22/03/2026
हार्दिक धन्यबाद बिराट नगर आखा अस्पताललाइ यस बिध्यालयमा अध्यनरत सम्पुर्न बिध्याथिहरुको निशुल्क आखा तथा कान जाच गरि आवस्यकताको आधारमा निशुल्क चस्मा समेत उपलब्ध गराइदिनु भयकोमा हाम्रो बिध्यालय परिवार हार्दिक आभार प्रकट गर्दछ॥
21/02/2026
धरानमा बाह्रौँ संस्करण ‘युनाइटेड गोर्खा एकेडेमी भलिबल कप–२०८२’ भव्य रूपमा सम्पन्न
धरान–१५ स्थित युनाइटेड गोर्खा एकेडेमी को आयोजनामा सम्पन्न बाह्रौँ संस्करण ‘युनाइटेड गोर्खा एकेडेमी भलिबल कप–२०८२’ भव्य समापनका साथ सम्पन्न भएको छ। मिति २०८२ साल फागुन ०९ गते आयोजित समापन कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री नारायण प्रसाद राई सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो भने प्रमुख अतिथिका रूपमा नरेस कुमार इवाराम (धरान उपमहानगरपालिका वडा नं. १५ का वडा अध्यक्ष) को उपस्थिति रहेको थियो। कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधि, समाजसेवी, विद्यालयका प्रतिनिधि तथा आमन्त्रित अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको औचित्य तथा स्वागत मन्तव्य विद्यालयका प्राचार्य पेम्बा शेर्पाले व्यक्त गर्नुभएको थियो। सभापतिबाट प्रमुख अतिथिलाई मायाको चिनो प्रदान गरिएको थियो भने प्रमुख अतिथिले खेलकुदले विद्यार्थीमा अनुशासन, नेतृत्व विकास र सहकार्यको भावना अभिवृद्धि गर्ने उल्लेख गर्दै आयोजक विद्यालयलाई धन्यवाद व्यक्त गर्नुभयो।
निर्धारित समयमै रेफ्रीमार्फत खेल सञ्चालन गरिएको उक्त प्रतियोगितामा छात्र र छात्रा दुवैतर्फ प्रतिस्पर्धात्मक खेलहरू सम्पन्न भएका थिए।
छात्रतर्फको फाइनल नतिजा
फाइनल खेलमा हाम्रो ई. बोर्डिङ स्कुल, इटहरी र तरहरा मोडेल एकेडेमी, तरहराबीच कडा प्रतिस्पर्धा भएको थियो। पाँच सेटसम्म चलेको प्रतिस्पर्धामा हाम्रो ई. बोर्डिङ स्कुल, इटहरीले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गर्यो भने तरहरा मोडेल एकेडेमी दोस्रो स्थानमा सीमित भयो।
तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा बाल विकास ई. बो. पकली विजयी हुँदै तेस्रो हुन सफल भयो।
छात्रतर्फ पुरस्कार विवरण
प्रथम पुरस्कार: नगद रु २५,०००, ट्रफी, मेडल र प्रमाणपत्र
दोस्रो पुरस्कार: नगद रु २०,०००, ट्रफी, मेडल र प्रमाणपत्र
तेस्रो पुरस्कार: नगद रु १५,०००, ट्रफी, मेडल र प्रमाणपत्र
छात्रतर्फ विधागत पुरस्कार
बेस्ट सेटर: राजिव खड्का (हाम्रो ई. बोर्डिङ स्कुल, इटहरी)
बेस्ट डिफेन्स: निश्चन बन (तरहरा मोडेल एकेडेमी)
बेस्ट स्पाइकर: मिलन कार्की (तरहरा मोडेल एकेडेमी)
बेस्ट प्लेयर: बेखम श्रेष्ठ (हाम्रो ई. बोर्डिङ स्कुल, इटहरी)
विधागत विजेताहरूलाई नगद रु १,२०० सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो।
छात्रातर्फको फाइनल नतिजा
छात्रातर्फ डिपोट उच्च मा.वि., धरान र हाम्रो ई. बोर्डिङ स्कुल, इटहरीबीच प्रतिस्पर्धा भएको थियो। उत्कृष्ट समन्वय र प्रदर्शनका साथ डिपोट उच्च मा.वि., धरानले प्रथम स्थान हासिल गर्यो भने हाम्रो ई. बोर्डिङ स्कुल, इटहरी दोस्रो स्थानमा रह्यो।
तेस्रो स्थानका लागि भएको खेलमा धरान आदर्श, धरान विजयी हुँदै तेस्रो स्थान प्राप्त गर्न सफल भयो।
छात्रातर्फ पुरस्कार विवरण
प्रथम पुरस्कार: नगद रु २५,०००, ट्रफी, मेडल र प्रमाणपत्र
दोस्रो पुरस्कार: नगद रु २०,०००, ट्रफी, मेडल र प्रमाणपत्र
तेस्रो पुरस्कार: नगद रु १५,०००, ट्रफी, मेडल र प्रमाणपत्र
छात्रातर्फ विधागत पुरस्कार
बेस्ट सेटर: निनामहाङमा राई (डिपोट उच्च मा.वि.)
