08/08/2026
🇳🇵 बन्द र घाटामा थलिएका राष्ट्रिय उद्योग फेरि तङ्ग्रिँदै !
वर्षौंदेखि बन्द रहेका, घाटामा थलिएका र निराशाले घेरिएका हाम्रा आफ्नै राष्ट्रिय उद्योगहरू के फेरि तङ्ग्रिएर आफ्नै गोडामा उभिन सक्लान् ? यो प्रश्न र चिन्ता धेरैको मनमा थियो र अझै पनि छ। जुन अस्वाभाविक होइन।
तर नियत सफा, जिम्मेवारीप्रति इमान्दारिता र निरन्तर प्रयास भए जस्तोसुकै चुनौतीपूर्ण परिस्थितिमा पनि सुधारका नयाँ ढोका खोल्न सकिन्छ।
नयाँ सरकारले सुरुदेखि नै राष्ट्रिय उद्योग तथा संस्थानहरूलाई पुनः जीवन्त, आत्मनिर्भर र प्रतिस्पर्धी बनाउन सहजीकरण, उत्प्रेरणा, कानुन कार्यान्वयन र समन्वयलाई प्राथमिकता दिँदै आएको छ। यही निरन्तर प्रयास र टिमवर्कका कारण केही राष्ट्रिय संस्थानहरूमा आशालाग्दा परिणाम देखिन थालेका छन्।
🔹 १. नेपाल औषधि लिमिटेड
वर्षौंदेखि घाटामा रहेको नेपाल औषधि लिमिटेडले पछिल्लो ४ महिनामा २ करोड ३८ लाख रुपैयाँ बराबरको औषधि बिक्री गरेको छ।
विश्व स्वास्थ्य संगठनको ‘गुड म्यानुफ्याक्चरिङ प्राक्टिस’ (GMP) मापदण्ड प्राप्त गरेपछि औषधि बिक्रीमा वृद्धि भएको छ। गत आर्थिक वर्षमा कम्पनीले ३ करोड रुपैयाँ नाफा आर्जन गरेको छ भने चालु आर्थिक वर्षमा ३० करोड रुपैयाँको औषधि बिक्री गर्ने लक्ष्य राखिएको छ।
आगामी ३ वर्षमा ९८ प्रकारका निःशुल्क औषधि उत्पादन गर्ने लक्ष्य लिइएको छ। हाल ११ प्रकारका औषधि उत्पादन भइरहेका छन् भने यस वर्ष थप २५ प्रकारका औषधि उत्पादन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ।
🔹 २. हेटौँडा कपडा उद्योग
वर्षौंदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारीमा छ।
तान (लुम) मर्मतपछि परीक्षण उत्पादन सुरु भइसकेको छ र केही मात्रामा कपडा उत्पादनसमेत सुरु भएको छ। परीक्षण उत्पादनको जिम्मेवारी नेपाली सेनालाई दिइएको छ भने परीक्षणपछि नेपाल सरकारले उद्योग सञ्चालन गर्ने योजना छ।
🔹 ३. नेपाल वायुसेवा निगम
गत आर्थिक वर्षको चैतदेखि असारसम्म नेपाल वायुसेवा निगमले ६ अर्ब २७ करोड ६३ लाख रुपैयाँ आम्दानी गरेको छ।
यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १ अर्ब १० करोड २१ लाख रुपैयाँ बढी हो।
यस अवधिमा जहाजको सीट उपयोगिता (Occupancy) बढेर ८६ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ६ प्रतिशत बढी हो।
जहाज खरिदका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिइएको ऋणको १ अर्ब ६ करोड १९ लाख रुपैयाँ किस्ता समेत भुक्तानी गरिएको छ।
🔹 ४. दुग्ध विकास संस्थान (DDB/DDC)
किसानको रोकिएको दूधको बक्यौता भुक्तानीलाई प्राथमिकता दिँदै भुक्तानी चक्र ८ महिनाबाट घटाएर २–३ महिनामा झारिएको छ।
किसानलाई दूधमा प्रतिलिटर १ रुपैयाँ प्रोत्साहन रकम थप गरिएको छ।
सुधारका प्रयासपछि दैनिक बिक्री ३५ प्रतिशतले बढेको छ भने दैनिक औसत राजस्व ६० लाखबाट बढेर ९० लाख रुपैयाँ पुगेको छ।
कानुनविपरीत कर्मचारीलाई दिइँदै आएको घ्यू तथा दूधको सुविधा कटौती गरी वार्षिक करिब ३ करोड रुपैयाँ बचत गरिएको छ।
त्यस्तै, खाडी मुलुकमा घ्यू, चीनमा बटर तथा छुर्पी निर्यात गर्ने तयारी भइरहेको छ भने नगरकोट केन्द्रबाट पुनः चिज उत्पादन सुरु गर्ने तयारी छ।
🔹 ५. सिंहदरबार वैद्यखाना विकास समिति
सरकार गठन भएपछि सिंहदरबार वैद्यखानाले ११ करोड १६ लाख रुपैयाँ बराबरको आयुर्वेदिक औषधि उत्पादन तथा बजारीकरण गरेको छ।
गत आर्थिक वर्षमा औषधिको कारोबार करिब १३ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा करिब ४ गुणा बढी हो।
हाल वैद्यखानाले १०५ प्रकारका आयुर्वेदिक औषधि उत्पादन गरिरहेको छ भने चालु आर्थिक वर्षमा १५० प्रकारका औषधि उत्पादन गर्ने लक्ष्य राखिएको छ।
निःशुल्क वितरण हुने ३५ प्रकारका औषधिमा आत्मनिर्भर बन्ने दिशामा समेत वैद्यखाना अघि बढिरहेको छ।
⸻
🇳🇵 यी केही उदाहरण मात्र हुन्।
हामीमा इमान्दारिता, जिम्मेवारीबोध र देशप्रतिको समर्पण कायम रह्यो भने रुग्ण अवस्थामा रहेका अन्य राष्ट्रिय उद्योगहरूमा पनि नयाँ जीवन भर्न सकिन्छ।
माटोमा उत्पादन बढाउँदै देशलाई आत्मनिर्भर बनाउने यात्रामा अघि बढ्न सरकार, निजी क्षेत्र, किसान, श्रमिक र आम नागरिक सबैको सहकार्य आवश्यक छ।
राष्ट्रिय उद्योग बलियो बनाऔँ, स्वदेशी उत्पादन बढाऔँ, आत्मनिर्भर नेपाल निर्माण गरौँ। 🇳🇵❤️
#आत्मनिर्भरनेपाल #राष्ट्रियउद्योग #स्वदेशीउत्पादन #नेपाल #समृद्धनेपाल