श्री निराजन माध्यमिक विद्यालय सिद्धकुमाख गाउँपालिका ३ ढोरचौर सल्यान

श्री निराजन माध्यमिक विद्यालय सिद्धकुमाख गाउँपालिका ३ ढोरचौर सल्यान

Share

बिद्यालय एक मन्दिर हो जहाँ ज्ञानको भण्डार हुन्छ ।

29/07/2026

गुरु पुर्णिामा २०८३/४/१२

20/07/2026

सामुदायिक विद्यालय सुधार अभियान

श्री निराजन माध्यमिक विद्यालय, ढोरचौर, सल्यान

प्रथम चरण : साउन ४ गतेदेखि असोज २३ गतेसम्म

श्री निराजन माध्यमिक विद्यालयलाई “अभिभावक, शिक्षक, विद्यार्थी, विद्यालय व्यवस्थापन समिति, स्थानीय सरकार र सम्पूर्ण सरोकारवालाको साझा प्रयासबाट सुधार भएको उत्कृष्ट सामुदायिक विद्यालय” का रूपमा स्थापित गर्ने उद्देश्यले साउन ४ गतेदेखि असोज २३ गतेसम्म प्रथम चरणको शैक्षिक सुधार कार्यक्रम सञ्चालन गरिनेछ।

यस अवधिमा सामुदायिक विद्यालयका चुनौती, समस्या र सम्भावनाका विषयमा गहन छलफल गर्दै सुधारका उपायहरू पहिचान गरिनेछ। साथै, सहभागी सबै सरोकारवालाबाट सुझाव र सल्लाह पनि संकलन गरिनेछ। प्रथम चरणको कार्यक्रम सम्पन्न भएपछि असोज २३ गते समीक्षा गरिनेछ र समीक्षा तथा प्राप्त उपलब्धिका आधारमा हामी दोस्रो चरणको शैक्षिक सुधार अभियानमा प्रवेश गर्नेछौँ।

शैक्षिक सुधार अभियानका मुख्य छलफलका विषयहरू

१. सामुदायिक विद्यालयमा अभिभावकको चासो किन कम हुन्छ?

२. “अङ्ग्रेजी राम्रो बनाउन छोराछोरीलाई निजी विद्यालयमा पढाउनुपर्छ” भन्ने अभिभावकको सोच किन छ?

हामी सामुदायिक विद्यालयमै गुणस्तरीय अङ्ग्रेजी शिक्षा कसरी प्रदान गर्न सक्छौँ?

३. सामुदायिक विद्यालयको प्रशासन कमजोर हुन्छ भन्ने धारणा किन बन्यो?

४. सामुदायिक विद्यालयमा बिदा बढी हुन्छ भन्ने गुनासो किन सुनिन्छ?

५. “सामुदायिक विद्यालयका शिक्षकहरू जागिरे मानसिकताले पढाउँछन्” भन्ने आरोप किन लाग्छ?

यो आरोप सत्य हो कि भ्रम? यदि कतै कमजोरी छ भने त्यसलाई कसरी सुधार गर्न सकिन्छ?

६. “सामुदायिक विद्यालयका प्रधानाध्यापकले विद्यालय प्रशासन प्रभावकारी रूपमा सञ्चालन गर्न सक्दैनन्” भन्ने धारणा किन छ?

७. सामुदायिक विद्यालयका शिक्षकहरू आफैँले आफूलाई विश्वास गर्न किन सकिरहेका छैनन्?

के हामीलाई स्रोत–साधनको कमीले रोकिरहेको छ?के हामीलाई नेतृत्वको कमीले रोकिरहेको छ?के हामीमा आत्मविश्वासको कमी छ?वा हामीले आफ्नै विद्यालय र आफ्नै क्षमतामाथि विश्वास गर्न छोडेका छौँ?

८. सामुदायिक विद्यालयका शिक्षकहरू पर्याप्त तयारीबिना कक्षाकोठामा प्रवेश गर्नुहुन्छ भन्ने गुनासो किन सुनिन्छ?