बेस्ट डिफेन्स: लिलि लिम्बु (हाम्रो ई. बोर्डिङ स्कुल)
बेस्ट स्पाइकर: आयुसा राई (हाम्रो ई. बोर्डिङ स्कुल)
बेस्ट प्लेयर: पेमा तामाङ (डिपोट उच्च मा.वि.)
पुरस्कार तथा प्रशंसा पत्र वितरण
कार्यक्रममा स्वयंसेवकको भूमिका निर्वाह गरेका युनाइटेड गोर्खा एकेडेमी स्काउट ट्रुपका स्काउट सदस्यहरूलाई प्राचार्य पेम्बा शेर्पाबाट प्रशंसा पत्र वितरण गरिएको थियो। साथै रोभर रेन्जर गंगा तामाङलाई विशेष सहयोगीको रूपमा सम्मान गरिएको थियो।
खेल सञ्चालन तथा निर्णायक भूमिका निर्वाह गर्ने अफिसियल टिमलाई विद्यालयका निर्देशक तथा सञ्चालक श्याम कुमार राईद्वारा प्रशंसा पत्र प्रदान गरिएको थियो।
छात्रातर्फ प्रथम पुरस्कार स्पोन्सर लक्ष्मी राईबाट, दोस्रो पुरस्कार त्रिबेणी महिला समूहकी उपाध्यक्ष फुटि शेर्पाबाट र तेस्रो पुरस्कार पिण्डेश्वर टोल विकास संस्थाका अध्यक्ष दिपक दुमी राईबाट वितरण गरिएको थियो।
छात्रतर्फ प्रथम पुरस्कार न्यु मनकामना बुक एन्ड स्टेशनरीका प्रो. राजन बस्नेतबाट, दोस्रो पुरस्कार नमुना श्रूति मार्ग टोल विकास संस्थाका अध्यक्ष डाकमान राईबाट र तेस्रो पुरस्कार अरनिको टोल विकास संस्थाका अध्यक्ष पूर्णबहादुर गुरुङबाट वितरण गरिएको थियो।
विधागत पुरस्कार छात्रातर्फ सभापति श्री नारायण प्रसाद राईबाट तथा छात्रतर्फ सहप्राचार्य सन्तोष पोख्रेलबाट वितरण गरिएको थियो।
कार्यक्रम समापन
कार्यक्रमको अन्त्यमा सभापति श्री नारायण प्रसाद राईले सम्पूर्ण सहभागी विद्यालय, खेलाडी, प्रशिक्षक, निर्णायक, प्रायोजक तथा सहयोगीहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी तेह्रौँ संस्करणमा अझ भव्य रूपमा पुनः भेट्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
यसरी खेलकुदमार्फत विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गराउँदै अनुशासन, सहकार्य र प्रतिस्पर्धात्मक भावना विकास गर्ने उद्देश्यले आयोजना गरिएको बाह्रौँ संस्करण ‘युनाइटेड गोर्खा एकेडेमी भलिबल कप–२०८२’ सफलतापूर्वक सम्पन्न भएको छ।
20/02/2026
सेमिफाइनल समिकरण पूरा, भोलि फाइनल र समापन समारोह
बाह्रौं संस्करण युनाइटेड गोर्खा एकेडेमी भलिबल कप–२०८२
धरान, २०८२ फागुन ८ — बाह्रौं संस्करण युनाइटेड गोर्खा एकेडेमी भलिबल कप–२०८२ अन्तर्गत छात्र तथा छात्रातर्फका सेमिफाइनल खेलहरू सम्पन्न भएसँगै फाइनल समिकरण पूरा भएको छ। साथै दुवै विधामा तेस्रो स्थानका लागि खेल र भोलि हुने फाइनल तथा समापन कार्यक्रमको तयारी पूरा भएको आयोजकले जनाएको छ।
👦 छात्रतर्फ
छात्रतर्फको पहिलो सेमिफाइनलमा तराहरा मोडेल एकेडेमी, तरहरा ले आयोजक ए, धरानलाई २५–१७ र २५–२१ को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गर्यो।
