Light Nation - उज्यालो राष्ट्र

Light Nation - उज्यालो राष्ट्र

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Light Nation - उज्यालो राष्ट्र, Art school, Kalanki, Kathmandu.

- Super Memory Power Class,
- असल संस्कार,
- योग (आसन- प्राणायाम- ध्यान),
- सिर्जनात्मक ज्ञान एवं कला विज्ञान।

Classes:- Online & Physical

(स्कुल- कलेजको लागि योग ट्रेनर एवं प्रेरक वक्ता चाहिएमा पनि सम्पर्क गर्न सक्नुहुनेछ)


सम्पर्क:- 9851031482

17/09/2025

"पढ्ने बानी विकास गरौं"

किताब पढ्नु मस्तिष्कको लागि अति नै उत्तम व्यायाम मानिन्छ। यसले हाम्रो शब्दावली बढाउँछ, ज्ञानको दायरा फराकिलो बनाउँछ, कल्पना शक्तिलाई बढाउँछ र तनाव कम गर्न पनि मद्दत गर्छ। हरेक दिन सुत्नुअघि केवल २५-३० मिनेट मात्रै भएपनि किताब पढ्ने बानीले पनि हाम्रो मस्तिष्क(Brain) र व्यक्तित्व(Personality) मा ठूलो सकारात्मक प्रभाव पार्छ।

30/08/2025

विभिन्न अनुसन्धान हरुले प्रमाणित गरेको छ कि- हाम्रो मस्तिष्कको स्मरण शक्ति/क्षमता २.५ मिलियन GB अर्थात 2.5 Petabytes सम्म रहेको हुन्छ, तर धेरै मानिसहरु तनाब र चिन्तामा अध्ययनलाई भारी महसुस गर्दै समय बिताउँछन।
एकपटक याद गर्नुस त- हामिले हेर्ने कुनै movie कति interesting हुन्छ अनि त्यसैको कहानी हामीले १ बर्षपछी पनि भन्न सक्छौँ। आखिर, यो कुरापनी brain मै store भएको हुन्छ नि, तर किन पढाईको कुरालाई याद गर्न गार्हो त?

यसको उत्तर हो- हामीलाई पढ्ने सहि तरिका थाहा छैन। हामीलाई हाम्रो दिमागले कसरी काम गर्छ थाहा छैन।
यहि कुरा जानेर बुझेर रमाइलो तरिकाले सिक्ने छौँ सबै कुराहरु, बिगत ५ बर्षदेखी Super Memory Power को क्लासहरु चलाउनुभएका trainer हरुको साथ।।

आजै नाम लेखाएर सिट सुरक्षीत राख्नुहोस;-
- 9851031482,
- 9847070519,

Light Nation (L.N. Group of Education)

22/11/2024

शिर्षक: "जिम्मेवारीबोध"

'भाग~०१'

कहिले कता, कहिले कता विरक्तिएर र भौतारिएर मजस्तो त सबै कहाँ हिँड्छन होला र?

सबैको जीवनशैली एकनासको हुन्छ, मलाई भने के हुन्छ कुन्नी?
'विरक्त लाग्न थालेपछि डुल्नुपर्ने, बिना उद्देश्य भौतारिनु पर्ने। अरु नशा जस्तै यो घुमन्ते बानीको पनि नशा लाग्ने रहेछ।'

त्यो नशा मलाई पनि लाग्न थालिसकेको थियो— यायावरलाई जस्तै।
घुमफिरको मेरो उद्देश्य भनेको नयाँ ठाउँ घुम्नु र त्यो ठाउँको बारेमा कथा खोज्नु पनि हुन्थ्यो।

त्यसैले घुमफिर पछिको मलाई मनपर्ने काम भनेको कथा लेख्नु थियो। मलाई लेख्ने काम, काम नभएर साधना जस्तो लाग्छ। केही दिन लगातार काममा गयो कि मलाई ज्वरो आउला जस्तो हुन्छ।
प्रायजसो काम र घरबाट कतै फुत्किनु नै मेरो एकमात्र उद्देश्य हुन्थ्यो।
हुन पनि घरबाट निस्क्यो कि म अर्कै महसुस गर्थेँ, हलुका, हाइड्रोजन भरेको बेलुन जस्तो।

घरमा त्यस्तो रोकटोक त केही कुरामा थिएन तर पनि एकै ठाउँमा बसिरहने मेरो स्वभाव थिएन।

मैले राम्रोसँग बुझेको थिएँ, मेरो मनमौजी स्वभावदेखि आमा र मेरी श्रीमती सुनिता दुवै आजित छन्।

आमा प्रायः अब त छोरो जिम्मेवार भैदिए हुन्थ्यो भन्ने भावमा मेरो अनुहार हेर्नुहुन्थ्यो। सुनिता पनि सकभर म उनीसँगै बसिदिए हुन्थ्यो, बेला मौकामा दुःखसुखका गफ गरिदिए हुन्थ्यो झैँ गर्थिन्।
तर, दुवैले मेरो घमण्डी र झोँक्की स्वभावका कारण केही भनिहाल्न भने सकिरहेका थिएनन्।

बुबालाई भने खासै चासो थिएन।
टेबलमा चिया र हातमा रिमोट परेपछि बुबाको संसार त्यही टिभीमै हुन्थ्यो- बाहिर जेसुकै होस्, मतलब नै हुँदैनथ्यो।

