16/02/2024
१. एनआइसी एशिया बैंकको सेयर मसँग छैन र कुनै लाभ लिएको छैन ।
२. यो बैंकले एउटा वा केही संस्थागत लगानीकर्ताबाट ठूलौ निक्षेप लिएर कारोबार गरेको छैन । सबैभन्दा धेरै शाखा, ग्राहक र बचतकर्ता भएको बैंक हो । २० लाख भन्दा बढी बचतकर्ताको सानो सानो निक्षेप संकलन गरेको छ । कर्जा प्रबाह पनि एउटै कम्पनी वा ब्यक्तिलाई नगरी साना खाले कर्जा प्रबाह ( Diversified) मा जोड दिएको छ, एउटै ब्यक्तिले पाँच करोड भन्दा बढी कर्जा लिएको संख्या निकै थोरै छ । मुद्धती निक्षेप भन्दा बचत रकममा जोड दिएको छ । त्यसैले केही ब्यक्तिले एकैपटक निक्षेप निकाल्दा वा कर्जा नतिर्दा यो बैंक डुब्दैन । यो बैंकले निक्षेपकर्तालाई प्रक्रियागत रुपमा केही समस्या हुनसक्छ तर माग्नेलाई सहज रुपमा निक्षेप फिर्ता दिईरहेको छ र निक्षेप फिर्ता गर्न कुनै समस्या हुने देखिन्न । त्यसमाथि साना कर्जा र निक्षेपको सुरक्षण अर्थात बीमा त गरिएकै छ ।
३. यो बैंकले ठूलो मात्रामा डिबेन्चर बिक्री गरेर बहुबर्षीय स्रोत सुनिश्चित गरेको छ । त्यो फिर्ता गर्न केही बर्ष अरु समय छ ।
४. विशाल समूह जस्तो ब्यापारिक र औधोगिक घरानाको बहुसंख्यक हिस्सेदारी यस बैंकमा छ । त्यो समूहले यो बैंकमा ठूलो बदमासी गरेर निक्षेप तथा कर्जा दुरुपयोग गरेको अहिलेसम्मको प्रमाणबाट देखिएको छैन । त्यसैले त्योे समूहले बैंक डुब्न दिदैन ।
५. यो बैंकले खर्च कटौतिको अभ्यास गर्दै आएको छ, फजुल खर्च गरेर सेयरधनीको पैसा बर्बाद पारेको छैन ।
६. बैंकले धेरै नगद लाभांश बाँडैर पैसा बाहिर जान दिएको छैन, बोनस सेयरमै जोड दिएको छ र चुक्ता पूँजी र पूँजी कोष बलियो बनाउँनमा ध्यान दिएको छ । धेरै हकप्रद सेयर बिक्री गरेर प्रतिसेयर आम्दानी र दोस्रो बजारको सेयरमूल्य अरु बैंक जस्तो खस्कन दिएको छैन, यद्यपी पछिल्लो समय धेरै मूल्य घटेको छ ।
७. यो बैंक राष्ट्र बैंकको गहन निरीक्षण तथा अनुगमनमा छ र ठूलो बदमासी हुन लाग्यो भने तत्कालै राष्ट्र बैंकले कब्जा गर्छ, निक्षेपकर्ता, सेयरधनी वा ऋणी कोही पनि आँत्तिनु आबश्यक छैन । तोकिएको नियम पुरा नगर्दा यस बैंकले प्रस्ताब गरेको लाभांश नै यसअघिका बर्षहरुमा राष्ट्र बैंकले रोकेको सबैलाई थाहा नै होला ।
८. बैंकमाथि धेरै जोखिम छ भन्ने बुझेका प्रमुख कार्यकारीलगायतका कर्मचारीहरुको सक्रिय टोली छ र खतरामा आफुहरु हिडिरहेको छु भन्ने कुरा उनीहरुलाई राम्ररी थाहा छ । हामीहरुले पनि बेला बेलामा सतर्क गराईरहेका छौं ।
९ं बैंकले केही बर्ष अगाडिदेखि आक्रामक बैंकिड. नीति लियो, १३ प्रतिशत भन्दा माथि निक्षेपको ब्याज दिएर बचत आकर्षण गर्यो र महंगोमा डिबेन्चर बिक्री गर्यो, अनेक खाता र कर्जा स्किमहरु ल्यायो, प्रचारबाजीमा करोाडौ खर्च गर्यो त्यो ब्याज र खर्चको भार बोक्नलाई गाह्रो अबश्य परेको हो ।केही बैंकरहरुले एनआईसी एशियाको आक्रामक बैकिड. नीतिले आफुहरुलाई पनि समस्यामा पार्छ कि भन्ने आशंका पहिले नै गरेका पनि थिए । तर त्यसलाई बुझेर बैंकले पछिल्ला दिनहरुमा ब्याज दरमा कमी ल्याउँदै गएको छ ।
१०. बैंकले कर्जा प्रबाहमा समेत आक्रामक भएर ब्यक्तिको कर्जा धारण क्षमता राम्रो विचार नगरी, राम्रोसँग नबुझाई औकातले धान्ने भन्दा बढी नै कर्जा दियो र केही ब्यक्तिहरुले कर्जाको सावाँ ब्याज समयमा भुक्तान गर्न सकेनन् र उनीहरुको सम्पति बैंकले लिलाम गरिदियो वा गैरं बैकिड. सम्पतिको नाममा आफ्नो स्वामित्वमा लियो । त्यस कारणले बैंकप्रति केही ऋणीहरुको धारणा धेरै नकारात्मक बन्न गएको छ ।