दोस्रो सेमिफाइनलमा हाम्रो ई. बोर्डिङ स्कुल, इटहरी ले बाल विकास ई. बो. स्कुल, इटहरीलाई २५–२१ र २५–१६ ले हराउँदै उपाधि नजिक पुगेको छ।
🏆 छात्र फाइनल समिकरण:
तराहरा मोडेल एकेडेमी, तरहरा
🆚
हाम्रो ई. बोर्डिङ स्कुल, इटहरी
🥉 तेस्रो स्थानका लागि (छात्र)
भोलि बिहान १० बजे
बाल विकास ई. बो. स्कुल, इटहरी
🆚
आयोजक ए, धरान
👧 छात्रातर्फ
छात्रातर्फ प्रारम्भिक चरणका खेलहरू प्रतिस्पर्धात्मक बने। धरान आदर्श, धरानले ज्ञान दर्पन एकेडेमी, तरहरालाई २५–१४, २३–२५ र २५–२० ले हरायो। सेक्रेट हर्ट, इटहरीले समिट उच्च मा.वि., धरानलाई २५–१७ र २५–१९ ले पराजित गर्यो भने हाम्रो ई. बोर्डिङ स्कुल, इटहरीले आइडियल ई. बो. स्कुल, धरानलाई २५–५ र २५–१५ ले हराउँदै सेमिफाइनल यात्रा तय गर्यो।
सेमिफाइनलमा हाम्रो इ. बो. स्कुल, इटहरीले सेक्रेट हर्ट, इटहरीलाई २५–३ र २५–२० ले पराजित गर्दै फाइनलमा प्रवेश गर्यो। अर्को खेलमा डिपोट उच्च मा.वि., धरानले धरान आदर्श, धरानलाई २५–१६ र २५–८ ले हराउँदै उपाधि यात्रा सुरक्षित गर्यो।
🏆 छात्रा फाइनल समिकरण:
हाम्रो इ. बो. स्कुल, इटहरी
🆚
डिपोट उच्च मा.वि., धरान
🥉 तेस्रो स्थानका लागि (छात्रा)
भोलि बिहान ९ बजे
सेक्रेट हर्ट, इटहरी
🆚
धरान आदर्श, धरान
🎉 समापन तथा फाइनल कार्यक्रम
प्रतियोगिताको फाइनल तथा समापन कार्यक्रम भोलि मिति २०८२ फागुन ९ गते बिहान ११:३० बजे सुरु हुने आयोजकले जनाएको छ।
समापन समारोहमा धरान उपमहानगरपालिका वडा नं. १५ का वडा अध्यक्ष श्री नरेश कुमार इवाराम प्रमुख अतिथिका रूपमा उपस्थित रहनेछन्। कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री नारायण प्रसाद राईको सभापतित्वमा सम्पन्न हुनेछ। साथै विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको समेत उल्लेखनीय उपस्थिति रहने जनाइएको छ।
दुवै विधाको फाइनल खेल प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अपेक्षा गरिएको छ। खेलप्रेमी तथा अभिभावकहरूमा फाइनल खेलप्रति उत्साह बढेको छ।
19/02/2026
मिति २०८२ साल फाल्गुन ७ गते जारी १२औँ संस्करणको युनाइटेड गोर्खा एकेडेमी भलिबल कप अन्तर्गत छात्रतर्फका खेलहरू अत्यन्त प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेका छन्। आज सम्पन्न खेलहरूबाट विभिन्न विद्यालयहरूले उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन्।
पहिलो खेलमा सयपत्री इ. बो. स्कुल इटहरी र सेक्रेट हार्ट स्कुल इटहरी बीच भएको प्रतिस्पर्धामा सयपत्री इ. बो. स्कुलले २५–९ र २६–२४ को सोझो सेटमा जित हासिल गर्दै अर्को चरणमा प्रवेश गरेको छ। पहिलो सेटमा एकतर्फी दबाब बनाएको सयपत्रीले दोस्रो सेटमा कडा चुनौती सामना गरे पनि संयमित खेल प्रस्तुत गर्दै विजय सुनिश्चित गर्यो।
