22/12/2025
बनेपा नगर प्याब्सन को आयोजनामा माध्यमिक तहका शिक्षकहरूका लागि एकदिने नेपाली व्याकरण सुदृढीकरण तालिम सफलतापूर्वक सम्पन्न भयो। उक्त तालिमको मुख्य उद्देश्य माध्यमिक तहमा अध्यापनरत शिक्षकहरूको नेपाली भाषिक दक्षता अभिवृद्धि गर्नु तथा व्याकरण शिक्षणलाई अझ प्रभावकारी बनाउनु रहेको थियो।
तालिमका क्रममा नेपाली व्याकरणका महत्वपूर्ण पक्षहरू जस्तै शब्दवर्ग, वाक्य संरचना, विरामचिह्नको सही प्रयोग, लेखन शुद्धता तथा पाठ्यपुस्तकअनुसार व्याकरण शिक्षणका विधिहरूमा गहन छलफल र अभ्यास गरियो। विषयवस्तुलाई व्यवहारिक बनाउँदै कक्षाकोठामा प्रयोग गर्न सकिने विभिन्न शिक्षण रणनीतिहरू प्रस्तुत गरिएका थिए।
कार्यक्रममा सहभागी शिक्षकहरूले सक्रिय सहभागिता जनाउँदै आफ्ना अनुभवहरू साटासाट गर्नुका साथै उत्पन्न जिज्ञासाहरूमा स्पष्ट उत्तर प्राप्त गरे। यस प्रकारको तालिमले माध्यमिक तहका शिक्षकहरूको पेशागत विकासमा सहयोग पुर्याउनुका साथै विद्यार्थीहरूमा नेपाली भाषाप्रति रुचि र शुद्ध प्रयोगको विकास गर्न महत्वपूर्ण योगदान दिने विश्वास लिइएको छ।
तालिममा यस विद्यालयको नेपाली विभागका तर्फबाट प्रमिला पौडेल र सुनिता अधिकारी उपस्थित हुनु भएको थियो ।