17/08/2026
पवित्र ग्रन्थ क़ुर्आनको महानता (३)
الحمد لله الذي أنزل لنا القرآن قيما ولم يجعل له عوجا والصلاة والسلام على خاتم الأنبياء والمرسلين الذي جعله الله نبيا، أما بعد!
पवित्र क़ुर्आनः
यो किताब कुनै विशेष जाति-समुदाय वा वर्ग-भुभागको लागि होइन बरु सम्पूर्ण संसारका लागि मार्गदर्शन हो । अल्लाहले भन्नु भएको छः
﴿وَمَا هُوَ إِلَّا ذِكْرٌ لِلْعَالَمِينَ﴾ [القلم: 52]
अर्थ: वास्तवमा यो (कुर्आन) त सम्पूर्ण संसारवालाहरूको निम्ति पुरै उपदेश हो । (अल्-क़लम:५२)
पवित्र क़ुर्आन केवल यसको पठनको हदसम्म मात्र आशिर्वादित छैन, बरु यसले हामीलाई जीवनको हरेक क्षेत्रमा मार्गदर्शन गर्दछ ।
﴿إِنَّ هَذَا الْقُرْآَنَ يَهْدِي لِلَّتِي هِيَ أَقْوَمُ وَيُبَشِّرُ الْمُؤْمِنِينَ الَّذِينَ يَعْمَلُونَ الصَّالِحَاتِ أَنَّ لَهُمْ أَجْرًا كَبِيرًا﴾ [الإسراء: 9]
अर्थ: नि:सन्देह यस कुर्आनले त्यस बाटोको मार्गदर्शन गर्दछ जो सबैभन्दा सोझो छ, यसले सत्कर्मी मोमिनहरूलाई अल्लाहको तर्फबाट महान् बदलाको शुभ-सूचना दिन्छ । (अल्-इस्रा:९)
यति महान किताब कि महाप्रलयसम्म हरेक प्रकारको विकृति र फेरबदलबाट यस किताबलाई सुरक्षित राख्ने जिम्मा अल्लाहले आफै लिनु भएको छ ।
﴿إِنَّا نَحْنُ نَزَّلْنَا الذِّكْرَ وَإِنَّا لَهُ لَحَافِظُونَ﴾ [الحجر: 9]
अर्थ: हामीले नै कुर्आनलाई उतारेका छौं र हामी नै यसको संरक्षक हौँ । (अल्-हिज्र:९)
यो त्यो गौरवशाली पुस्तक हो, जसका शब्दहरू कुनै पनि समय वा स्थानमा परिवर्तन गर्न सकिँदैन, यो सर्वशक्तिमान अल्लाहबाट आएको सन्देश हो । इतिहास साक्षी छ; आजसम्म यसको कुनै एक मात्रा पनि कसैले तल-माथि वा केरमेट गर्न सकेको छैन न त गर्न सक्नेछ । यो अति स्पष्ट र हरेक प्रकारको कमि त्रुटिबाट मुक्त छ ।
@ अफरोज आलम मदनी (मासिक पत्रिका "अल्-क़लम" मा प्रकाशित)