पहिले-पहिलेझैँ त्यो दिन पनि कसैलाई केही नभनी घरबाट निस्किएँ।
रुक्स्याक (हाइकिङ झोला) मेरो सधैँ तयार नै हुन्थ्यो। केही वर्षअघि ट्रेकिङ जाँदा बाटोमा एउटा विदेशीले ट्रेकिङ स्टिक उपहार दिएको थियो, त्यो पनि मेरो सधैँको सारथि भएको थियो।

वैशाखको महिना थियो। मध्याह्न भएकाले टन्टलापुर घाम थाप्लोमाथि नै आइपुगेको थियो। हातको लौरी, मेरो बामपुड्के छायाँ र वनमा एकोहोरो कराउने झ्याउँकिरी मेरा सारथि थिए। बसबाट झरेर लगभग डेढ घण्टाको ठाडो उकालो उक्लिएपछि एउटा चौतारी आयो।

पसिनाले जिउ निथ्रुक्क भिजेको थियो। सोचेँ, यही चौतारीमा एक छिन बिसाउनु पर्यो, पानी पनि पिउनु पर्यो।

चौतारीमा थकाई मार्न के उक्लेको थिएँ, कतैबाट आवाज आयो, “थाक्नु भयो है, बाबू? घाम पनि चर्किचन्! बस्नुस्, यहाँ शित्तल छ। कति भागदौड गर्नुहुन्छ?
जति भागदौड गरे पनि तपाईंको गन्तव्य कहीँ जाँदैन क्यारे! एकछिन बसेर गए पनि पुग्नुहुन्च, बस्नुस्।”

“ए, मैले त हजुरलाई नदेखेको,” मैले छक्क हुँदै भनेँ ।“म त सधैँ यहीँ हुन्छु, मान्छेहरु मलाई यादै अर्दैनन् र पो! मलाई याद नअर्ने तपाईं पहिलो व्यक्ति पनि त होइन। ढुक्क हुनुस्,” उनले भनिन्।

“अनि आमा, हजुरको घर यही गाउँमा हो?”
“अँ बाबु, यो बाटो देख्नुभाछ नि, यस्कै सिरानमा छ मेरो घर।"
"ए, अनि यो गाउँमा होमस्टेको व्यवस्था छ कि छैन नि, आमा?” मैले बास बस्ने व्यवस्थाको बारेमा सोधेँ।

मसँग झोलामा भाडामा ल्याएको टेन्ट त छँदै थियो तर पनि बास पाए खानाको पनि व्यवस्था हुन्थ्यो, त्यही भएर होमस्टेको बारेमा सोधेको थिएँ।तर उनले मेरो कुरा सुनेको नसुन्यै गरिन्।मसँग बोल्दै गर्दा बुढी बारम्बार बाटोतिर नजर पुर्याउँथिन्। हत्केलाको छानो बनाएर परपरसम्म आँखा तन्काउँथिन् अनि मतिर फर्किन्थिन्।
“आमा कस्को बाटो हेर्दै हुनुहुन्छ, कुन्नी?” धेरैबेर बाटो हेरेको देखेपछि मैले सोधेँ।“कस्को हुनु नि, मेरा खसमको(श्रीमानको)!”
“कहाँ जानु भ’को छ र बुबा?”

“उनी इन्यामा जागिर अर्चन। छिट्टै आउँचु भन्थे, खै कैले आउने रचन! बाटो हेर्दै बसिचु। कुनै दिन त आउलान् नि भनेर!” उनले कुरा खुलाइन्।

“ए, अनि सधैँ यहीँ आएर बाटो हेर्दै बस्नुहुन्छ?”“अँ बाबु, जसरी नि वर्षको एकपटक आउँचु भन्याथे। यो वैशाखमा त आउलान् नि भन्ने आश लिएर बसेकी छु।”

“ए, अनि घरमा को को हुनुहुन्छ त?"
“अहिले त म मात्रै छु, बाबु!”
“अनि हजुरका छोराछोरीहरु नि?”

एकछिन गम्भीर भएर उनले भनिन्, “एउटा लायकको छोरो थ्यो। मास्टरी अर्थ्यो। जनयुद्धताका बेपत्ता भएको, न लाश भेटियो, न सास ! मैले त अब आशै मारिसकेँ, बाबु। अब त मलाई केवल बुधेका बाको आश छ।”

“अनि?”

“अनि त म सधैँ एक्लै। सधैँ यसरी नै बाटो कुरिरहन्चु, बुधेका बाको!”
“अनि खाना खानुभयो त?”
“अँ खाएँ, बाबु! बुढ्यौली लागेर होला खासै रुच्दैन। चराले चारो टिपे जति खाएँ।”
“यो चौतारी निकै उपयोगी रहेछ हगि? बटुवालाई सुस्ताउनलाई !” मैले विषय परिवर्तन गरेँ।

उनले टाउको उचालेर पीपलको हाँगातिर हेर्दै भनिन्, “अँ, निक्कै उपयोगी छन् यो रुख अनि यसका हाँगाहरु!”
“अनि किन त बाले हजुरलाई एक्लै छोडेर जानु भएको?”
“हाम्रो एक्लो छोरो बुधे लापत्ता भएदेखि उनी पनि एकोहोरो भाका थे। धुँइपात्ताल लगाएर खोज्दा पनि बुधेको नामोनिशान भेटिएन। त्यसको केही महिनापछि एकदिन बुधेका बा एक्कासि झोला बोकेर निस्किए।

मैले उनलाई रोक्ने लाख कोसिस अरेकी थेँ, माने पो!
यो पालि जान्चु र हिसाबकिताब मिलाएर फेरि नजाने गरी आउँचु, नआत्ती घर हेरेर बस भनेर हिँडेका थे।
मलाई विश्वास छ उनी जसै आउँचन्। तर कहिले आउँचन्, त्यो चैँ थाहा भएन।”

