22/07/2026
शिक्षकहरूको शिक्षण सिकाइमा कृत्रिम बुद्धिमत्ताको प्रयोग विषयक कार्यशाला सम्पन्न ।
आज मिति २०८३ श्रावण ६ गते बुधबारका दिन सीतारमेश बहुमुखी क्याम्पस बुद्धशान्ति एक झापाका सहायक क्याम्पस प्रमुख श्री नरेन्द्र बराल, विभागीय प्रमुख श्री नवराज कोइराला, विभागीय प्रमुख श्री शेखर ढुङ्गाना र आर एम सी प्रमुख श्री दुर्गा रेग्मी ज्यूहरूबाट यस विद्यालयका शिक्षक तथा कर्मचारीहरूलाई शिक्षण सिकाईलाई प्रभावकारी बनाउने उद्देश्यले "सिकाइमा कृत्रिम बुद्धिमत्ता (AI) को प्रयोग," सम्बन्धी एक दिने कार्यशाला सञ्चालन सम्पन्न भएको छ। जसबाट विद्यालयका शिक्षक कर्मचारी परिवारलाई शिक्षण सिकाईका लागि महत्त्वपूर्ण AI tool हरू कसरी प्रयोग गर्ने भन्ने जानकारी प्रयोगात्मक रूपबाट मिलेको छ । कक्षा कोठामा पनि यी सिकाइहरूलाई प्रयोग गरी विद्यार्थीहरूको सिकाई वृद्धि गर्न सहयोग मिल्नेछ।
उक्त कार्यशाला सञ्चालन गर्न सहयोग पुर्याउनुहुने सीता रमेश बहुमुखी क्याम्पस प्रति विद्यालय परिवार आभार व्यक्त गर्दै सहजीकरण गर्नुहुने आदरणीय प्राध्यापकज्यूहरूप्रति प्रति हार्दिक आभार व्यक्त गर्दछ ।
उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक श्री पूर्णबहादुर राई ज्यूद्वारा क्याम्पस परिवारप्रति आभार व्यक्त साथै एक आपसको सहकार्य निरन्तर रहिरहने प्रतिबद्धता जाहेर गर्दै सिताराम बहुमुखी क्याम्पस परिवारलाई प्रमाणपत्र कथा सहजकर्ता प्राध्यापक ज्यूहरूलाई मायाको चिनो प्रदान गरियो ।
22/07/2026
विदा सम्बन्धी सूचना ।
विद्यालयको वार्षिक कार्यतालिका अनुसार भोलि मिति २०८३ श्रावण ७ गतेदेखि २६ गतेसम्म बर्खे बिदा हुने र मिति २०८३ श्रावण २७ गतेदेखि विद्यालयको पठनपाठन नियमित रूपमा सञ्चालन हुने जानकारी सम्पूर्ण शिक्षक, कर्मचारी,विद्यार्थी वर्ग, अभिभावकज्यूहरूमा गराउँदै उक्त विदाको समयमा आफ्नो पठनपाठनलाई घरमै बसेर भएपनि नियमित बनाउन र त्यसका लागि आवश्यक वातावरण तयार गरिदिनु हुन सम्पूर्ण अभिभावक ज्यूहरूमा सादर अनुरोध छ ।
21/07/2026
श्रद्धेय डा. टिका भण्डारी ज्यूलाई विद्यालयद्वारा सम्मान तथा कदरपत्र प्रदान गरियो।
मिति २०८३ श्रावण ४ गते सोमबार यस विद्यालयका पूर्व विद्यार्थी तथा नेपाली साङ्गीतिक क्षेत्रमा विशिष्ट योगदान पुर्याउनुहुने वरिष्ठ संगीतकार श्रद्धेय डा.टिका भण्डारी ज्यूद्वारा यस विद्यालयमा अध्ययनरत उत्कृष्ट जेहनदार छात्रछात्राहरूको शिक्षण सिकाइ सहजीकरणका साथसाथै सिकाइमा उत्प्रेरणा जगाउन विगत १० वर्षदेखि वार्षिक रु. ५००० का दरले आफ्ना स्वर्गीय मातापिता भेषराज-जानुका भण्डारीको स्मृतिमा छात्रवृत्ति प्रदान गर्दै आउनु भएकोमा विद्यालय परिवार डा. टिका भण्डारी प्रति हार्दिक सम्मान अर्पण गर्दछ।
