07/08/2026
शक्तिशाली ताइफुन नम्बर १३ दक्षिणपश्चिम जापानतर्फ नजिकिँदै गर्दा कागोशिमा र ओकिनावाका करिब २ लाख ६० हजार बासिन्दालाई सुरक्षित स्थानमा जान निर्देशन दिइएको छ। ताइफुनको प्रभावका कारण शुक्रबार ५०० भन्दा बढी हवाई उडान रद्द भएका छन्।
जापान मौसम विज्ञान एजेन्सीका अनुसार ताइफुन हाल क्युशु र ओकिनावाबीचका टापु आसपास पुगेको छ। अधिकतम निरन्तर हावाको गति प्रतिघण्टा १४४ किलोमिटर र झोक्काको गति १९८ किलोमिटर प्रतिघण्टासम्म पुगिरहेको छ। ओकिनावामा कमजोर घर तथा संरचनासमेत क्षतिग्रस्त हुन सक्ने स्तरको हावाहुरी चल्ने चेतावनी दिइएको छ।
भारी वर्षासँगै ‘सेन्जो कोसुइताइ’ अर्थात् एकै क्षेत्रमा लगातार मुसलधारे वर्षा गराउने प्रणाली बन्न सक्ने भएकाले बाढी, डुबान र पहिरोको जोखिमसमेत बढेको छ।
चिन्ताको विषय कुमामोतो पनि बनेको छ। हालैको शक्तिशाली भूकम्पपछि अझै करिब ६ हजार ७ सय मानिस आश्रयस्थलमा बसिरहेका बेला त्यहाँ पनि ताइफुनको वर्षा र हावाहुरीको प्रभाव पर्ने जोखिम छ।
ताइफुनका कारण टोयोटाले शुक्रबार ९ वटा कारखानामा उत्पादन स्थगित गरेको छ। अधिकारीहरूले ओकिनावा, कागोशिमा तथा आसपासका क्षेत्रमा रहेका नागरिकलाई स्थानीय प्रशासनको निर्देशन पालना गर्न र पछिल्लो मौसम सूचना हेरेर समयमै सुरक्षित स्थानमा जान आग्रह गरेका छन्।