11/08/2019
नेपालमा हुने भनिएको Caregiver परीक्षाको सम्पूर्ण जानकारी। सबै को जिज्ञास मेटाउने प्रयास गरेका छौ ।
☞केयर गिभर कस्तो काम हो ?
असक्त तथा बृद्ध मानिसहरू को हेरचाह र दैनिक जीवनयापन गर्न सहयोग गर्ने काम हो । जस्तै खाना खान , नुहाई धुवाई गर्न , हिँडडुल गर्न , लुगा लगाउन सहयोग गर्ने आदि ।
☞यो भिसामा जापान जान के गर्नु पर्छ ?
जापान सरकारले तोकेको भाषा र सीपसम्बन्धी परीक्षा पास गर्नु पर्छ । परीक्षा पास भए पछि कम्पनीबाट छनौट, र भिसा प्रक्रिया पुरा गर्नु पर्छ ।
☞केयर गिभरको काम गर्न नर्सिङ पढेको हुनु पर्छ?
पर्दैन । जापानी भाषा N4 लेबल र केयर गिभर सम्बन्धी साधारण ज्ञान भए हुन्छ ।
☞नेपालमा औपचारिक शिक्षा कति हासिल गरेको हुनु पर्छ ?
औपचारिक शिक्षाको बारेमा केही तोकिएको छैन । जापानी भाषा र केयर गिभरको ज्ञान भए हुन्छ ।
☞के जापानी भाषा पढेको वा केयर गिभरको तालिम लिएको प्रमाण पत्र आवश्यक पर्छ ?
भाषा पढेको , केयर गिभरको तालिम लिएको वा काम गरेको प्रमाण पत्र आवश्यक छैन । जापान सरकारले तोकेको भाषा र सीपसम्बन्धी परीक्षा पास गरे पुग्छ ।
☞के पुरुष ले पनि परीक्षा दिन पाइन्छ ?
महिला पुरुष दुवैले परीक्षा दिन पाइन्छ ।
☞उमेर को हद कति तोकिएको छ ?
परीक्षा दिन १७ वर्ष पुरा भएको हुनु पर्छ ।
☞लागत कत्ति लाग्छ ?
अहिले सम्मको कुरा अनुसार कामदारले परीक्षा शुल्क र जापान जानका लागि टिकटको पैसा तिर्नुपर्ने भन्ने छ तर सबै निर्णय भइसकेको छैन। सरकारी प्रक्रिया भएकोले कम लागतमा जान सकिने छ ।
☞कति वर्ष को भिसा पाइन्छ ?
अधिकतम ५ वर्ष । ४ महिना , ६ महिना वा १ वर्ष मा भिसा नवीकरण गराउनु पर्छ ।
☞के ५ वर्ष पछि आफ्नै देश फर्किन पर्छ ?
५ वर्ष भित्रमा जापानको Certified Care Worker National Qualification (介護福祉士国家試験)को परीक्षा पास गरेमा Nursing Care को भिसामा लामो समय सम्म जापानमा बस्न सकिने छ । अन्यथा ५ वर्ष पछि आफ्नै देश फर्किनु पर्छ ।
☞के यो भिसा लिगेको मान्छेले आफ्नो श्रीमान वा श्रीमतीलाई जापान लैजान पाउँछ ?
पाउँदैन । ५ वर्ष पछि Nursing Care Visa मा परिवर्तन गर्न सक्नु भएमा श्रीमान वा श्रीमती लाई पनि जापान लैजान पाउनु हुने छ ।
☞नेपालमा परीक्षा कसले लिन्छ ?
परीक्षा जापान सरकारकै निकायले लिनेछ भने नेपाल सरकारले सहजीकरण मात्रै गर्नेछ। नेपालमा परीक्षा लिने अनुमति पाएको निकाय जापान फाउण्डेशन हो ।
☞नेपालमा भाषा र सीपसम्बन्धी परीक्षा कहिले हुन्छ ?
नेपालमा हुने परीक्षा 2019 अक्टोबर २७ र २८ तथा नोभेम्बर ५ र ६ तारिख हुने योजना छ ।
☞परीक्षा को लागि आवेदन कहिले बाट खुल्छ ?
परीक्षा हुनु भन्दा १ महिना पहिला आवेदन खुल्ला हुन्छ भनिएको छ ।
☞भाषा र सीपसम्बन्धी के के परीक्षा दिन पर्छ ?
जम्मा ३ वटा परीक्षा दिन पर्छ ।
1. आधारभूत जापानी भाषाको परीक्षा JFT-Basic(国際交流基金日本語基礎テスト)यो परीक्षा 60 मिनेट हुने छ र 60 वटा प्रश्न सोधिनेछ ।★JLPT N4 पास गरेका ले JFT-Basic परीक्षा दिन आवश्यक छैन । JLPT N4 को सर्टिफिकेट JFT-Basic को A2 लेबल बराबर मान्यता हुन्छ । ★
2. केयर गिभर क्षेत्रको जापानी भाषा परीक्षा(介護日本語評価試験)यो परीक्षा 30 मिनेट को हुने छ र 15 वटा
प्रश्न सोधिने छ ।
3. केयर गिभर सम्बन्धी सीप परीक्षा(介護技能評価試験)यो परीक्षा 60 मिनेट को हुने छ र 45 वटा प्रश्न सोधिने छ ।
☞परीक्षा कसरी संचालन हुन्छ र कसरी दिन पर्छ ?
सम्पूर्ण परीक्षा CBT: Computer Based Testing प्रणाली अनुसार हुने छ । तोकिएको परीक्षा केन्द्रमा उपस्थित भएर आवेदन दिँदा प्राप्त भएको ID बाट log in गरेर कम्प्युटर बाट परीक्षा दिनु पर्ने छ ।
INFORMATION SOURCE: MINISTRY OF HEALTH, LABOUR AND WELFARE , JAPAN अनुवाद : REIWA NEPAL- SANTOSH NEUPANE