03/09/2026
भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी तथा पहिरोका कारण देशभर ३ खर्ब ८७ अर्ब ५४ करोड रुपैयाँ बराबरको प्रारम्भिक क्षति भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गरेको मूल्यांकनअनुसार सडक, भवन, कृषि, पशुपन्छी, दूरसञ्चार र बैंकिङ क्षेत्रमा उक्त ठूलो क्षति पुगेको हो।
विपद्पछिको तत्कालको अवस्थालाई सम्बोधन गर्न मात्रै झन्डै ८ अर्ब रुपैयाँ लाग्ने देखिएको छ। प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीका अनुसार आगामी चार महिनाभित्र गर्नुपर्ने प्रारम्भिक पुनःस्थापना (अर्ली रिकभरी) का लागि ७ अर्ब ९५ करोड रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ। यस बजेटबाट भत्किएका पुल र भवन निर्माण, बस्ती व्यवस्थापन, स्वास्थ्य, शिक्षा, तथा कृषि क्षेत्रका काम अघि बढाइनेछ।
यसैबीच, बाढीपहिरो प्रभावित विकट क्षेत्रहरूमा खोज तथा उद्धार कार्यलाई तीव्रता दिइएको छ। चीनसँगको उत्तरी सीमा क्षेत्रमा अलपत्र परेका ११३ जना नेपाली र एक चिनियाँ नागरिक गरी ११४ जनाको सकुशल उद्धार गरिएको छ। यसका अतिरिक्त अन्य जोखिमपूर्ण स्थानबाट थप २० जनालाई सुरक्षित रूपमा बाहिर निकालिएको प्राधिकरणले जनाएको छ।
बेपत्ता नागरिकको खोजी, उद्धार तथा शव संकलनका लागि अहिले दैनिक १० देखि १२ वटा हेलिकप्टर परिचालन भइरहेका छन्। विशेषगरी सुरुङ (टनेल) भित्र फसेकाहरूको जीवितै उद्धार गर्ने आशासहित अपरेसनलाई निरन्तरता दिइएको डा. उप्रेतीले जानकारी दिए।
हाल प्रभावितहरूको व्यवस्थापनका लागि २१ वटा विभिन्न शिविरहरूमा खाद्यान्नलगायतका राहत सामग्री ढुवानी भइरहेको छ। भौगोलिक विकटताले केही स्थानमा राहत पुग्न नसकेको गुनासो आए पनि त्यसलाई छिट्टै सम्बोधन गर्ने र क्षतिको विस्तृत विवरण संकलनको कामलाई अगाडि बढाइने प्राधिकरणले स्पष्ट पारेको छ।