06/08/2026
विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्सदाइ) लाई धेरैले विश्व कीर्तिमानी आरोही, पूर्व गोर्खा सैनिक र प्रेरणादायी वक्ताका रूपमा चिन्छन्। तर कमैलाई थाहा भएको अर्को तथ्य के हो भने उनले बेलायतको लफबरो विश्वविद्यालयबाट मानार्थ विद्यावारिधि (Honorary Doctorate) समेत प्राप्त गरेका थिए।
लफबरो विश्वविद्यालयले सन् २०२३ डिसेम्बर १४ मा आयोजित दीक्षान्त समारोहमा पुर्जालाई "Doctor of the University (Honoris Causa)" उपाधिबाट सम्मानित गरेको थियो। विश्वविद्यालयले उनको उत्कृष्ट सैन्य सेवा, विश्व कीर्तिमानी पर्वतारोहण र समाजमा पुर्याएको प्रेरणादायी योगदानको कदर गर्दै उक्त सम्मान प्रदान गरेको जनाएको थियो।
निर्मल पुर्जा स्वयं पनि लफबरो विश्वविद्यालयका पूर्वविद्यार्थी हुन्। उनले सन् २०१२ मा विश्वविद्यालयको बिजनेस स्कुलमा सुरक्षा व्यवस्थापन (Security Management) विषयमा स्नातकोत्तर डिप्लोमा अध्ययन गरेका थिए। सम्मान ग्रहणपछि उनले शिक्षा व्यक्तिको जीवन परिवर्तन गर्ने सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै नेपालका हिमाली समुदायका लागि स्थापना गरेको निम्सदाइ फाउन्डेसन मार्फत शिक्षालाई प्राथमिकता दिएको बताएका थिए।
त्यस अवसरमा विश्वविद्यालयका उपकुलपति प्रोफेसर निक जेनिङ्स ले पुर्जाको उपलब्धिलाई "पर्वतभन्दा बाहिर पनि प्रेरणादायी" भन्दै उनको साहस, दृढ संकल्प र नेतृत्वले विश्वभरका युवालाई प्रेरणा दिएको बताएका थिए।
सन् २०१९ मा विश्वका सबै १४ वटा आठ हजार मिटरभन्दा अग्ला हिमाल ६ महिना ६ दिन मा आरोहण गरेर विश्व कीर्तिमान बनाएका पुर्जाको यात्राले नेपाललाई विश्वभर चिनाएको थियो। पर्वतारोहणमा उनको योगदानको सम्मानस्वरूप प्राप्त मानार्थ डक्टरेटले उनको व्यक्तित्वलाई थप उचाइ दिएको मानिन्छ।