्म पुग्यो । पढ्न पठाएको छोरो रमेशले काठमाडौँ कि नेवारनी केटीलाई विवाह गर्दैछ भन्ने सुन्दा पण्डित - पण्डितनीको मनमा साढेसात रेक्टर स्केलको भूकम्प गयो। दुबैजना छाँगाबाट खसेजस्तै भए। ..... ....... ....... …………… ………… ……………
……… …………… ………… ……… क्रमशः।।
(यहाँसम्म पढेर साथ दिनुहुने सम्पुर्णलाई विशेष आभार व्यक्त गर्दछु, त्यस्तै दोश्रो अंस छिट्टै ल्याउनेछु।
अन्त्यमा- जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया भने छाड्नुहुन पाठक सम्पुर्णमा अनुरोध छ।🙏