25/08/2025
बाल साहित्यकार एवं इटर्नल प्रकाशन प्रा.लि.का प्रबन्ध निर्देशक श्री यमुना पराजुली अधिकारीज्यू एसोसिएसन अफ नेपाली ओरिजिन (ANO) नेपाल च्याप्टरको कोषाध्यक्ष पदमा चयन हुनु भएकोमा उहाँ लगायत सम्पूर्ण टीमलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।
Yamuna Parajuli Adhikari
16/08/2025
झगडाको ओखती– यमुना पराजुली
बाल उपन्यास (कक्षा ४ र ५ का लागि उपयुक्त)
झगडाको ओखती यमुना पराजुली अधिकारीको बाल उपन्यास हो । यो उपन्यासले असल अभिभावकमा नभई नहुने एउटा महत्वपूर्ण पक्षलाई उजागर गरेको छ । र, त्यो हो– समय । जतिसुकै सुविधानसम्पन्न वातावरणमा हुर्काए पनि यदि बुबा आमाले पर्याप्त समय दिन सकेनन् भने छोराछोरीमा कस्तो प्रभाव पर्छ भन्ने तथ्यलाई यो उपन्यासले सुन्दर ढङ्गले चित्रण गरेको छ । बालबालिकाको शारीरिक, मानसिक र भावनात्मक विकासका लागि अभिभावकहरूबीचको सुमधुर सम्बन्धको महत्वलाई पनि यसले दर्शाएको छ । आफ्ना अभिभावकबीचको सम्बन्ध सौहाद्रपूर्ण बनाइराख्नमा बालबालिका स्वयंले कस्तो भूमिका खेल्न सक्छन् भन्ने यो उपन्यासले बुझाएको छ । उपन्यासको मूल्य २५० रुपैयाँ रहेको छ ।
16/08/2025
हनुमानको करामत – जितेन्द्र रसिक
सचित्र बालकथा (कक्षा १ का लागि उपयुक्त)
हनुमानको करामत सचित्र बालकथा हो । यो कथा कक्षा १ मा पढ्ने बालबालिकालाई पढेर सुनाउन र आफैँ पढ्न उपयुक्त छ । यो छोटो तर सुन्दर कथा बालबालिकाहरूमा सामाजिक, मानसिक र संवेगात्मक विकासका साथै कल्पनाशीलता बढाउने उद्देश्यले लेखिएको छ । कथा पढ्दै गर्दा बालबालिकाले हनुमान र राम कस्ता पात्र थिए र उनीहरूले कस्तो सोच्थे भन्ने कल्पना गर्दछन् । यसबाट विद्यार्थीको भाषिक क्षमता र पठन–सीप विकास भएर सिकाइमा मद्दत पुग्नेछ । यस कथाका लेखक जितेन्द्र रसिकले बाल साहित्यका अरु धेरै किताबहरू लेखिसक्नु भएको छ । दोस्रो सस्करणको यो किताबको मूल्य २०० रुपैयाँ छ ।
16/08/2025
अठोट– श्रीश भण्डारी
उत्प्रेरणात्मक पुस्तक (कक्षा ६ देखि १० सम्मका विद्यार्थीका लागि उपयुक्त)
लेखक/सम्पादक एवं उत्प्रेरक–वक्ता श्रीश भण्डारीको अठोट पुस्तक बालबालिका र किशोरकिशोरीलाई उत्पे्रेरणा जगाउन र सकारात्मक सोच विकास गर्न सफल कृति हो । यो किताबमा विद्यार्थीले कसरी खुशी रहने, प्राथमिकता निर्धारण गर्ने, स्मरणशक्ति बढाउने, जङ्फुडबाट बच्ने, आत्मविश्वास बढाउने र मोवाइलको लतबाट जोगिनेजस्ता विषयवस्तु छन् । यसमा समय व्यवस्थापन, तनाव व्यवस्थापन र किशोरावस्थामा हुने भावनात्मक परिवर्तन व्यवस्थापनका साथै बालबालिकालाई कसरी असल अभिभावकत्व प्रदान गर्ने भन्ने विषय पनि छ । यो किताब विद्यार्थीका लागि मात्र नभई शिक्षक र अभिभावकका लागि पनि उपयोगी छ । यो किताब केही वर्षयता युलेन्स, युलेन्स–काठमाडौं, अक्षरा, काष्ठमण्डप, चाँदवाग, बृहस्पतिलगायत दर्जनौं प्रमुख विद्यालयहरूमा अतिरिक्त पाठ्यवस्तुका रूपमा समावेश छ । तेस्राे सस्करणसम्म प्रकािशत भैसकेकाे यो किताबको मूल्य ४०० रुपैँया छ ।