“कस्तो नराम्रो घट्ना घटेको रहेछ हजुरको परिवारमा। सुनेर साह्रै दु:ख लाग्यो,” मैले सहानुभूति व्यक्त गरेँ।

यत्तिकैमा (३-४) जना स्कुलका विद्यार्थीहरु माथिबाट तलतिर झर्दै थिए।

उनिहरुले केही नबोली अलि टाढाबाट, मलाई यसरी हेरेका थिए, कि म निकै अनौठो मानिस छु र त्यो चौपारीमा बसेर केही कला देखाइरहेको छु।

फेरि उनिहरु केही हतासिएजस्तो गर्दै त्यहाँबाट दौडिए।
म त्यो सब देखिरहँदा चकित परिरहेको थिएँ।....... ....... ........ ....... ........... .......
....... क्रमशः।

(के रहस्यले विद्यार्थीहरु त्यसरी दौडिएहोलान त?,
बाँकी कथा अर्को अंशमा।)

पढेर साथ दिनुभएकोमा विशेष आभार🕉️
जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिन नभुल्नुहोला है🙏

22/10/2024

छोट्टो प्रश्नोत्तर;

किताब पढ्ने हो? - आज नाइ भोलि।
योग- ब्याम गर्ने हो? - भोलिदेखी गर्ने।
ध्यान गर्न सिक्ने हो? - आज फुर्सद छैन, भोलिपर्सी सिकौँला।
शाकाहारी हुने हो त? - अल्लि पछि सोचौँला।

अब अर्कोथरी;

कोल्ड ड्रीन्क्स पिउने हो? - हजुर हुन्छ, ल्याउनुहोस न।
चाउचाउ खाने हो? - भईहाल्छ, खाइहालौँ न।
सामानहरु किनमेल गर्न जाने हो? - हुन्छ, गइहालौँ न।
फलानो मान्छेको बारेमा एउटा कुरा गर्नु थियो, अहिले सुनाऔँ कि पछि?
- कहाँ पछि सुन्नु, अहिले सुनिहालौँ न।

हाम्रो समाजमा धेरैको चलन, प्रवृत्ती र पहिचान यस्तै चलिरहेको छ। क्रमश: यहि कुरा आदत र संस्कार बन्न पुग्छ र अवचेतन मनमा गडेर बस्छ। त्यसपछि यसलाई कहिल्यै हटाउन सकिदैन।
अन्तत: आफुले बसालेको आदत र कुसंस्कार वरिपरि हामी आफै घुम्न विवश हुन्छौँ।

तसर्थ,
भोलिवाद पनि एउटा कुसंस्कार नै हो। सत्कर्म र
सु-संस्कारलाई कहिल्यै भोली गरौँला भनेर पन्छिने काम नगरौँ।

"परिवर्तन जरुरी छ,
आज अहिले देखिनै जरुरी छ,
म भित्र परिवर्तन हुन सक्ने क्षमता अथाह छ।"

यो कुरालाई विशेष मनन गरौँ।

24/09/2024

"बाल्यअवस्थामै असल संस्कार साथमा अध्यात्म बिज्ञान र आधुनिक बिज्ञान लाई जोडेर अघि बढ्न सिक्ने हो भने, समाजबाट नकारात्मकता विस्तापित हुन समय लाग्दैन।"

यो उमेरमै अनन्त ज्ञानले भरिपुर्ण बाबू सम्राटको अर्को प्रस्तुति।💗

25/08/2024

"आज सोचेको भोलि नै पुगेन भनेर निराश नहुनुहोस। तपाईं जन्मिन पनि त नौ महिना लागेको थियो।
रुखमुनी पुरिएका बीजहरु उम्रीएर फेरि ठूलो रुख बन्न कैयौँ वर्षा, घाम, तुषारो र आँधी सहन गर्नुपर्छ। असफलताले हरेक पटक शिक्षा दिएर जान्छ। तसर्थ संसारमा सबैभन्दा मजवुत वस्तु निरन्तरता र "आत्मविश्वास" हो।"

#शुभ_रात्रि🙏❣️

25/08/2024

कविता शिर्षक: "पर्ख न...."

पर्ख न,
समय सधै एक कहाँ हुन्छ र,

आज धुलो र हिलोमा हात्तिछाप चप्पलको साहाराले हिँड्ने मेरा खुट्टा,
दिन अवश्य फिर्नेछन,

कठोर परिश्रम आवश्यक पर्ला- गर्नेछु,
योजनावद्व हुनुपर्ला- बनाउनेछु,
यी अत्यधिक मनपर्ने वस्तुलाई दुश्मन सोच्नुपर्ला- सोच्नेछु,

प्यारो निद्रा, प्यारो अल्छीपन, प्यारो मोबाइल फोन, प्यारो जंक फुड, कुनै कुराको आदत, यस्ता धेरै मसंग सुमधुर सम्बन्ध गाँसिसकेका वस्तुहरु...
कठोर मन लिएर यी त्याग्नुपर्नेछ- त्याग्नेछु।

आज गरिबीमा रोमलिएको एउटा ब्यक्ती म,
भोली फरारी हाँक्ने मेरो सपना सुनाउँदा-
सामान्य मानिसको हाँसोको पात्र बनुँला- बन्नेछु।

जब आफुलाई खारिएका कोईलामा हिँडाउन त तयार छु भने,
बाँकी अरुको त के कुरा!
निरन्तर हिँडिरहनेनै छु... हिँडिरहनेनै छु ।

पर्ख न,
आज हात्तीछाप चप्पलमा नचिनेको तिमिले मलाई,
भोलि अल्ट्रबोस जुत्तामा देखिदा त, नजिकको मानिस बनुँला नी ....।
टाढाबाट देखेपनी आफ्नै मानिस भनौला नी... होइन र?

