10/06/2026
“यिनीहरूले बिस्तारै–बिस्तारै सुख पाउँछन्… हामी त दुःखमै जान्छौँ।” सानी नानीतिर औँला देखाउँदै ती आमाले यति भनिन्।तर त्यो एउटा वाक्यभित्र उनको पूरै ५० वर्षको जीवन बोलिरहेको थियो।
५० वर्ष।
एउटा मान्छेको आधा शताब्दी। यही गाउँमा बित्यो। यही कर्णालीको किनारमा बित्यो। तुइनको डोरी समातेर नदी तर्दै, डरलाई आफ्नो दैनिक जीवनको हिस्सा बनाएर बित्यो। उनको सपना पनि कति ठूलो थिएन—कर्णालीमाथि एउटा पुल बनोस्। बस्, यति मात्रै। आफूले एक दिन त्यो पुलबाट हिँड्न पाऊँ। आफ्ना छोराछोरीले तुइन समातेर नदी तर्नु नपरोस्।नातिनातिनाले आफूले जस्तो जीवन नबाँचून्।
तर ५० वर्ष बित्यो।
पुल अझै बनेको छैन।
अब पुल बन्ने आशा त छ,
तर त्यो पुलबाट आफूले कर्णाली तर्न पाउँछु भन्ने आशा भने ती आमाको आँखामा छैन।
त्यसैले सानी नानीलाई हेरेर भन्छिन्—
“यिनीहरूले बिस्तारै–बिस्तारै सुख पाउँछन्… हामी त दुःखमै जान्छौँ।”
यो वाक्य सुन्दा लाग्छ—
उनी आफ्नो दुःखको गुनासो गरिरहेकी छैनन्। उनी त आफ्नो पुस्ताको हार स्वीकार गरिरहेकी छिन्।
र त्यसपछि मनमा एउटा प्रश्न आउँछ—
यो कुन देश हो, जहाँ एउटा आमाले आफ्नो जीवनभर एउटा पुलको सपना देख्नुपर्छ?
हामीले यही देशमा कति पटक परिवर्तनका नारा सुन्यौँ। कति पटक नयाँ सपना देखाइयो।
कति पटक भनियो—अब विभेद अन्त्य हुन्छ, अब पछाडि पारिएका मान्छेहरू अगाडि आउँछन्, अब गाउँसम्म विकास पुग्छ। माओवादी जनयुद्ध पनि यही असमानता र यही विभेदविरुद्धको आवाज बनेर उठेको थियो।
तर आज, यति वर्षपछि पनि,
त्यही कर्णालीका गाउँहरूमा
त्यही अँध्यारो छ,
त्यही दूरी छ,
त्यही अभाव छ,
त्यही तुइन छ,
र त्यही प्रतीक्षा छ।
व्यवस्था बदलियो।
सरकार बदलियो।
नेता बदलिए।
नारा बदलिए।
तर ती आमाको जीवन बदलियो त?
सिंहदरबारमा सरकार फेरिँदा समाचार बन्छ। सहरमा सडक बन्दा उद्घाटन हुन्छ। ठूला परियोजनामा करोडौँ खर्च हुँदा भाषण हुन्छ।
तर कर्णालीको यो किनारमा
एउटी आमाले ५० वर्षदेखि एउटा पुल कुरिरहेकी छिन्।
उनको जीवनमा कुनै उद्घाटन भएन।
कुनै भाषण भएन।
कुनै ठूलो परियोजनाको नाममा उनको सपना लेखिएन।
बस्, उनी हरेक दिन कर्णाली हेर्छिन्—
र अर्को किनारामा आफ्नो जीवनभन्दा अलि राम्रो भविष्य देख्ने प्रयास गर्छिन्।
सायद त्यसैले उनले त्यो सानी नानीलाई हेरेर भनिन्—
“यिनीहरूले सुख पाउँछन्…”
किनकि उनलाई थाहा छ—
उनको पुस्ता सायद दुःखमै बित्नेछ।
तर कम्तीमा त्यो बच्चाको पुस्ताले त पुल देखोस्।
कति पीडादायी कुरा हो—
एउटा आमाले आफ्ना लागि भविष्य मागिरहेकी छैनन्।
उनी आफ्नो भागको सुख अर्को पुस्तालाई हस्तान्तरण गर्दैछिन्।
र हामीचाहिँ अझै सोधिरहेका छौँ—
“देश विकास भएन र?”
होला, देश विकास हुँदै होला।
तर यदि कर्णालीको एउटा आमाले ५० वर्षसम्म
एउटा पुलको सपना मात्रै देखिरहनुपर्छ भने—
हामीले विकासको अर्थ फेरि एकपटक सोच्नुपर्ने होइन र?
पुल केवल कर्णालीमाथि बन्नुपर्ने होइन।
पुल त त्यो दूरीमाथि बन्नुपर्ने हो—
जहाँ एउटा नेपालले अर्को नेपाललाई अझै देख्न सकेको छैन|