16/08/2025
पुनखुँ मैचा– यमुना पराजुली अधिकारी
लोककथा (कक्षा ६ र ७ का लागि उपयुक्त)
पुनखुँ मैंचा नेवारी संस्कृति र परम्परामा चर्चित लोककथा हो । एउटी इमानदार तर पीडित किशोरीलाई मूल पात्र बनाएर कथिएको यो लोककथामा पुनखुँका बुबा, सौतेनी आमा, सौतेनी बहिनी, बूढी बाख्री, राक्षसहरू र गुभाजुजस्ता पात्रहरू छन् । बालसाहित्य–सर्जक यमुना पराजुली अधिकारीले पुनर्लेखन गर्नु भएको यो लोक कथाको मूल अभिप्राय बालबालिकामा कल्पनाशीलता, कौतूहल, रोमाञ्चकता र प्रेरणा अभिवृद्धि गर्नु हो । लोककथाहरू बाल मस्तिष्कको संवेगात्मक र बौद्धिक विकासका लागि लोककथाहरू उपयोगीसिद्ध छन् । यसबाट विद्यार्थीले कथा सुन्नु र पढ्नुको आनन्द त लिनेछन् नै सँगसँगै एउटै कथालाई कसरी विभिन्न उपकथामा विस्तार वा प्रसार गर्न सकिन्छ भन्ने पनि सिक्नेछन् । यसबाट विद्यार्थीको भाषिक सीप र कल्पनाशील क्षमता दुवैलाई राम्रो खुराक मिल्नेछ । यो किताबको मूल्य ३८० रुपैयाँ छ ।
16/08/2025
अकथित– श्रीश भण्डारी
किशोर उपन्यास (कक्षा ६ देखि ९ सम्मका विद्यार्थीका लागि उपयुक्त)
अठोट पुस्तकका लेखक श्रीश भण्डारीको किशोर मनोविज्ञानमा आधारित नयाँ उपन्यास हो– अकथित । विद्यालय उमेरका बालबालिकाले सामना गर्ने विभिन्न कठिनाइमध्ये बुलिङ एक हो । बुलिङका कारण पीडितको आत्मसम्मानमा ठेस पुग्छ र आत्मविश्वास कमजोर गराउँछ । यस्तो दुव्र्यवहारबाट गुज्रिएका बालबालिका कम बोल्छन्, परिवारका सदस्यसँग खुल्दैनन् र साथीभाइबाट टाढै रहन्छन् । एकान्त मन पराउँछन् र प्रायः कोठामा एक्लै बस्छन् । कसैको अघिल्तिर पर्दा शिर ठाडो गर्न र आँखा जुधाएर हेर्न सक्दैनन् । कैयन् अभिभावकले यस्तो परिवर्तनलाई किशोरावस्थाको स्वाभाविक बदलावका रूपमा बुझ्न सक्छन् । तर समस्याको पहिचानमा ढिलाइ भयो भने किशोरकिशोरीको पढाइ कमजोर हुने, विद्यालय जान नचाहने, विद्यालय नै परिवर्तन गर्न खोज्ने जस्ता लक्षण देखिन सक्छन् । अकथित उपन्यास किशोराबस्थामा अधिकांशले सामना गर्ने तर कमैलाई मात्र भन्ने यही बुलिङ्को विषयवस्तुमा आधारित छ । किताबको मूल्य २७५ रुपैयाँ छ ।
16/08/2025
आमाले बुनेको मोजा र टोपी – यमुना पराजुली अधिकारी
सचित्र बालकथा (कक्षा १ र २ का लागि उपयुक्त)
