20/08/2026
सन्तान बिग्रिँदा दोष कसलाई दिने?
आजकल धेरै अभिभावकको गुनासो सुनिन्छ, “विद्यालयले छोराछोरीलाई संस्कार र अनुशासन सिकाएन। उनीहरू हामीले भनेको मान्दैनन्। घरमा पढ्न बस्दैनन्। बाबुआमासँग झर्किन्छन्, विवाद गर्छन्। मोबाइल छोड्दैनन्। सानो कुरामा रिसाउँछन्। मेहनत गर्न चाहँदैनन् र आफ्नो जिम्मेवारी पूरा गर्दैनन्।”
कतिपय अभिभावकको अर्को गुनासो छ, “हामीले छोराछोरीका लागि यति धेरै दुःख गरेका छौँ, तर उनीहरूले हाम्रो दुःख बुझ्दैनन्।”
यी गुनासाहरू सुन्दा स्वाभाविक रूपमा प्रश्न उठ्छ, के यी सबै समस्याका लागि विद्यालय मात्र जिम्मेवार छ?
हामी नेपालीहरूको आफ्नै संस्कार छ। हामीले बाबुआमालाई भगवान्सरह सम्मान गर्ने, गुरुजनको आदर गर्ने र ठूलाले दिएको सल्लाह तथा निर्देशनलाई महत्त्व दिने परम्परा पाएका छौँ। तर संस्कार विद्यालयमा पढाएर मात्र स्थापित हुँदैन; संस्कारको पहिलो पाठशाला घर हो र पहिलो शिक्षक आमाबुबा हुन्।
त्यसैले आज हामीले अरूलाई दोष लगाउनुअघि आफैँतिर पनि फर्केर हेर्न आवश्यक छ।
हाम्रो एउटा ठूलो कमजोरी के भएको छ भने हामी आफ्ना छोराछोरीलाई अत्यधिक माया गर्छौँ, तर उनीहरूलाई जीवनका कठिनाइहरूसँग परिचित गराउँदैनौँ। हामी दिनभरि काम गर्छौँ, घरका सबै काम आफैँ गर्छौँ र उनीहरूलाई कुनै दुःख नहोस् भनेर सबै कुरा आफैँ मिलाइदिन्छौँ। उनीहरूले माग्नुअघि नै आवश्यक कुरा पूरा गरिदिन्छौँ। घरको काममा सहभागी गराउँदैनौँ। जिम्मेवारी दिँदैनौँ। उनीहरूलाई दुःख नहोस् भन्ने हाम्रो मायाले उनीहरूलाई दुःख सहन नसक्ने बनाइरहेको त छैन?
दुःख नदेखेको बच्चाले दुःख सहन सिक्दैन। संघर्ष नदेखेको बच्चाले संघर्षसँग जुध्न सिक्दैन। हरेक समस्या अभिभावकले समाधान गरिदिएको बच्चाले आफ्नै समस्या समाधान गर्ने आत्मविश्वास विकास गर्न सक्दैन।
हामीले छोराछोरीलाई बारम्बार भनिरहेका हुन्छौँ, “पढ, पढ, पढ।” तर उनीहरूलाई पढ्ने वातावरण, समय व्यवस्थापन र जिम्मेवारीको अभ्यास कति दिएका छौँ? हामी उनीहरूको परीक्षा र नतिजाको चिन्ता गर्छौँ, तर उनीहरूले घरमा सानो जिम्मेवारी पूरा गरे कि गरेनन् भन्ने कुरामा कति ध्यान दिन्छौँ?
हामी उनीहरूलाई महँगो मोबाइल दिन्छौँ, इन्टरनेट दिन्छौँ, बाइक दिन्छौँ, पैसा दिन्छौँ, तर त्यसको मूल्य बुझ्ने संस्कार र जिम्मेवारी कति सिकाउँछौँ?
जीवन सधैँ हामीले चाहेजस्तो हुँदैन। परीक्षा बिग्रिन सक्छ, प्रेममा असफलता आउन सक्छ, जागिर नपाइन सक्छ, व्यापारमा घाटा हुन सक्छ, साथीले धोका दिन सक्छ, मानिसले आलोचना गर्न सक्छ। यदि बाल्यकालदेखि नै हामीले उनीहरूलाई सानो सानो जिम्मेवारी, अनुशासन, असफलता र कठिनाइसँग सामना गर्न सिकाएका छैनौँ भने सामान्य समस्या पनि उनीहरूलाई असह्य पहाडजस्तो लाग्न सक्छ।
त्यसैले कुनै सन्तान गलत बाटोमा लाग्यो भने “हाम्रो बच्चा नै खराब रहेछ” वा “विद्यालयले केही सिकाएन” भनेर मात्र दोष दिनुभन्दा पहिले हामीले पनि ऐनामा आफ्नो अनुहार हेर्नुपर्छ।
हामीले उसलाई समय दियौँ कि पैसा दियौँ?