के हरेक शिक्षकले कक्षामा प्रवेश गर्नुअघि पाठको तयारी गर्नुहुन्छ?के दैनिक पाठयोजना र शिक्षण सामग्रीको प्रयोग हुन्छ?शिक्षकको तयारी र विद्यार्थीको सिकाइ उपलब्धिबीच कस्तो सम्बन्ध छ?

९. सामुदायिक विद्यालयमा विद्यार्थीको उपस्थिति दर कम हुनुको कारण के हो?

विद्यार्थी विद्यालयमा नियमित नआउनुको वास्तविक कारण के हो?अभिभावकको भूमिका कस्तो छ?विद्यालयको वातावरण विद्यार्थीका लागि आकर्षक छ कि छैन?शिक्षकको शिक्षण शैलीले विद्यार्थीको उपस्थितिमा प्रभाव पारेको छ कि छैन?

१०. अनुपस्थित विद्यार्थीको विषयमा विद्यालयले कति जिम्मेवारी लिने गरेको छ?

विद्यार्थी लगातार अनुपस्थित हुँदा अभिभावकसँग नियमित सम्पर्क गर्ने, घरभेट गर्ने वा अनुपस्थितिको कारण खोज्ने व्यवस्था छ कि छैन?

११. विद्यार्थी विद्यालयमा आएपछि पनि कक्षामा सक्रिय रूपमा सहभागी किन हुँदैनन्?

केवल विद्यालयमा उपस्थित हुनु मात्र पर्याप्त हो कि विद्यार्थीले सिकाइमा सक्रिय सहभागिता जनाउनु पनि आवश्यक छ?

१२. विद्यार्थीको सिकाइ उपलब्धि कमजोर हुनुको मुख्य कारण के हो?

के यसको कारण विद्यार्थीको नियमित उपस्थिति, शिक्षकको तयारी, अभिभावकको चासो, विद्यालयको व्यवस्थापन, घरको वातावरण वा यी सबै पक्षको संयुक्त प्रभाव हो?

१३. विद्यार्थीलाई विद्यालयमा आकर्षित गर्न हामीले के नयाँ कार्यक्रम सञ्चालन गर्न सक्छौँ?

विद्यालयलाई विद्यार्थीका लागि सिक्ने, खेल्ने, सिर्जना गर्ने र आफ्नो प्रतिभा देखाउने रमाइलो तथा सुरक्षित स्थान कसरी बनाउन सकिन्छ?

१४. हामी शिक्षकहरू आफ्नो कक्षाको सिकाइ उपलब्धिप्रति कति जिम्मेवार छौँ?

विद्यार्थी कमजोर हुँदा हामी केवल विद्यार्थीलाई दोष दिन्छौँ कि आफ्नो शिक्षण विधिको पनि समीक्षा गर्छौँ?

१५. “मेरो कक्षा, मेरो जिम्मेवारी” भन्ने भावना प्रत्येक शिक्षकमा कसरी विकास गर्न सकिन्छ?

१६. प्रत्येक शिक्षकले आफ्नो कक्षाका विद्यार्थीको सिकाइ सुधारका लागि व्यक्तिगत जिम्मेवारी लिन तयार छौँ?

१७. अभिभावक, शिक्षक र विद्यार्थीबीच नियमित संवाद कसरी स्थापित गर्न सकिन्छ?

१८. विद्यालयमा हुने बिदा, शिक्षक अनुपस्थिति र विद्यार्थी अनुपस्थितिलाई व्यवस्थित रूपमा कसरी घटाउन सकिन्छ?

१९. हामीले प्रत्येक महिनाको अन्त्यमा विद्यालयको शैक्षिक प्रगति मापन गर्ने व्यवस्था गर्न सक्छौँ कि सक्दैनौँ?

मुख्य प्रश्न

“हामी सामुदायिक विद्यालय कमजोर छ भनेर गुनासो गरिरहने कि—सुझाव र सल्लाह संकलन गर्दै यसलाई उत्कृष्ट बनाउने अभियान सुरु गर्ने?”

