02/09/2026
दुःखमा नेपाललाई अस्ट्रेलियाको साथ, राहत सामग्री बोकेर अस्ट्रेलियन एयर फोर्सको विमान आइपुग्यो काठमाडौं
भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि अस्ट्रेलिया सरकारले थप मानवीय सहयोग पठाएको छ। राहत सामग्री, आवश्यक उपकरण र सहयोगी जनशक्ति बोकेको अस्ट्रेलियन एयर फोर्सको विमान बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं आइपुगेको हो।
काठमाडौंस्थित अस्ट्रेलियन दूतावासका अनुसार विमानमार्फत ल्याइएको राहत सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ। उक्त सहायता बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका काममा प्रयोग गरिनेछ। अस्ट्रेलियाले जारी सहयोगअन्तर्गत थप ३० लाख अस्ट्रेलियन डलर बराबरको मानवीय सहायता उपलब्ध गराएको बताइएको छ।
भोटेकोशी बाढीपछि केही अस्ट्रेलियाली नागरिकसमेत सम्पर्कविहीन रहेका छन्। अस्ट्रेलियाको रक्षा मन्त्रालयले ४२ जना अस्ट्रेलियाली नागरिकको अवस्था अझै स्पष्ट नभएको जनाएको छ भने नेपाल पर्यटन बोर्डको विवरणमा ३५ जना अस्ट्रेलियन पर्यटक सम्पर्कविहीन रहेको उल्लेख छ। दुवै पक्षका विवरण फरक भएकाले वास्तविक संख्या यकिन गर्ने प्रयास जारी छ।
अस्ट्रेलिया सरकारले नेपाली उद्धार टोलीसँग समन्वय गर्दै आफ्ना नागरिकको खोजी तथा प्रभावित नेपाली समुदायलाई आवश्यक सहयोग पुर्याउने काम अघि बढाएको छ। राहत सामग्री र प्राविधिक सहयोगसहित आएको यो नयाँ खेपले बाढी प्रभावित क्षेत्रमा चलिरहेको उद्धार र पुनःस्थापना अभियानलाई थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।