पर्ख न,
समय छिट्टै फिर्नेछ,
दिन छिट्टै आउनेछ.....

प्रतीक्षामा,
बसिरहनु है,... बसिरहनु है।।

लेखक:✍️ बिराज घिमिरे

17/08/2024
19/07/2024

"बाल्यवस्थामै असल संस्कारको बिजारोपण गरिएको मस्तिष्क- कहिल्यै खराब बाटो पछ्याउन सक्दैन।
त्यसैले अहिलेको समयमा असल संस्कार सहितको शिक्षा अत्यन्तै आवश्यक छ।"

यो उमेरमै अनन्त क्षमताले भरिएका बाबू सम्राटको छोटो प्रस्तुति।

12/07/2024

"विदेशको~मोह"

"खण्ड~ 'क'
भाग- ०१"

"सर्वे भवन्तु सुखीन, सर्वे सन्तु निरायमा.... बाट शुरु भएको पण्डित बुबा को दिनचर्या .... ॐ गोविन्दाय नमोनम" मा टुङ्गिने गर्छ । सुर्यको उदय नहुँदै सुरु भएको दैनिकीले राती नौ–दश बजेतिर मात्र विश्राम पाउँछ ।
पण्डित बुबा- ईश्वरको पुजाआजा एवं नित्य कर्मकाण्ड गर्छन। सबै जीवात्मालाई पानी अर्पण गरी दैनिकी शुभारम्भ गर्छन् । यसले उनलाई शक्ति र सन्तोष दुवै दिएको छ । तीन तले खरले छाएको माटेघर निकै उज्यालो देखिन्छ । डाँडाको थाप्लोमा रहेको घर, वरिपरि पर्खालले घेरिएको छ।
पण्डितनी गैह्री कुवाबाट सवेरै पानी ल्याएर खसमलाई स्नानको चाँजोपाँजो मिलाउँछिन । यी काम सबै घाम झुल्कनुअघि गरिसक्नुपर्छ।
घाम झुल्केपछि पण्डित बुबा डाले घाँस काट्न, खेतमा पानी चलाउन लाग्छन। खर्चको जोहो गर्ने काम पण्डित कै हुन्थ्यो । तीन कोश परसम्म जजमानी छन, उनीहरूकोमा श्राद्ध, न्वारन, पूजापाठ गर्ने काम पनि पण्डित बुबा को।
बामे सर्दादेखि नै रमेशले बुबाको पूजापाठ सुन्दै हेर्दै आएको थियो। तोते बोलीमै ‘सर्वे भवन्तु सुखिन’ भन्न जान्ने भएको छ।पण्डितले एक्लो छोरो रमेशलाई कर्मकाण्डमा मात्र सीमित राख्न चाहँदैनथे।
पूर्वीय दर्शनको जगमा आधुनिक विज्ञानलाई जोडेर शिक्षा दिने उनको चाहना थियो । छोरो आफ्नै जीवनकालमा सरकारी कार्यालयको हाकिम भएको देख्न चाहन्थे । दाहाल र खरेलका छोराहरू खरिदार र सुब्बा बनेर मान कमाएका थिए। रमेशले पनि त्यही बाटो पछ्याउँदै जाओस, अझ अब्बल बनोस भन्ने रहर थियो ।
पण्डित दम्पती खुसी थिए । ससाना सफलतामा खुसी मान्ने आदत परेको थियो। पण्डित पण्डितनी रमेशका आँखाबाट संसार हेर्न चाहन्थे ।
रमेशको तोते बोली अब स्पष्ट भइसकेको थियो। डण्डिबियो र कपर्दीमा रमाउन थालिसकेको थियो । सधैँ साथीको झुण्डमा हुन्थ्यो । साथिहरुमा रानो छ, पढाईमा कक्षा- ७ मा तेस्रो भयो।
पण्डितबुबाले पण्डितनीसँग सल्लाह गर्न थाल्छन् – भन त सिता, रमेशलाई शहर पढ्न पठाएपछि हामी कसरी बस्ने ?
आमा भएकीले सिता भावुक हुन्छिन् – मलाई त नेपाल सेपाल पठाउन मन लागेको छैन । रमेशले यहिँ पढ्छ । रामभक्त मास्टरसाहाबले जस्तै स्कुलमा पढाउला, हजुरले जस्तै कर्मकाण्ड पनि गर्ला । किन नेपाल पठाउने ?
कुरा त ठीकै हो सिता तर कुवाका भ्यागुतो कुवामै भन्छन् ।
यो पाल्पाको खोचबाट अलि टाढा पुगोस्, जागिर पनि खाओस्, कीर्ति पनि फिँजाओस भनेर पो हो। नेपाल पठाउन त मलाई पनि कहाँ मन छ र । तर के गर्ने ..?
‘आफूले कोख र काख दिएको सन्तान आफैसँग रहनु जति आनन्द केमा आउँछ र रमेशका बा’ ।
तिमीले भनेको मनासिब हो । पढ्न र पेशाका लागि पठाउनुपर्छ, नत्र रमेश पनि यही खोलाको ब्याङ बन्छ । उसको भविष्यको लागि मायाको बन्दी पनि बनाउनु भएन नि ।
म के भनूँ रमेशका बा’ । आफै जानकार हुनुहुन्छ । गाउँका अरू मानिसलाई सल्लाह दिनुहुन्छ । मैले त मायाको कुरा भनेकी । मनको कुरा मात्र बताएकी ।
अर्को दिन बिहान,
गलैँचामा बसेर तमाखु तानिरहेका पण्डितले रमेशलाई आफूसँग बस्न सङ्केत गर्दै भने, “बाबु तिम्रो पढाइ त्यति राम्रो छैन । कि नेपाल गएर पढ्छौ त ?”