दोस्रो खेलमा आयोजक ‘ए’ टिम र धरान मेघा हिमालय स्कुल धरान बीच भएको खेलमा आयोजक ‘ए’ ले २४–१४ र २५–५ को स्कोर गर्दै प्रभावशाली जित निकाल्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्यो।
त्यसैगरी अर्को प्रतिस्पर्धामा हाम्रो बोर्डिङ स्कुल इटहरी र सयपत्री इ. बो. स्कुलबीच कडा प्रतिस्पर्धा भएको थियो। तीन सेटसम्म चलेको उक्त खेलमा हाम्रो बोर्डिङ स्कुलले २५–२०, २३–२५ र २५–१७ को स्कोर गर्दै निर्णायक जित हात पार्दै सेमिफाइनल प्रवेश गरेको छ।
यसै क्रममा बाल विकास इ. बोर्डिङ स्कुल इटहरी र समिट उच्च मा.वि. धरान बीच भएको खेलमा बाल विकास इ. बोर्डिङ स्कुलले २५–१८ र २५–१८ को सोझो सेटमा विजय हासिल गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।
खेल उद्घाटनकै दिन भएको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै तराहरा मोडेल एकेडेमी ले पनि जित दर्ता गरी सेमिफाइनलमा प्रवेश गरिसकेको आयोजकले जनाएको छ।
आजका खेलबाट आयोजक ‘ए’, हाम्रो बोर्डिङ स्कुल इटहरी, बाल विकास इ. बोर्डिङ स्कुल इटहरी र तराहरा मोडेल एकेडेमी सेमिफाइनलमा प्रवेश गर्न सफल भएका छन्। प्रतियोगितालाई निरन्तरता दिँदै भोलि फाल्गुन ८ गते सेमिफाइनलका खेलहरू सञ्चालन गरिनेछ। बाँकी खेलहरू खेल तालिका अनुसार क्रमशः सञ्चालन गरिने जानकारी आयोजकले दिएको छ।
यसै गरी छात्रातर्फका खेलहरू आज उत्साहजनक प्रतिस्पर्धाबीच सम्पन्न भएका छन्। आज भएका खेलहरूबाट विभिन्न विद्यालयहरूले प्रभावशाली प्रदर्शन गर्दै अर्को चरण तथा सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन्।
पहिलो खेलमा सेक्रेट हार्ट स्कुल इटहरी र आयोजक ‘बि’ टिमबीच प्रतिस्पर्धा भएको थियो। उक्त खेलमा सेक्रेट हार्ट स्कुलले २५–११ र २५–२० को सोझो सेटमा प्रभावशाली जित निकाल्दै अर्को चरणको खेलमा प्रवेश गर्न सफल भएको छ। सुरुदेखि नै आक्रामक खेल प्रस्तुत गरेको सेक्रेट हार्टले उत्कृष्ट समन्वय र सशक्त सर्भिसमार्फत जित सुनिश्चित गरेको थियो।
त्यसैगरी डिपोट उच्च मा.वि. धरान र नमुना एकेडेमी तराहरा बीच भएको खेलमा डिपोट उच्च मा.वि.ले २५–१२ र २५–१९ को स्कोर गर्दै जित हासिल गरेको छ। उक्त जितसँगै डिपोट सेमिफाइनल प्रवेश गर्ने पहिलो भाग्यमानी टोली बनेको छ। खेल अवधिभर डिपोटले उत्कृष्ट टिमवर्क र संयमित प्रदर्शन देखाएको थियो।
यसै क्रममा आइडियल इ. बोर्डिङ स्कुल धरान र आमन्त्रित पाहुना टोली श्री इन्द्रपुर इ. बोर्डिङ स्कुल मोरङ बीच भएको प्रतिस्पर्धामा आइडियल इ. बोर्डिङ स्कुल धरानले २५–२० र २५–१२ को सोझो सेटमा जित निकाल्दै अर्को चरणको खेलका लागि स्थान सुरक्षित गरेको छ। पहिलो सेटमा कडा प्रतिस्पर्धा भए पनि दोस्रो सेटमा आइडियलले पूर्ण नियन्त्रण जमाउँदै खेल आफ्नो पक्षमा पारेको थियो।