उक्त छात्रवृत्ति योजनालाई प्रभावकारी बनाउन डा टिका भण्डारीज्यूबाट रु १००००० अक्षरपी रुपैयाँ एक लाख विद्यालयलाई हस्तान्तरण गर्नु भएको छ। उहाँका यही सहयोग हातहरू प्रति हार्दिक सम्मान गर्दै विद्यालय परिवारको तर्फबाट एक कार्यक्रमको आयोजना गरी विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्री हरिप्रसाद तिम्सिना, प्रधानाध्यापक श्री पूर्णबहादुर राई, सामाजिक अभियन्ता तथा पूर्व विद्यार्थी चन्द्र भण्डारी ज्यू हरूबाट कदरपत्र सहित सम्मान गरियो ।
उक्त कार्यक्रममा आफ्ना केही भनाइहरू प्रस्तुत गर्दै आफ्नो नामबाट पनि विद्यालयका लागि केही सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्दै केही गीतहरू गाएर कार्यक्रम थप मनोरञ्जनात्मक बनाउनुभएको थियो ।
श्रद्धेय डा टिका भण्डारी ज्यूको भावी जीवन सुखमय बितोस् सामाजिक तथा सांगीतिक क्षेत्रमा अझ थप उचाइ मिलोस् भन्ने कामना गर्दछौं।
03/07/2026
हाजिरी जवाफ तथा सारांश लेखन प्रतियोगिता सम्पन्न ।
आज मिति २०८३ असार १९ गते शुक्रबार विद्यालयको वार्षिक कार्यतालिका अनुसार कक्षा १ देखि ५ हाजिर जवाफ प्रतियोगिता, कक्षा ६ -१० कक्षागत रूपमा सारांश लेखन प्रतियोगिता सम्पन्न भयो । कार्यक्रम सम्पन्न गर्न तोकिएको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्नुभएकोमा सम्पूर्ण शिक्षकज्यूहरूमा विद्यालय परिवार हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।
29/06/2026
एस.एल.सी. ब्याच २०६९ द्वारा विद्यालयलाई सिसि क्यामेरा प्राप्त । साथै बाल क्लबद्वारा भित्ते पत्रिका प्रकाशन ।
यस विद्यालयबाट विक्रम सम्वत २०६९ सालमा एसएलसी परीक्षामा सम्मिलित पूर्व विद्यार्थीहरूले यस विद्यालयको भौतिक सुरक्षा तथा शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन रु ३४,८९० बराबरको सिसी क्यामेरा, जक्सन बोर्ड लगायतका सामग्री उक्त ब्याचका सदस्य तथा यस विद्यालयका शिक्षक श्री रविन्द्रनाथ आचार्य को नेतृत्वमा विद्यालयलाई हस्तान्तरण गर्नुभएकोमा विद्यालय परिवार उच्च मूल्याङ्कन का साथ यहाँहरूको सहयोगी हातहरुप्रति हार्दिक सम्मान व्यक्त गर्दछ।
आज मिति २०८३ असार १५ गते एसएलसी ब्याच २०६९ लाई प्रतिनिधिमूलक रूपमा सम्मान तथा सम्मानपत्र विद्यालयका प्रधानाध्यापक श्री पूर्णबहादुर राईज्यूद्वारा प्रदान गरियो ।
साथै आजकै दिन २०८३ असार १५ गते शान्ति आदर्श बाल क्लब का संरक्षक शिक्षक श्री नारायण अधिकारी ज्यूको नेतृत्वमा क्लबका अध्यक्ष श्री उमेश विश्वकर्मा र कोषाध्यक्ष श्री सुमित तिम्सिना द्वारा भित्ते पत्रिका सार्वजनिक गरियो । क्लबका सम्पूर्ण पदाधिकारीहरूलाई हार्दिक धन्यवाद ।
26/06/2026