“नेपालमा को छ बुबा हाम्रो ?”
“हाम्रा आफ्ना कोही छैनन बाबु । चिनजान भएपछि त सबै आफ्नै हुन नि ।”
“स्कुल यही सकेर कलेजको लागि त्यता गए भएन र बुबा ?”
जीवनमा पहिलो पटक पण्डितले रमेशसँग सल्लाह लिएका थिए । रमेशको सल्लाहबाट पण्डित बुबा केही मख्ख र केही द्विविधामा पर्छन।
रमेशले आफ्नो मनको कुरा आफ्नो बुबालाई भन्यो।
साथीहरु भनेपछि रमेश हुरुक्कै हुन्छ । खरेलकी छोरी पुजा (उसलाई सबैले माया गरेर नानीमाया भन्छन) रमेशसंग कहिले छुटिन्न । बिकाश, नवराज, नारन, शान्ता, बिनिता, जनक, लक्ष्मी, तुलशा सबैको आँखाको नानी थियो रमेश। स्कुले साथी निस्वार्थी हुन्छन। कहिलेदेखि साथी बनेका पनि उनीहरूलाई थाहा हुँदैन।
बुबाले शहर जाने कुरा गरेपछि रमेशका आँखाभरि यिनै साथीहरू घुमिरहेका थिए । बुबाको प्रत्येक दिनको छोरालाई हाकिम बनाउने धोको सुन्दा सुन्दै रमेशको मनको एक कुनामा हाकिमले आसन जमाउन थालेको थियो।
"हाकिम भएर साँच्चिकै मान पाइन्छ भने किन हाकिम नबन्ने?"
दिनहरु बित्दै गए,
एस.एल.सी. परिक्षाको नतिजा पनि आयो । रमेश तृतीय श्रेणीमा पास भएछ । पण्डित पण्डितनीलाई श्रेणीको के मतलब । छोरो पास भयो, यत्तिकैमा खुसीको सीमा रहेन । फुरुङ्ग बनेका उनीहरू मनमस्तिस्कमा सपनाको संसारमा पौडिन थाले ।
पण्डितको राजनैतिक सम्बन्ध पनि राम्रै थियो । गाउँ पञ्चायत, जिल्ला पञ्चायत, राष्ट्रिय पञ्चायतका सदस्यहरू सबैकोमा जजमानी गर्थे । गुरुले भनेको सके जति नकाट्ने जजमानको धर्म । सानातिना काम जजमानले गरिदिई हाल्थे । पण्डितमा एउटा विश्वास हुन्छ – मैले भनेपछि राष्ट्रिय पञ्चायत सदस्यले रमेशलाई सानोतिनो जागिर खोज्दिहाल्छन।
नेपाल गएपछि रमेश रत्नराज्य लक्ष्मी क्याम्पसको साँझको सिफ्टमा आइए का लागि भर्ना भयो । राष्ट्रिय पञ्चायत सदस्यले "गुरु दक्षिणा" संस्थानमा सहायक जागिरे बनाइदिए । नयाँ बानेश्वरमा डेरा लिएर पढ्न थाल्यो । तर उसलाई गाउँका साथीहरूको सम्झनाले सताउन थाल्छ। नानीमायाको विषयमा त कविता पनि लेख्छ।
नानीमाया के गर्छे ? रमेशका विषयमा कविता लेख्छे लेख्दिन? - थाहा छैन।
शहर आफ्नै तालको छ।
शहरले रमेशलाई माया गरेको छैन । काठमाडौँको वातावरण पल्पाको जस्तो छैन ।
‘सरसङ्गत गर्दा सबैसँग सतर्क हुनुपर्छ । पढाइमा सावधान बन । भाइको अहिले पढ्ने बेला हो’ ।- अफिसकी ममता दिदीले सल्लाह दिइन।'
“किन र दिदी ?” रमेश झसङ्ग हुन्छ ।
“केही होइन भाइ, भनेकी मात्र । पहाडबाट आएका छौ, कलिलो छौ, आमा बुबाको सपना होलान्, बहकिएर यता उता पो लाग्छौ कि भनेर।”
ममता दिदी उसको अभिभावक नै बनेकी छन ।
बुबालाई चिठ्ठी लेख्दा पनि रमेशले उनको प्रशंसा गर्छ। त्यस्तै हलका डराउँछ पनि।
ममता दिदीको सङ्केत- शहर बजारका लफङ्गा केटा र फेसनवाल केहि केटीहरूले फस्ल्याङ्फुस्लुङ पार्लान् भन्ने थियो । पहाडका केटा शहरमा नभिजेसम्म सिधासाधा हुन्छन्, छिटै अरूको विश्वास गर्छन र ठगिन्छन पनि । ममता दिदीले यस्ता धेरै सपनाहरू भत्किएको देखेकी छन। त्यसैले कार्यालयका सबैलाई सम्झाउने गर्छिन।
रमेशले पढ्ने कलेजको वातावरण पनि अजीवको हुन्छ । पूर्वतर्फ पद्योदय हाइस्कुल, बार्डिङ्बाट निकालिएका प्राय बिग्रेका विद्यार्थीहरू यही पढ्छन, आवारा बनेर पुलमुनि बस्दै चुरोट र खैनीमा दिन बिताउँछन। बगलको वाल्मीकि विद्यापीठ पूर्वीय दर्शनमा दन्किन्छ।