आज सम्पन्न खेलहरूले प्रतियोगितालाई थप रोमाञ्चक बनाएको छ। आयोजकका अनुसार आगामी चरणका खेलहरू खेल तालिका अनुसार सञ्चालन गरिनेछ र प्रतियोगिता थप प्रतिस्पर्धात्मक बन्दै जाने अपेक्षा गरिएको छ।
18/02/2026
आज मिति २०८२ फाल्गुन ६ गतेका दिन युनाइटेड गोर्खा एकेडेमी भलिबल कप २०८२ अन्तर्गत पहिलो दिन सञ्चालन भएका सम्पूर्ण खेलहरुको नतिजा यस प्रकार रहेका छन् जानकारी गराउदै सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दछौं ।
18/02/2026
आज मिति २०८२ फाल्गुन ६ गते धरान उपमहानगरपालिका वडा नं. १५ स्थित युनाइटेड गोर्खा एकेडेमी द्वारा आयोजित १२ औँ संस्करणको भलिबल कप प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम आइन्द्र विक्रम बेघा ज्यूको प्रमुख आतिथ्यता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण प्रसाद राई ज्यूको सभापतित्वमा सञ्चालन भएको थियो।
“विद्यार्थीहरुको चौतर्फी विकास तथा पारस्परिक सम्बन्धको निरन्तरताको लागि खेलकुद” भन्ने मूल नाराका साथ २०७० सालदेखि निरन्तर आयोजना हुँदै आएको यस प्रतियोगिताको आज उद्घाटन समारोह सम्पन्न भएको हो।
आज सम्पन्न छात्रा तर्फका खेल प्रतियोगितामा विभिन्न विद्यालयबीच प्रतिस्पर्धात्मक खेलहरू सम्पन्न भएका छन्।
आजका खेलहरूमा विद्यार्थी खेलाडीहरूले अनुशासित र उत्साहजनक प्रदर्शन गरेका थिए। विजयी टोलीहरू अब दोस्रो चरणको खेलका लागि तयारीमा जुटेका छन्। प्रतियोगिता अन्तर्गत आगामी खेलहरू अझ रोचक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।
उक्त प्रतियोगिताले विद्यार्थीहरूमा खेलकुदप्रति रुचि अभिवृद्धि गर्नुका साथै अनुशासन, सहकार्य र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास आयोजक व्यक्त गर्दछ।।
18/02/2026
आज मिति २०८२ साल फाल्गुन ०६ गते धरान उपमहानगरपालिका वडा नम्बर १५ –सुनसरीमा अवस्थित युनाइटेड गोर्खा एकेडेमी र त्रिवेणी महिला समुह को संयुक्त आयोजनामा बाह्रौं संस्करणको युनाइटेड गोर्खा एकेडेमी भलिबल कप २०८२ को उद्घाटन समारोह साथमा “रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ रक्तदान कार्यक्रम समेत सञ्चालन गरिएको थियो। सामाजिक उत्तरदायित्वलाई मध्यनजर गर्दै आयोजना गरिएको उक्त रक्तदान कार्यक्रम नेपाल रेडक्रस सोसाइटी सुनसरी जिल्ला शाखा कार्यालय धरानको प्राविधिक सहयोगमा ३३ प्रिन्ट रगत संकलन गरी सफलतापूर्वक सम्पन्न भएको थियो। उक्त रक्तदान कार्यक्रममा सहभागी हुनु भएका सम्पूर्ण महानुभावहरुप्रति आयोजक हार्दिक आभार तथा धन्यवाद ज्ञापन गर्दछ।