14/08/2026
नेपालका मेडिकल कलेजहरूमा आज विभिन्न ठाउँमा इन्टर्न र जुनियर रेसिडेन्टहरू आफ्ना आधारभूत अधिकार, उचित स्टाइपेन्ड र मानवीय कार्यघण्टाको माग गर्दै आन्दोलन गरिरहेका छन्। CMC, GMC, JMC, Nobel लगायतका कलेजका साथीहरू सडकमा छन्। तर प्रश्न उठ्छ—के यो समस्या उनीहरूको मात्र हो? UCMS, NMC,KMC, KIST,BIRAT, ???
हामी सबै एउटै प्रणालीका हिस्सा हौं। आज एउटा कलेजमा अन्याय भइरहेको छ भने भोलि अर्को कलेजमा पनि हुन सक्छ। तर दुःखको कुरा, धेरैजसोले “मेरो इन्टर्नशिप सकिन लाग्यो”, “म किन फस्ने?”, “अरूले लडून्, मलाई के?” भन्ने सोच राखिरहेका छौं। यही सोचले वर्षौंदेखि हाम्रो पेशालाई कमजोर बनाएको छ।
हाम्रो सबैभन्दा ठूलो दुश्मन बाहिरको कोही होइन, कहिलेकाहीँ हामी आफैं हौं—आफ्नै मेडिकल क्षेत्रका साथी, सिनियर र जुनियरहरू। जब अधिकारको कुरा आउँछ, हामी एकअर्काको साथ दिनुभन्दा टाढा बस्न खोज्छौं। जब कसैले आवाज उठाउँछ, उसलाई साथ दिनुको सट्टा “कलेजसँग किन झगडा गर्ने?” भनेर प्रश्न गर्छौं।
वास्तविकता के हो भने, आजसम्म इन्टर्न र PG रेसिडेन्टहरूका लागि देशव्यापी रूपमा स्पष्ट कार्यघण्टा, उचित विश्राम, सुरक्षित कार्य वातावरण र सम्मानजनक स्टाइपेन्ड सुनिश्चित हुन सकेको छैन। यसको मुख्य कारण हाम्रो विभाजन र मौनता पनि हो। जबसम्म “मेरो काम सकियो, अब मलाई मतलब छैन” भन्ने सोच रहन्छ, तबसम्म समस्या पुस्तौंपुस्ता दोहोरिरहन्छ।
अधिकार माग्नु विद्रोह होइन, आफ्नो श्रमको सम्मान माग्नु हो। आज आन्दोलन गरिरहेका साथीहरू आफ्नो लागि मात्र होइन, भोलिका इन्टर्न, जुनियर रेसिडेन्ट र सम्पूर्ण मेडिकल समुदायका लागि पनि लडिरहेका छन्।
यदि हामी साँच्चै परिवर्तन चाहन्छौं भने, कलेज, ब्याच, सिनियर-जुनियरको सीमा पार गरेर एकजुट हुनुपर्छ। किनकि आज अरूको समस्या भनेर बेवास्ता गरिएको विषय भोलि हाम्रो आफ्नै समस्या बन्न सक्छ।
एकताको अभावले हामीलाई यहाँसम्म ल्यायो, अब एकताले मात्र परिवर्तन ल्याउन सक्छ।