अब प्रश्न दोषी खोज्ने होइन, समाधान खोज्ने हो।

अब गुनासो गर्ने होइन, जिम्मेवारी लिने हो।

अब सामुदायिक विद्यालय कमजोर छ भन्ने होइन—हाम्रो सामुदायिक विद्यालय उत्कृष्ट बन्न सक्छ भन्ने विश्वास जगाउने हो।

हाम्रो संकल्प

मेरो कक्षा, मेरो जिम्मेवारी।

मेरो विद्यार्थी, मेरो जिम्मेवारी।

मेरो विद्यालय, हाम्रो साझा जिम्मेवारी।

अभिभावकको लगानी, शिक्षकको मेहनत, विद्यालय व्यवस्थापन समितिको सक्रियता, विद्यार्थीको लगनशीलता, स्थानीय सरकारको सहयोग र सरोकारवालाको निरन्तर अनुगमनबाट श्री निराजन माध्यमिक विद्यालयलाई उत्कृष्ट सामुदायिक विद्यालय बनाउने हाम्रो साझा अभियान हो।

हामी मिल्यौँ भने सामुदायिक विद्यालय सुधार सम्भव छ।

हामीले चाह्यौँ भने श्री निराजन माध्यमिक विद्यालय उत्कृष्ट बन्न सक्छ।

अब सुधारको सुरुवात हामी आफैँबाट गरौँ।

धर्म राज घर्ती मगरप्रधानाध्यापकश्री निराजन माध्यमिक विद्यालयढोरचौर, सल्यान

02/07/2026

कक्षा 12 को पुरक फाराम भर्न छुट भयका विद्यार्थी हरुले आज र भोलि 12 बजे भित्र बिद्यालयमा सम्पर्क सम्पर्क गर्नु होला । परिक्षा फाराम भर्न छुट भयमा बिद्यालय जवाफदेहि हुने छैन ।


निराजन मा बि
ढोरचौर सल्यान

14/06/2026

भाषा पनि एउटा महत्वपूर्ण सीप हो।
आजको समयमा शिक्षा मात्र होइन, शिक्षासँगै सीप पनि आवश्यक छ। सीप सिकेपछि जीवनमा विभिन्न अवसरहरू प्राप्त गर्न सहज हुन्छ।
यसै कुरालाई मध्यनजर गर्दै श्री निराजन माध्यमिक विद्यालय मा कक्षा ११ मा भर्ना हुने इच्छुक विद्यार्थीहरूका लागि अतिरिक्त रूपमा जापानी भाषा कक्षा सञ्चालन गर्ने व्यवस्था मिलाइँदै छ।
साथै, जापानी भाषा N4 तह उत्तीर्ण गर्ने विद्यार्थीहरूलाई विद्यालयबाट आवश्यक सहयोग तथा सहजीकरण गरिनेछ। यसले विद्यार्थीहरूलाई आत्मनिर्भर बन्न, रोजगारीका अवसरहरू प्राप्त गर्न तथा भविष्य निर्माणमा सहयोग पुग्ने विश्वास लिइएको छ।
त्यसैले, आफ्नो उज्ज्वल भविष्यका लागि यो अवसरको अधिकतम लाभ लिनुहोस्।
आजै श्री निराजन माध्यमिक विद्यालयमा कक्षा ११ मा भर्ना भई आफ्नो भविष्यलाई सीप र शिक्षासँग जोड्नुहोस्।
"शिक्षासँगै सीप, सीपसँगै आत्मनिर्भरता।"
धर्म राज घर्ती मगर
प्रधानाध्यापक
श्री निराजन मा बि सिद्ध कुमाख ३ ढोरचौर सल्यान

