हाम्रो बारे
भौगोलिक अवस्थिति
मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा पर्ने प्यूठान जिल्ला एक पहाडी जिल्लाको रुपमा परिचित छ । जिल्लाका दुई ठूला नदीहरु माण्डवी र झिमरुकले जिल्लालाई दुई प्रष्ट भागमा विभाजन गरेका छन् । नेपालकै प्रशिद्ध तीर्थस्थल स्वर्गद्वारीको काख र माडीखोलाको किनारमा अवस्थित भिंग्री गा.वि.स.मा रहेका थुप्रै विद्यालयहरुमध्ये पुरानो इतिहास बोकेको एक मात्र उच्च मा.वि. हो, अमर उच्च मा.वि.
भिंग्री । यो विद्यालय स्थापनाकालमा वडा नं. ३ मा खुले पनि पछि वडा नं. ५ मा विस्तार गरिएको छ । अर्थात् विद्यालयको प्रा.वि. तहको पठन पाठन वडा नं. ३ मा हुँदै आइरहेको छ भने नि.मा.वि., मा.वि. र उच्च मा.वि. तहको पठनपाठन वडा नं. ५ मा हुँदै आइरहेको छ । र, यी दुवै विद्यालय उपल्लो भिंग्री अर्थात् भालुवाङ–रोल्पा मोटरबाटोबाट करिव २०० मिटर टाढा पश्चिमतर्फ रहेका छन् ।
प्यूठान जिल्ला एक मध्य पहाडी जिल्ला भएकोले पनि यस गा.वि.समा जिल्ला जस्तै हावापानी समशितोष्ण प्रकृतिको छ, अर्थात् यहाँ जाडोमा न धेरै जाडो र गर्मीमा न धेरै गर्मी हुन्छ ।
यस गा.वि.स.को शैक्षिक स्थितिलाई हेर्दा सन्तोषजनक नै रहेको पाइन्छ । गा.वि.स.का धेरै व्यक्तिहरु उच्च शिक्षा हासिल गरेका, उच्च शिक्षाका लागि बाहिर गएका देखिन्छन् भने भिंग्री गा.वि.स.का जनताहरुमा छोराछोरी पढाउनु पर्छ भन्ने भावनाको विकास भइसकेकोले गाउँघरमा विद्यालय नजाने बालबालिकाहरु सून्य छन् भने साक्षरता अभियान, प्रौढ शिक्षा, महिला शिक्षाजस्तो अनौपचारिक शिक्षा दिने प्रणालीले पनि गाउँमा निरक्षरहरु कमै छन् ।
विद्यालयको संक्षिप्त इतिहास
श्री धनेश्वरी प्राथमिक पाठशालाको रुपमा वि.सं. २०१६ सालमा यस विद्यालयको स्थापना भएको थियो । यो विद्यालय तत्कालिन शिक्षाप्रेमी एवम् समाजसेवी भिंग्री गा.वि.स. वडा नं. ५ निवासी श्री धनबहादुर खत्री क्षेत्रीको सक्रियतामा स्थापना भएको हो । २०२४ सालमा तत्कालिन शिक्षा प्रेमी श्री अमरराज रोकाय, श्री ठाकुरप्रसाद रोकाय, श्री होमबहादुर रोकाय र श्री शोभबहादुर रोकायज्यूहरुले चार रोपनी जग्गा दान गरी एउटै प्राङ्गणमा श्री धनेश्वरी प्रा.वि. र श्री अमर नि.मा.वि. सञ्चालन हुँदै आयो । २०२७ सालमा यस भेगका १० गाउँ पञ्चायतका शिक्षा प्रेमीहरुको भेलाले समर्थन जुटाई मा.वि. स्विकृत गर्नेतर्फ पहल गरी श्री धनेश्वरी प्रा.वि. पनि श्री अमर मा.वि.