10/06/2026
बृत्ति मार्गनिर्देशन कार्यक्रम (छैटौँ दिन तथा छ दिने कार्यक्रम सम्पन्न) प्रतिवेदन
विद्यालय: श्री महानन्द प्रसाद उपाध्याय माध्यमिक विद्यालय, वीरगञ्ज–२८, बगही, पर्सा
कार्यक्रम अवधि: २०८३ साल जेठ २२ गतेदेखि २०८३ साल जेठ २७ गतेसम्म
सहजकर्ताद्वय: श्री प्रेमशंकर श्रेष्ठ र श्री प्रमोद भट्ट
श्री महानन्द प्रसाद उपाध्याय माध्यमिक विद्यालय, वीरगञ्ज–२८, बगही, पर्सामा सञ्चालन भइरहेको बृत्ति मार्गनिर्देशन कार्यक्रमको छैटौँ तथा अन्तिम सत्र २०८३ साल जेठ २७ गते सफलतापूर्वक सम्पन्न भएको छ। विद्यालयमा २०८३ साल जेठ २२ गतेदेखि २७ गतेसम्म लगातार छ दिन सञ्चालन गरिएको यस कार्यक्रममा विद्यार्थीहरूलाई आफ्नो रुचि, खुबी, क्षमता र भविष्यको बृत्ति छनोट सम्बन्धी विभिन्न विषयमा सहभागीमूलक तथा क्रियात्मक ढङ्गबाट प्रशिक्षण प्रदान गरिएको थियो।
छ दिनको अवधिमा रुचि र खुबी, पाँच क्षमता, मेरो बृत्ति विश्वास, मेरो क्षमता–मेरो बृत्ति, बृत्तिका प्रकारहरू, नेपालको शैक्षिक संरचना, नेपालको शिक्षा प्रणाली, प्राविधिक तथा व्यावसायिक शिक्षाको महत्त्व, बृत्ति क्षेत्र जीवनरेखा, बृत्ति पथ–१ तथा बृत्ति पथ–२ र योजना निर्माण लगायतका महत्वपूर्ण विषयहरूमा छलफल तथा अभ्यास गराइएको थियो।
कार्यक्रमका प्रत्येक सत्र करिब ११० मिनेट का दरले सञ्चालन गरिएका थिए। छ दिनमा जम्मा ६६० मिनेट समय खर्च गरी विद्यार्थीहरूलाई व्यावहारिक तथा जीवनोपयोगी ज्ञान प्रदान गरिएको थियो। कार्यक्रम सञ्चालनका क्रममा फ्लिपचार्ट, कार्यपुस्तिका, फ्ल्यासकार्ड लगायतका शैक्षिक सामग्रीहरूको प्रयोग गरी विद्यार्थीहरूलाई सक्रिय सहभागितामूलक सिकाइ प्रक्रियामा संलग्न गराइएको थियो।
कार्यक्रमको प्रभावकारी सहजीकरण विद्यालयका सहजकर्ताद्वय श्री प्रेमशंकर श्रेष्ठ र श्री प्रमोद भट्ट ले गर्नुभएको थियो। उहाँहरूको कुशल मार्गदर्शन तथा सहजीकरणबाट विद्यार्थीहरूले आफ्नो रुचि, खुबी र क्षमताको पहिचान गर्दै भविष्यको बृत्ति निर्धारण गर्न महत्वपूर्ण आधार प्राप्त गरेका छन्। साथै विद्यार्थीहरूले आगामी तीन महिनाका लागि व्यक्तिगत योजना निर्माण गरी आफ्नो लक्ष्यतर्फ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
कार्यक्रम अवधिभर विद्यार्थीहरूले उत्साहपूर्वक, अनुशासित र सक्रिय सहभागिता जनाएका थिए। उनीहरूको जिज्ञासा, लगनशीलता र सिकाइप्रतिको सकारात्मक सोचले कार्यक्रमलाई अझ उपलब्धिमूलक बनाएको थियो।
अब आगामी चरणमा कक्षा १० का विद्यार्थीहरूका लागि सातौँ सत्र सञ्चालन गरिने योजना रहेको छ।
अन्त्यमा, विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माण तथा सही बृत्ति छनोटमा सहयोग पुर्याउने उद्देश्यले सञ्चालन गरिएको यो छ दिने बृत्ति मार्गनिर्देशन कार्यक्रम भव्य, सभ्य र सफलतापूर्वक सम्पन्न भएको जानकारी गराइन्छ।
प्रतिवेदक
श्री प्रेमशंकर श्रेष्ठ
सहजकर्ता, बृत्ति मार्गनिर्देशन कार्यक्रम
श्री महानन्द प्रसाद उपाध्याय माध्यमिक विद्यालय
वीरगञ्ज–२८, बगही, पर्सा।