20/11/2025
आत्मविश्वासको शक्तिले जितेको मान्छे: 'केरली ताकोच'
हङगेरीका सिपाही केरली ताकोच सुटिङमा विश्वस्तरको निशानेबाज बन्ने स्पष्ट लक्ष्यका साथ सेनामा प्रवेश गरेका थिए। उनले सैनिक क्याम्पमा सुटिङको राम्रो अभ्यास गर्ने मौका पाए । तर सन् १९३८ मा सैन्य प्रशिक्षणका क्रममा भएको ग्रेनेड विस्फोटले उनको दायाँ हात (त्यो हात जसले उनले भविष्य निर्माण गर्न खोजेका थिए) एकाएक खोसियो। बिश्वले उनको करियर समाप्त भएको ठान्यो । उनका प्रतिस्पर्धिहरु खुसी भए । तर केरलीले हार मान्नुको साटो बायाँ हातले फेरि शून्यबाट सुटिङको अभ्यास सुरु गरे। 'मैले के गुमाएँ भन्दापनि मसँग के छ' भन्ने कुरामा उनी केन्द्रिकृत भए । जब सहर मस्त निन्द्रामा हुन्थ्यो, उनी कसैले नदेख्ने गरी बाँया हातले अभ्यास गर्थे । यो यात्रामा साथ दिए त केवल उनको हठले, उनको इच्छाशक्तिले, र उनको अटुट अपराजेय चरित्रले । दृढ सङ्कल्प, निरन्तरता, अनुशासन, अटुट मनोबल र आत्मविश्वासको शक्तिले उनलाई फेरि प्रतिस्पर्धाको मैदानमा उभिने बनायो ।
हङ्गेरीको राष्टि«य प्रतिस्पर्धामा उनलाइ देखेर अन्य सहभागी खेलाडिले उनिप्रति सहानुभुति राख्दै भने 'हाम्रो हौसला बढाउन आउनुभएकोमा हामी आभारी छौं।' जवाफमा केरलीले भने, 'म तपाइहरुसँग प्रतिस्पर्धा गर्न आएको हुँ, हौसला बढाउन होइन।' अन्य प्रतिस्पर्धि चकित भए । पहिलोपटक बाँया हातले प्रतिस्पर्धा गर्दै उनी प्रथम भै ओलम्पिक खेलका लागि छनौट भए । दुर्भाग्यवश, दोस्रो विश्वयुद्धका कारण सन् १९४० र १९४४ मा सम्पन्न हुने ओलम्पिक खेल स्थगित भए । उमेरलाइ समेत चुनौती दिदै उनी निरन्तर अभ्यासमा रहे । करिब १० बर्षको अन्तरालपछि सन १९४८ को लण्डन ओलम्पिकमा उनले स्वर्ण पदक जित्दै विश्वलाई आश्चर्यचकित बनाए । उनी त्यत्तिमै सीमित भएनन् । सन १९५२ को हेलसिंकी ओलम्पिकमा समेत उनले दोस्रो स्वर्ण जितेर देखाए कि शरीरले होइन, आत्मविश्वासले जित्छ। दायाँ हात गुम्नु उनको हार होइन, नयाँ जीवनको आरम्भ भयो । उनले प्रमाणित गरे कि बाधा वा कठिनाइ केवल भ्रम मात्र हो । अभ्यास, समर्पण तथा आत्मविश्वास नै वास्तविकता निर्माण गर्ने शक्ति हुन्।