आज मिति २०८३ असार १२ गते शुक्रबार श्री शान्तिनगर सामुदायिक अध्ययन केन्द्रद्वारा कक्षा बाल विकासदेखि कक्षा ५ सम्मका नानीबाबुहरूका आमाहरुलाई लक्षित गरिएको सञ्चालित एक दिने मानसिक स्वास्थ्य तथा मनो सामाजिक सुस्वास्थ्य सम्बन्धी सचेतनामूलक कार्यक्रम संस्थाका सचिव श्री योगेन्द्र चम्लगाईले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा बुद्धशान्ति गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष श्री शिवराज पौडेल ज्यूले अध्यक्षता गर्नुभएको थियो । त्यसैगरी विद्यालयका प्रधानाध्यापक श्री पूर्णबहादुर राईज्यूले सचेतनामूलक कार्यक्रम विद्यालयमा प्रदान गर्नु भएकोमा संस्थाप्रति आभार व्यक्त गर्नुभएको थियो भने कार्यक्रमका प्रमुख अतिथि विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्री हरिप्रसाद तिम्सिना ज्यूबाट संस्थाको निःशुल्क सेवाप्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभएको थियो।
नानीबाबुहरूको सामाजिक सञ्जाल प्रयोग र त्यसले पार्ने असर को बारेमा मनोविद श्री साधना निरौला ज्यूद्वारा प्रशिक्षण प्रदान गर्नुभएको थियो । उपस्थित सम्पूर्ण नानीबाबुहरूका आमा तथा अभिभागज्यूहरूप्रति विद्यालय परिवार आभार व्यक्त गर्दछ ।
उक्त कार्यक्रमका साथसाथै कक्षा बाल विकासका नानीबाबुहरूका आमाहरूको भेला समेत सम्पन्न गरी लक्षित समूह कक्षा १-५ छात्राहरू तथा दलित विद्यार्थीहरू, सीमान्तकृत (लाप्चा) तथा अपाङ्गता छात्रवृत्ति समेत अभिभावकज्यूहरूलाई हस्तान्तरण गरियो ।
अतिरिक्त क्रियाकलाप अन्तर्गत आज विद्यालयमा सुपारीरोपण तथा विद्यालय हाता सरसफाई, फूलबारी गोडमेल को कार्यक्रम सम्पूर्ण शिक्षक विद्यार्थीहरू सहभागी भई सम्पन्न गरियो।
26/06/2026
शिक्षक तथा कर्मचारी सँगको कार्यसम्पादन करार सम्झौता सम्पन्न ।
मिति २०८३ असार ११ गते बिहीबार यस विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्री हरिप्रसाद तिम्सिनाज्यूको रोहवरमा प्रधानध्यापक श्री पूर्णबहादुर राई ज्यूद्वारा शैक्षिक वर्ष २०८३ का लागि सबै शिक्षक तथा कर्मचारी हरूसँग आआफ्नो जिम्मेवारी अनुसारको कार्य सम्पादन करार सम्झौता गर्ने कार्य सम्पन्न भएको छ। प्रत्येक शिक्षक तथा कर्मचारी ज्यूहरूले विद्यालयका प्रधानाध्यापक सँग गर्नुभएको करार सम्झौता अनुसार शैक्षिक तथा विद्यालयका विविध पक्ष सँग सम्बन्धित लक्ष्यअनुसारका उपलब्धि हासिल हुने कुरामा पूर्ण विश्वास राख्दै प्राध्यापक ज्यूले धन्यवाद सहित कार्यक्रम समापन गर्नुभयो ।
22/06/2026
हस्तलेखन प्रतियोगिताको नतिजा प्रकाशन साथै पुरस्कार वितरण कार्यक्रम सम्पन्न ।
मिति २०८३ असार ५ गते शुक्रबार विद्यालयको कार्यतालिका अनुसार नेपाली विषयको हस्तलेखन, तथा अङ्ग्रेजी विषयको handwriting प्रतियोगितामा कक्षागत रूपमा सर्वोत्कृष्ट हुने विद्यार्थीलाई आज मिति २०८३ असार ८ गते पुरस्कृत गरियो ।
पुरस्कृत भाइबहिनीहरूलाई हार्दिक बधाई तथा शुभकामना सहित सहभागी सम्पूर्ण विद्यार्थीहरूलाई आगामी दिनमा सफलता मिलोस् ।