मा गाभिएर २०२८ सालदेखि एकदेखि १० कक्षा सञ्चालन गर्ने अनुमति प्राप्त ग¥यो । २०२९ सालदेखि प्रवेशिका परीक्षामा पाँच जना विद्यार्थीहरु सम्मिलित गराई ४० प्रतिशत विद्यार्थीहरु प्रवेशिका परीक्षामा सफल भए । हालसम्म जिल्लामा प्रवेशिका परीक्षामा प्रथम, द्वितीय र तृतीय स्थान लिन सफल भएको यस विद्यालय २०५६ सालदेखि उच्च माध्यमिक शिक्षा परिषद् सानो ठिमी भक्तपुरबाट सम्बन्धन प्राप्त गरी हाल जिल्लाकै एक मात्रै उच्च माध्यमिक विद्यालयको रुपमा स्थापति छ ।
विद्यालय सेवा क्षेत्रको पहिचान
यस विद्यालयमा भर्ना भई अध्ययन गर्ने छात्र छात्राहरु खासगरी प्रा.वि. स्तरमा यसै भिंग्री गा.वि.स. वडा नं. ३, ४ र ५ प्रमुख छन् भने केही यसै गा.वि.स. वडा नं. २, ७ र ९ बाट आएका छन् । केही संख्यामा अन्य क्षेत्रहरुबाट पनि आएका छन् । नि.मा.वि.तर्फ भिंग्री गा.वि.स. वडा नं. १, २, ३, ४, ५, ७, ८ र ९ प्रमुख छन् भने केही संख्यामा वडा नं. ६ बाट पनि आएका छन् । यसैगरी मा.वि.तर्फ भिंग्री गा.वि.स.का सबै वडाहरु, छिमेकी गा.वि.स. सारी, वेलवास, गोठिवाङ गा.वि.स.बाट आएका छन् । उच्च माध्यमिक तर्फ प्यूठान जिल्लाका सारी, बेलवास, बर्जिवाङ, गोठिवाङ, स्वर्गद्वारी खाल तथा छिमेकी जिल्ला रोल्पाका विद्यार्थीहरु रहेका छन् ।
यसप्रकार विद्यालयको सेवा क्षेत्र विद्यालयमा कक्षा १ देखि कक्षा १२ सम्म पढाइ हुने भएकोले व्यापक छ ।
यस विद्यालयमा नि.मा.वि., मा.वि. तथा उच्च मा.वि.मा अध्ययन गर्ने बालबालिकाहरुको लागि वर्षायाममा खहरे खोला, भीर पाखाहरुले केही असुविधा पु¥याएका छन् भने सदरमुकाम प्यूठान खलंगासम्म पुग्न विगत केही वर्षदेखि विहान ८ बजे शनिबार र सार्वजनिक विदाका दिन बाहेक अन्य दिनहरुमा नियमित वस सेवा सञ्चालन भइरहेको छ । यस विद्यालयदेखि पूर्वमा भालुवाङ–रोल्पा मोटरबाटो, पश्चिममा पहाड, उत्तरमा कुवाखोला र दक्षिणमा जारीखोला रहेको छ । जिल्लाकै पुरानो उच्च माध्यमिक रहेको यस विद्यालयको नजिकमा प्रा.वि. तल्ला भिंग्री, प्रा.वि. मदनपुर, प्रा.वि. किमिचौर, बाल विकास प्रा.वि. प्रा.वि. विद्यालयको रुपमा रहेका छन् । सूर्याेदय नि.मा.वि., वेलवास नि.मा.वि.हरु नि.मा.वि. को रुपमा रहेका छन् । मा.वि. तर्फ उमामहेश्वरी मा.वि. सारी, विद्यानन्द मा.वि. जुडापाटा, वालसंस्कृत मा.वि. स्वर्गद्वारी खाल, जनता मा.वि. बर्जिवाङ र वेलावास मा.वि. तापा रहेका छन् भने उच्च मा.वि. तर्फ नयाँगाउँ तथा छिमेकी जिल्ला रोल्पाका खुङ्ग्री तथा घोडागाउँका विद्यालयहरु रहेका छन् ।