आमाले बुनेको मोजा र टोपी सचित्र बालकथा हो । यो कथा कक्षा २ मा पढ्ने बालबालिकालाई उपयुक्त छ । १२ पृष्ठको यो कथा बालबालिकाहरूमा सामाजिक, मानसिक र संवेगात्मक विकासका साथै कल्पनाशीलता बढाउने उद्देश्यले लेखिएको छ । कथा पढ्दै गर्दा बालबालिकाले बजारका झिलिमिलि सामान मात्र सँधै राम्रा हुँदैनन् भन्ने कुरा बुझ्न सक्छन् । यसबाट विद्यार्थीको भाषिक क्षमता र पठन–सीप विकास भएर सिकाइमा मद्दत पुग्नेछ । बाल साहित्यमा यसअघि नै राम्रो पकड जमाइसक्नु भएकी लेखिका यमुना पराजुली अधिकारीको यो नवौं किताब हो । यो किताबको मूल्य २०० रुपैयाँ छ ।
16/08/2025
फूलहरूको साउती – श्रीश भण्डारी
सचित्र बालकथा (कक्षा २ र ३ का लागि उपयुक्त)
फूलहरूको साउती सचित्र बालकथा हो । यो कथा कक्षा ३ मा पढ्ने बालबालिकालाई उपयुक्त छ । १२ पृष्ठको यो कथा बालबालिकाहरूमा सामाजिक, मानसिक र संवेगात्मक विकासका साथै कल्पनाशीलता बढाउने उद्देश्यले लेखिएको छ । यो कथाले बालबालिकाको मनमा पैदा हुने स्वाभाविक कौतुहल, जिज्ञासा र समाधानलाई सुन्दर ढङ्गले प्रस्तुत गरेको छ । कथा पढ्दै गर्दा बालबालिकाले बिभिन्न किसिमका फूलहरूबारे जान्ने र फूलहरूलाई हामीले किन माया गर्नुपर्छ भन्नेबारे बुझ्नेछन् । यसबाट विद्यार्थीको भाषिक क्षमता र पठन–सीप विकास भएर सिकाइमा मद्दत पुग्नेछ । यो किताबको मूल्य २०० रुपैयाँ छ ।
16/08/2025
कार्याको जङ्गल यात्रा– सविता खनाल
सचित्र बाल कथासङ्ग्रह (कक्षा र ४ का लागि उपयुक्त)
कार्याको जङ्गल यात्रा सचित्र बालकथाहरूको सँगालो हो । यो किताबमा कार्याको जङ्गल यात्रा, बजारको आँप, प्रवीणको आनीबानी, बीच सडकमा दौडँदा, बाह्र महिनाका बखेडा, चार साथी, बादलको यात्रा, जादूको चस्मा, र सुगाको जुक्ति शीर्षकका ९ कथा छन् । यी कथामध्ये कुनैले बालबालिकालाई प्रकृतिको भ्रमण गराउँछन् त कुनैले आनीबानी सिकाउँछन् । कुनैले स्वास्थ्य चेतना दिन्छन् त कुनैले सडक सुरक्षाबारे जानकारी । अनि कुनैले बालसुलभ जिज्ञासा र तिनको समाधान प्रस्तुत गर्छन् । सबै कथा बालबालिकाको सामाजिक, मानसिक र संवेगात्मक विकास र कल्पनाशीलता बढाउने हेतुले लेखिएका छन् । किताबको मूल्य १८५ रुपैँया छ ।
16/08/2025
फूलका गहना– यमुना पराजुली
बाल कथासङ्ग्रह (कक्षा ४ का लागि उपयुक्त)
फूलका गहना यमुना पराजुली अधिकारीका आधा दर्जन बालकथाहरूको सङ्ग्रह हो । यसमा फूलका गहना, जिद्दी साथी, बाँसको पिच्कारी, नयाँ कोट, सजनीको विवेक र गौरवको गौरव शीर्षकका कथा छन् । यी कथा किताब प्रकाशन हुनुअघि कान्तिपुरलगायत पत्रिकामा प्रकाशित हुन् । बालमनोविज्ञानमा आधारित यी कथामा बालसुलभ जिज्ञासा, समस्या र तिनका समाधान छ । यी कथाले बाल्यावस्थामा जोसुकैमाथि आइपर्न सक्ने विभिन्न घटनाबाट पनि महान् प्रेरणा लिएर सकारात्मक सोचका साथ कसरी अघि बढ्न सकिन्छ भन्ने सिकाउँछन् । यी कथा बालबालिकाहरूले सस्वर वाचन गर्नका लागि उपयुक्त छन् । किताबको मूल्य १२५ रुपैँया छ ।