११. बैंकको कर्जा असुली नीति निकै कडा छ र तीन महिना वा सो भन्दा बढी कर्जाको सावाँ ब्याज नतिर्ने बित्तिकै सम्पति लिलामी वा गैंर बैकिड. सम्पतिको रुपमा बैंकले सकार्ने क्रम शुरु गरिहाल्छ, जसका कारणले बैंकले लुट्यो भन्ने भाष्य निर्माण हुन्छ । सेयर बजारका लगानीकर्ता छोटेलाल रौनियारलाई यसको राम्रो अनुभुति छ र उनको सेयर बैंकले बेचिदिँदा केही बर्ष पहिले ठुलै हंगामा भएको थियो ।
१२. आक्रामक विस्तारसँगै बैंकमा धेरै नयाँ कर्मचारीहरु आए, विदेशिने क्रम वा कामको भारले पुरानाले छाडे र नयाँहरुले ग्राहकसँग गर्ने ब्यवहारमा केही कमी रहन गयो, कतिपय ठाउँमा कर्मचारीको अदक्षता र रुखो ब्यवहारले ग्राहक र बचतकर्ताहरु असन्तुष्ट देखिएका छन् । कर्मचारीमाथि कामको बढी भारले राम्रो र गुणस्तरीय सेवामा कमी हुन गएको छ । कतिपय ठाउँमा कर्मचारीको बदमासी पनि देखिन्छ ।
१३. बैंकले आफ्ना बचतकर्ता र ऋणीहरुको गुनासो सम्बोधनलाई उच्च प्राथमिकतामा राखेर काम गर्नुपर्ने अति जरुरी छ नत्र अफवाहको भेलले समस्या पार्नसक्छ ।
१४. बैंक नाफामुखी धेरै र सेवामुखी कम हुने प्रबृत्तिमा कमी ल्याई समयको आबश्यकता अनुसार ऋणीहरुलाई सहजीकरण गर्ने र सहुलियत दिने कुरामा पनि उत्तिकै ध्यान दिनुपर्ने आबश्यकता छ ।
१५. धेरै स्थानीय तह र गाउँ गाउँमा शाखा, काउन्टर र सम्पर्क कार्यालयहरु खोलिएकाले शाखा र कर्मचारीको सुरक्षामा ध्यान दिएर स्थानीय जनतासँग सुमधुर सम्बन्ध विकास गर्दै जानुपर्छ । ऋणीहरुले पनि आफुले कबुल गरे अनुसार ऋणको सावाँ ब्याज समयमै भुक्तान गरेर आफ्नो दायित्व पुरा गर्नुपर्छ, कुनै समस्या परे बैंक प्रशासन र राष्ट्र बेंकमा अनुरोध र उजुरी गर्नुपर्छ । बैंकको पैसा निक्षेपकर्ताको नासो हो, बैंकका संचालक, कर्मचारी वा ऋणीको बपौति हैन, समयमा निक्षेपकर्तालाई फिर्ता गर्न सकिएन भने समस्या पर्छ । ऋणीले ऋणको सावाँ ब्याज तिरेन भने निक्षेपकर्तालाई कहाँबाट सावाँ र ब्याज दिने ?
समग्रमा भन्दा बैंकको एनआईसी एशिया बैंंक डुब्दैैन तर सुधारका कामहरु गर्नुपर्ने पनि उत्तिकै आबश्यकता छ ।
१६. एनआईसी एशिया मात्रै हैन, नेपालका सबै बाणिज्य बैंक, बिकास बैंक र फाईनान्सहरु सुरक्षित नै छन् र उनीहरु कुनै पनि तत्काल डुब्ने संभावना छैन किनभने राष्ट्र बैंकले गहन रुपमा नियमन र अनुगमन गरिरहेको छ, बदमासी भयो भयो भने तत्काल नियन्त्रणमा लिईहाल्छ । संचालक वा कर्मचारी वा ऋणी कोही पनि भाग्न पाउँदैनन् । त्यसैले कुनै पनि अफवाहको पछि नलागौं ।
समग्रमा भन्दा एनआईसी एशिया बैंंक डुब्दैैन तर सुधारका कामहरु गर्नुपर्ने पनि उत्तिकै आबश्यकता छ ।
बैंक तथा बीमा कम्पनीहरु भनेका संबेदनशील क्षेत्र हुन्, यिनीहरुका बारेमा बोल्दा वा लेख्दा निकै विचार गर्नुपर्छ । लाखौं जनता र देशको अर्थतन्त्रको सम्बन्ध अविभिाजित रुपमा जोडिएको हुन्छ, अर्थतन्त्रको आधार नै यही हुन्छ । अफवाह फैलाउनेलाई तत्काल नियन्त्रणमा लिन सकिएन भने अराजकता ल्याउँछ । सरकारको प्रभावकारी कदम अपेक्षित छ र नागरिक पनि उत्तिकै जिम्मेवार र सतर्क हुनुपर्छ ।