रत्नराज्य क्याम्पस भने पढ्ने - नपढ्ने सबै खाले विद्यार्थीहरुको खानी हो । राजनीति गर्ने भनेर भातृसंगठन खोलेका- अनेरास्ववियु, नेविसंघ, क्रान्तिकारी र राष्ट्रवादी मण्डलका सदस्यहरू पनि त्यहिँ छन् । माथिल्लो तलामा सङ्गीतको राग घन्किन्छ, भुइँतलामा होहल्ला साथ पढाइ । प्राध्यापकहरूले पढाउने कि अनुशासन सिकाउने ? पश्चिम बगलमा ल क्याम्पस, अझै ठुलो राजनीतिको केन्द्र । त्यसपछि विश्वभाषा क्याम्पस। त्यसभन्दा माथि राष्ट्रिय सभा गृह, पञ्चभेला भैरहने ठाउँ । अलि पर शङ्करदेव क्याम्पस । पछिल्तिर बस पार्क । यहाँको वातावरणमा नेपाल र नेपालको राम्रो नराम्रो सबै भेटिन्छ । पञ्चायत विरुद्ध आन्दोलन जगाउन काङ्ग्रेस कम्युनिस्टहरू यही आएर आगो फुक्छन ।
रमेश केही कालो भए पनि हिस्सी परेको थियो । नरिवलको तेल लगाएर कपाल चम्काउँथ्यो । कालो सर्ट, सेतो पाइन्ट र टल्किने कालो चुच्चे जुत्ता, नाडीमा जापानी सिको घडी, पकेटमा चिनिया कलम र हातमा कालो फेल्डर ब्यागले उसको व्यक्तित्व आकर्षक देखिन्थ्यो । हलका अग्लो पनि थियो ।
प्रत्येक दिन बिहान बानेश्वर- खरिवोट डेरा अघि उभिएर चिया पिउँदै पत्रिका पढ्ने बानी बनेको थियो। रमेशलाई आफ्नो इलाकामा पाल्पाली केटोको नामले चिनाएको थियो। दुईचार जनाको झुण्ड वरिपरिको बीचमा उसको उपस्थिति देखिन्थ्यो। हिन्दी फिल्म, राजनीति र पञ्चायत व्यवस्था विरुद्धका कुराहरू चियासँगैका विषय हुन्थे । मीन भवन र बानेश्वर कलेज पढ्न जाने विद्यार्थीहरू आफ्नै उमेर समूहको व्यक्तित्वको नियमित गफसँग आँखा लगाउँदै हिँड्थे । तीमध्ये एक थिइन- बिनिशा। लामो कपाल, आफुजस्तै अग्ली, गहिरा आँखा, हलका कालीकाली- सलक्क परेकी सधैँ मीनभवन क्याम्पसको पोशाकमा ठाँटिएर हिँड्ने आफूजस्तै उमेर समूहकी बिनिशासँग रमेशको पनि आँखा जुधेका थिए ।
बिनिशाले भने रमेशलाई अल्लि हावा केटाको रूपमा लिन्थिन। कलेज पढ्ने केटा सधैँ चिया र पत्रिकामा बाटोमा रहनु लफङ्गा, हावा कै पहिचान भएको उनको निष्कर्ष थियो । तर अनेकौं पटक एकै ठाउँमा आँखा ठोक्किन थालेपछि मन कस्तो कस्तो हुन थालेको थियो । केटी जिस्क्याउन त परै जाओस केटीसँग कुराकानी गर्न पनि निक्कै लजाउँथ्यो- रमेश।
आफ्नो कलेजमा केटिसाथी हरुले नरिवले जुल्फे भनेपछि उसको मुख एकाएक रातो हुन्थ्यो । शहरिया केटीहरूले मन पराउलान भन्ने त रमेशको कल्पनामा पनि थिएन ।
यता, कलेज पढेर फर्किदा पनि बिनिशाका आँखा खरिबोट चिया चोकमा गहिरिन्थे । रमेश भने साढे नौमा नै अफिस बसबाट बालाजु हिँडिसकेको हुन्थ्यो, बेलुकी कक्षा सकेर फर्किदा दश पनि बज्न सक्थ्यो । बिनिशाको आँखाले उसलाई भेट्न भोलि बिहान पर्खनु पर्थ्यो ।
बिनिशा काठमाडौँकी रैथाने नेवारकी छोरी, बुबाआमा खेती किसानीमा रमाएका थिए । दाजुको किराना पसल खुवै चलेको थियो । बिनिशा भने परिवारको माया पाएर पुलपुलिएकी थिइन् । त्यसैले पढाइमा खासै ध्यान थिएन, पढे नपढेको सोध्ने पनि घरमा कोहि थिएनन। सबै आ-आफ्नै काममा व्यस्त।
रमेश बिनिशाको विषयमा त्यति जानकार थिएन । आफू चोकमा रहँदा सधैँ कलेज पोशाकमा देखिने एउटी हिस्सी परेकी केटी उसको नजर काट्दै जान्थी । त्यस बाहेक उसले केही बुझेको थिएन, बुझ्नु जरुरी पनि थिएन ।
एक बिहान रमेश चिया पिएर हातमा पत्रिका च्यापेर डेरातर्फ फर्किदै थियो। हतारिएर हिँडेकी बिनिशासँग रमेशका आँखा चार भए । उनि केही फरासिली थिइन, मनमा आएको कुरा झट्ट भन्ने आँट पनि उनमा थियो । बोल्ने मौका खोजिरहेकी उनले अनुरोधको शैलीमा प्याट्ट भनिहालिन्, “त्रिविले परीक्षा रुटिन दिएको छ रे, गोरखापत्र हेरौँन दाइ ।” रमेशले गोरखापत्र त दियो, उसको हात लुलो भैसकेको थियो । बिनिशा भने पत्रिका हेर्ने बहानामा दुईतिन मिनेटमै रमेशलाई पढिसकिन् । रमेशले पनि उनी बारे हल्का जानकारी लियो ।