उसलाई जिम्मेवारी सिकायौँ कि सुविधा मात्र दियौँ?
असफल हुँदा हौसला दियौँ कि अरूसँग तुलना गर्यौँ?
उसले गल्ती गर्दा सम्झायौँ कि अपमान गर्यौँ?
उसलाई समस्या समाधान गर्न सिकायौँ कि हरेक समस्या आफैँ समाधान गरिदियौँ?
सन्तानलाई राम्रो भविष्य दिनु भनेको उसको बाटोमा भएका सबै ढुङ्गा हटाइदिनु होइन; ती ढुङ्गा पार गरेर हिँड्न सक्ने खुट्टा बलियो बनाउनु हो।
विद्यालयले ज्ञान दिन्छ, अनुशासन सिकाउँछ, संस्कारलाई बलियो बनाउन सहयोग गर्छ; तर घरले विद्यालयको शिक्षालाई निरन्तरता नदिएसम्म त्यसको प्रभाव पूर्ण हुन सक्दैन।
यदि विद्यालयले “जिम्मेवार बन” भन्छ तर घरमा उसको सबै काम आमाबुबाले नै गरिदिन्छन् भने उसले जिम्मेवारी कहाँबाट सिक्छ?
यदि विद्यालयले “मोबाइल कम प्रयोग गर” भन्छ तर घरमा अभिभावक स्वयं घण्टौँ मोबाइलमै व्यस्त हुन्छन् भने बच्चाले कसको अनुकरण गर्छ?
यदि विद्यालयले “ठूलालाई सम्मान गर” भन्छ तर घरमै बच्चाको अगाडि अभिभावकले शिक्षक, आफन्त वा अन्य व्यक्तिको अपमान गर्छन् भने उसले सम्मानको संस्कार कसरी सिक्छ?
त्यसैले बच्चालाई उपदेशभन्दा उदाहरण ठूलो हुन्छ।
हामीले छोराछोरीलाई सम्पत्ति मात्र होइन, संस्कार, जिम्मेवारी, आत्मनिर्भरता, धैर्य र संघर्ष गर्ने क्षमता पनि दिनुपर्छ। उनीहरूलाई घरका साना काम गर्न दिनुपर्छ। आफ्नो सामान आफैँ मिलाउन, समयको मूल्य बुझ्न, मेहनत गर्न, असफलता स्वीकार गर्न र फेरि उठ्न सिकाउनुपर्छ।
अझ महत्त्वपूर्ण कुरा, सन्तानले गल्ती गर्दा उसको हात छोड्नु हुँदैन। गल्तीलाई समर्थन गर्नु हुँदैन। अनुशासन चाहिन्छ। नियन्त्रण चाहिन्छl निर्देशन चाहिन्छ, तर संवाद पनि चाहिन्छ।
उनीहरूलाई ठूलो घर दिनुभन्दा पहिले बलियो मन दिनौँ।
महँगो मोबाइल दिनुभन्दा पहिले राम्रो संस्कार दिनौँ।
सुविधा दिनुभन्दा पहिले जिम्मेवारी दिनौँ।
सफलताको सपना देखाउनुभन्दा पहिले असफलतासँग जुध्न सिकाऔँ।
र सबैभन्दा ठूलो कुरा—उनीहरूलाई यस्तो परिवार दिऔँ, जहाँ समस्या पर्दा उनीहरू संसारबाट भाग्न होइन, आफ्ना आमाबुबाको काखमा फर्किन सकून्।
किनकि सन्तान हाम्रो सम्पत्ति होइनन्; उनीहरू हाम्रो जिम्मेवारी हुन्।
विद्यालयले उनीहरूको भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्छ, तर घरले त्यसको आधार तयार गर्छ।
त्यसैले सन्तानलाई दोष दिनुअघि, विद्यालयलाई दोष दिनुअघि, समाजलाई दोष दिनुअघि एकपटक आफैँलाई सोधौँ
“हामीले आफ्ना सन्तानलाई जीवन बाँच्न सिकायौँ कि जीवन सजिलो बनाउन मात्र सिकायौँ?”
सायद यही प्रश्नको इमानदार उत्तरबाट एउटा राम्रो परिवार, राम्रो विद्यालय, राम्रो समाज र बलियो पुस्ताको सुरुवात हुनेछ।
धन्यवादl
17/08/2026
08/08/2026
29/07/2026
23/07/2026