14/05/2026

कक्षा 11 को परिक्षा आबेदन फाराम भर्ने तथा समय तालिका सम्बन्धि सुचना

25/02/2026

शिक्षकले के गर्ने?
१ . विद्यार्थीहरुलाई आफ्नै सन्तानलाई झै माया ममता सहयोग र सहकार्य गर्ने
२. नियमित विद्यालयमा उपस्थित हुने र ठीक समयमा कक्षामा जाने निस्किने ।
३. सबै विद्यार्थीलाई समान ब्यवहार गर्ने, भेदभाव नगर्ने ।
३. विद्यार्थीहरुका समस्या सुन्ने र उचित समाधानमा सहयोग गर्ने ।
४. विद्यार्थीहरूलाई गलि गलौज वा शारीरिक वा मानसिक यातना नदिने ।
५. विद्यार्थीहरुको शारीरिक मानसिक र भावनात्मक विकासमा जोडदिने ।
६. विद्यार्थीका अन्तरनिहित प्रतिभा प्रष्फुटन वा विकासमा सहयोग गर्ने, प्रोत्साहन गर्ने ।
७. विद्यार्थीहरुको समस्या गोप्य राखि सम्बन्धित विद्यार्थी वा उसको परिवारलाई जानकारी गराउने र रचनात्मक सहयोग गर्ने ।
९. सकेसम्म विद्यार्थीहरुलाई AI को प्रयोग गरि गृहकार्य गर्ने कार्यमा निरुत्साहित गर्ने र रचनात्मक उतर लेख्न प्रोत्साहित गर्ने ।
१०. विद्यार्थिसंग रमाउने, उसका कुरा सुन्ने, सकरात्मक उर्जा प्रदान गर्ने, सहकार्य गर्ने, मित्रवत ब्यवहार गर्ने र विद्यार्थमा शिक्षक मेरा लागि हो भन्ने भावनाको विकास गराउने।
११. अभिभावकसंग नियमित सम्पर्कमा रहने, विद्यार्थीको प्रगति विवरण दिने, कमजोरि भए सुधारका सकरात्मक उपाय बताउने
१२. विद्यार्थीहरुका विवादलाई शौहार्दपूर्ण रूपमा समाधान गर्ने ताकि कसैले अन्यायमा परेको महशुस नगरोस ।
१३. प्रधानाध्यापकको निर्देशन तथा वि ब्य स को निर्णयलाई पालना गर्ने
१४. विद्यार्थी कक्षामा ढिलो प्रवेश गरेमा उसको समस्या बुझि समाधान गर्न सहयोग गर्ने ।
१५ . प्रभावकारी र उपलब्धि मूलक शिक्षणका लागि पूर्व तयारी गर्ने । शैक्षिक सामाग्री प्रयोग गर्ने , सम्भव भएसम्म प्रयोगात्मक शिक्षण गर्ने ।
१६. कक्षाकोठा रमाइलो बनाउन र विद्यार्थीलाई आफूतिर आकर्षण गर्न समय समयमा हल्का ब्यङ्ग गर्ने वा चुट्किला वा मुक्तक सुनाउने ।