त्यस दिनदेखि देखभेट हुँदा बोलचाल हुन थाल्यो । बहानामा बोलचालको बाटो बनाउन थाले । बिनिशाप्रति रमेश पनि लहरिएको थियो, बिनिशा त अलि बढी नै फरासिली थिइन् । लायकी केटो, इलममा पनि लागेको, नमिल्ने एकै कुरा- जात थियो । मन मिलेपछि जातको डोरी छिनेर नारी र पुरुष बाहेक अरू जात हुने पनि भएन ।
रमेश बिनिशाप्रति जति आशक्त थियो, उता नानीमायालाई पनि भुल्न सकेको थिएन । एकसाथ बिनिशा र नानीमायाको आकृति उत्रिन थाले । बिनिशा भेटघाटमा संवाद लम्ब्याउन थालिन्, रमेशका सपनामा नानीमायाले पनि आसन जमाउन थालिन।
सपना–बिपना, बिपना–सपना, नानीमाया - बिनिशा, पाल्पाको खोच - नेपालको खरिबोट मनमस्तिष्कमा एकले अर्कोलाई लखेट्ने क्रम बढ्दो छ । बिनिशा र रमेशका मनभरि भुइँचालो थियो, जवान केटाकेटी सम्मोहनमा तानिएका थिए । नानीमायासँगको सपना भने अव्यक्त सम्मोहन थियो । विचरा नानीमायाको लागि रमेश बालसखा थियो, त्योभन्दा पर उसले न सोचेकी थिई न गाउँको परिवेशले सोच्ने ठाउँ नै दिएको थियो।
समयले नपत्याउने गरी जीवन फेर्दोरहेछ । भएको त केही पनि होइन तर उमेर, उमेर अनुसारको सोच, सोच अनुसारको स्वभाव फेरिँदै गएको छ । दुवै त्यत्तिकै खुसी छन् । खुसी हुने, रमाउने कारण पनि आवश्यक थिएन । मनको भाव चेहरामा देखिन्थ्यो । बानेश्वर, मिनभवन, खरिबोटका सडक पेटीमा नजिकिँदै हिँड्दा दुवैका अनुहारमा सधैँ मन्द मुस्कानका छाल देखिन्छ । उपस्थितिले मात्र ल्याएको खुसी ।
रेस्टुरेन्टमा जाने पैसा रमेशसँग कहाँ छ र ? चिया र चटपटेमै खुसी छन् । रमेश चियासँग क्रिमरोल, बन खान्छ, बिनिशा चाहिँ पानीपुरी, चटपटे र ल्यासिपाउ । छेउछाउका चिया पसल र फुटपाथका चनाचटपटे- पानीपुरु ठेला सबैले यो जोडीलाई चिनिसकेका थिए। उनीहरूको मेनु बुझिसकेका थिए।
प्रेममा जति लठारिए पनि कसैको चियो चर्चो नभएको अचम्मको अवसर उपलब्ध भएको छ। रमेशको त काठमाडौँमा को छ र ?
अफिसकी ममता दिदीलाई पनि यी सबै कुरा थाहा छैन । बिनिशाका आमाबुबा, दाजु आआफ्नै धुनमा छन् । बेला बेलामा नमुना, आकृती, प्रीया हरुले बिनिशालाई जिस्क्याउँछन- माया जालमा परेर पढाइ चाहिँ नबिगारेस नि बिनु ? नमुना थपिन्छे- पाल्पाको घाँस र सेउला गर्नुपर्ला, समयमै सोच है …।
यता,
राजेश, पवन र रविले रमेशलाई ‘एस.एल.सी.’ को झटारो बजार्छन। यस्ता शब्दबाट रमेश झन मस्त हुन्छ । आफूले राम्रै काम गरेछु कि भन्ने सोंच्छ।
बालाजु, रत्नपार्क, जाउलाखेलका पार्कहरू बिदाका मनोरञ्जन स्थल थिए । तर दुवैले कक्षा भने छाडेनन् । नछाडेपनि दुवैलाई आइएमा दुई ~ दुई विषय लागिहाल्यो ।
विषय लागे पछि प्रेमलीलाले झनै बिस्तारिन पायो । विषय पनि प्रेमले नै लगाएको हो नि । डेटिङमा चित्लाङ, कुलेखानी जाँदा ढुङ्गा कोरेर लभर्स चियर बनाएछन् । ढुङ्गाका अक्षर जत्तिकै नमेटिने प्रेमको प्रतिज्ञा गरेछन् । नारायणघाट, दोलालघाटको बालुवामा प्रेमचिन्ह भित्र ‘विस’ बनाएछन् । सुन्दरीजल र ककनी त नजिकका प्रेमपार्क थिए । परीक्षाको असफलतालाई मायाले क्षतिपूर्ति गर्ने क्रम बढेको छ । सच्चा प्रेमीलाई प्रेमभन्दा ठूलो अर्को सफलता के हुन्थ्यो र ?
रमेशका धेरै साथी आइएमा नै अड्केका थिए । आफ्नो जीवनको एक शैक्षिक सत्र गुमाएकोमा धेरैजसो साथीहरूमा महसुस पनि थिएन । रमेश ~ बिनिशालाई भने प्रेम प्राथमिकताले गर्दा पढाइले त्यति महत्त्व पाएन ।
रमेश~बिनिशाको प्रेम तरङ्ग पाल्पा खोचसम्म पुग्यो । पढ्न पठाएको छोरो रमेशले काठमाडौँ कि नेवारनी केटीलाई विवाह गर्दैछ भन्ने सुन्दा पण्डित - पण्डितनीको मनमा साढेसात रेक्टर स्केलको भूकम्प गयो। दुबैजना छाँगाबाट खसेजस्तै भए। ..... ....... ....... …………… ………… ……………
……… …………… ………… ……… क्रमशः।।

(यहाँसम्म पढेर साथ दिनुहुने सम्पुर्णलाई विशेष आभार व्यक्त गर्दछु, त्यस्तै दोश्रो अंस छिट्टै ल्याउनेछु।
अन्त्यमा- जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया भने छाड्नुहुन पाठक सम्पुर्णमा अनुरोध छ।🙏

18/04/2024

चीनका सबैभन्दा धनी व्यक्ति ज्याक माले भनेका छन्, "बाँदरको अगाडि केरा र पैसा राख्नुभयो भने, बाँदरहरूले केरा रोज्छन् किनभने बाँदरहरूलाई पैसाले धेरै केरा किन्न सकिन्छ भन्ने थाहा हुँदैन।"

वास्तवमा, यदि तपाइँ मानिसहरूलाई जागिर र व्यवसाय प्रस्ताव गर्नुहुन्छ भने, उनीहरूले काम गर्न रोज्नेछन् किनभने धेरै मानिसहरूलाई थाहा छैन कि एउटा व्यवसायले तलब भन्दा बढी पैसा कमाउन सक्छ।

गरिबहरू गरिब हुनुको एउटा कारण यो पनि हो कि गरिबहरूले लगानी गरेर व्यावसाय गर्ने हिम्मत गर्न सक्दैनन्।

हाम्रो शिक्षा पद्धति पनि जागिरमुखी छ । हामीलाई स्कूलमा के सिकाइन्छ भने, आफ्नै लागि काम गर्नुको सट्टा तलबको लागि काम गर्नु पर्छ।

तर यथार्थ के हो भने तलब भन्दा व्यावसायले दिने नाफा कैयौं गुणा धेरै हुनसक्छ । तर जबसम्म ग्यारेन्टी हुनसक्दैन तबसम्म हामी त्यो जोखिम मोल्न नै डराउछौ ।

भूषण दहालले एउटा अन्तरवार्तामा भनेका थिए, 'जागिर खाएर क्यपिटल फर्मेसन हुँदैन भन्ने बुझ्न मलाई ३० वर्ष लाग्यो ।'

हो, जागिरले बाँच्न सिकाउछ तर बढ्न होइन । जागिरले पैसा कामाउन सक्नुहुनेछ तर सम्पती होइन । जागिर तपाईंको लागि मात्र हो तर व्यावसायलाई तपाईंले छोडेको स्थानबाट तपाईंको सन्ततीले सुरु गर्न सक्छन् । यो भनेको सन्तानको भागको पनि संघर्ष तपाईं आफैले गरिदिनु हो ।

यसैले जागिरमुखी होइन, उद्यमशील हुन सुरु गर्नुहोस् ।

05/04/2024

आफ्नो मृत्यु हुनुभन्दा अघि एक बुबाले आफ्नो छोरालाई यसो भने: “यो तिम्रो हजुरबाले मलाई दिनुभएको १०० वर्ष पुरानो घडी हो । म तिमीलाई दिन चाहान्छु, तर त्योभन्दा अगाडि पसलहरूमा गएर "म यसलाई बेच्न चाहान्छु, कति मूल्य आउँछ भनेर सोधपुछ गर।

छोरा घडी पसलहरूमा गयो र बुबाकहाँ आएर भन्यो, "घडी पुरानो छ भनेर पसलेहरूले रू. ५०० सम्म मात्र दिने प्रस्ताव गर्‍यो।

बुबाले फेरि भन्यो: कफी पसलहरूमा गएर यसको मूल्य बुझेर आऊ। छोरा गयो र बुबाकहाँ आएर भन्यो, "उनीहरूले रू. २०० सम्म दिन्छु भन्यो।

बुबाले फेरि भन्यो: एकपटक संग्रहालयहरूमा पनि गएर घडीको मूल्य बुझ । ऊ गयो र खुसीहुँदै बुबाकहाँ आएर भन्यो,"संग्रहालयले रू. १० लाख दिन्छु भन्यो।

अन्तमा बुबाले छोरालाई यसो भने: “म तिमीलाई यो बताउन चाहन्थे कि सहि ठाउँले मात्र सहि तरिकाले महत्त्व दिन्छ।

गलत ठाउँमा आफूलाई नखोज। जुन ठाउँमा तिम्रो मूल्य हुँदैन त्यहाँ आफैलाई खोजेर क्रोधित नबन। कसैको निर्णय र नतिजाले तिम्रो महत्त्व नगुमोस्।

जसले तिम्रो महत्त्वलाई बुझ्दछ उनीहरूले तिम्रो कदर गर्नेछ। यस्तो ठाउँमा नबस जहाँ कसैले तिम्रो महत्त्व र मूल्य देख्दैन।

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Kalanki
Kathmandu
44600