23/02/2026

🌸 ३७ औँ वार्षिकोत्सवको पावन अवसरमा… 🌸
आज मेरो कर्मथलो, मेरो सपनाको थलो,
श्री निराजन माध्यमिक विद्यालय
सिद्ध कुमाख–३, ढोरचौर, सल्यान
३७ वर्ष पूरा गरी ३८ औँ वर्षमा प्रवेश गरेको छ।
म किन यो विद्यालयलाई यति धेरै माया गर्छु?
सायद यसको उत्तर मेरो हृदयमै लुकेको छ…
मेरो जन्मभूमि छत्रेश्वरी गाउँपालिका–२, खोरबारे हो। त्यहीँ जन्मिएँ, हुर्किएँ, बढेँ।
तर कर्मभूमि रोजेँ — यही ढोरचौरको माटो।
वि.सं. २०५६ साल भदौ १९ गते पहिलो पटक यस विद्यालयको प्राङ्गणमा पाइला टेक्दा मनमा अनेकौं सपना थिए।
त्यस समय आदरणीय अग्रज गुरु प्रधानाध्यापक ईश्वरी प्रसाद अधिकारी ज्यूको नेतृत्व,
कृष्ण भण्डारी सरको आत्मीयता,
तेज बहादुर कवर, दुर्गा बहादुर बोहरा, सुकलाल लामिछाने, भगवती श्रेष्ठ धिताल लगायत हामी केही साथीसँग मिलेर गरेका कर्म का ती दिनहरू आज पनि मानसपटलमा ताजा छन्।
त्यो समयका दुःख, अभाव, चुनौती…
तर मनमा थियो दृढ विश्वास —
“यो विद्यालय एक दिन अवश्य नमुना बन्नेछ।”
वि.सं. २०६१ साल भदौ ५ गते प्रधानाध्यापकको जिम्मेवारी समाल्दा मनमा एउटै प्रण थियो —
“यो विद्यालयलाई अगाडि बढाउने।”
सकि, नसकी जानि न जानी थोरै साधन र धेरै आत्मबलका साथ अघि बढ्दै आएँ।
आफूले पाउने प्रधानाध्यापक भत्ता पनि एउटा कोषमा जम्मा गर्दै
आज त्यस कोषमा ५३ लाखभन्दा बढी सम्पत्ति संकलन गर्न सफल भएका छौँ।
यो केवल रकम होइन,
यो मेरो विश्वास हो।
यो मेरो प्रतिबद्धता हो।
यो मेरो सपनाको बीउ हो।
अबको ५ वर्षभित्र
श्री निराजन मा.वि. लाई
पालिका कै नमुना र आत्मनिर्भर विद्यालय बनाउने दृढ अठोट लिएको छु।
तर यो सपना मेरो एक्लैको होइन।
यो सपना अभिभावकको साथले,
विद्यार्थीको मेहनतले,
शिक्षकको समर्पणले,
विद्यालय व्यवस्थापन समितिको सहयोगले,
गाउँपालिका, शिक्षा विभाग र मन्त्रालयको साथ र समर्थनले मात्र साकार हुनेछ।
मेरो कार्यकाल मा सबै को साथ सपोट माया र साथ ले प्राप्त गरेका केहि उपलब्धी हरु
१) २०६४ सालमा कक्षा ८ को अनुमति
२)२०६५ सालमा कक्षा ९ को अनुमति्
३)२०६६ सालमा कक्षा १० को अनुमति
४))२०७५ सालमा कक्षा ११ को अनुमति
५)२०७६ सालमा कक्षा १२ को अनुमति
६)२०७६ सालमा कक्षा ९ प्राबिधिक धार पशु बिज्ञान को अनुमति
७)२०७७ सालमा कक्षा १० प्राबिधिक धार अनुमति्
८)२०७८ सालमा कक्षा ११ प्राबिधिक धार अनुमति
९) २०७९ सालमा कक्षा १२ प्राबिधिक धार पशु बिज्ञान अनुमति प्राप्त
हाल यो बिधालय मा बिभिन्न ठाउ बाट आयर प्राबिधिक शिक्षा अध्यन गरिरका छन बिद्यार्थी हरु दार्मा गाउपालिका शारदा नगरपालिका कुमाख गाउपालिका कालिमाटी गाउपालिका बागचौर नगरपालिका छत्रेस्वरि गाउपालिका लगायत का ठाउ बाट
म आज ३७ औँ वार्षिकोत्सवको अवसरमा सबैमा विनम्र अपिल गर्दछु —
आउनुहोस्, हामी सबै मिलेर
यस विद्यालयको इतिहासमा स्वर्णिम अध्याय लेखौँ।
यो केवल विद्यालय होइन,
यो हाम्रो पहिचान हो।
यो हाम्रो भविष्य हो।
यो हाम्रो गौरव हो।
🙏
धर्म राज घर्ती मगर
प्रधानाध्यापक
श्री निराजन माध्यमिक विद्यालय
सिद्ध कुमाख–३, ढोरचौर, सल्यान
( हाम्रो बिधालय स्टाप हिजो र आज )

13/02/2026

हस्तलेखन सुधार कार्यक्रम सम्बन्धी सूचना
आदरणीय अभिभावक ज्यु,
नमस्कार।
श्री निराजन माध्यमिक विद्यालय, सिद्ध कुमाख–३, ढोरचौर, सल्यान मा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले विद्यालयले फागुन १ गतेदेखि फागुन ७ गतेसम्म एक हप्ते Handwriting (हस्तलेखन) सुधार कार्यक्रम सञ्चालन गर्ने भएको जानकारी गराउन चाहन्छौं।
उक्त कार्यक्रममा अनुभवी प्रशिक्षक श्री सुरेश पुन मगर ज्युबाट विशेष प्रशिक्षण प्रदान गरिनेछ। उहाँको मार्गदर्शनमा विद्यार्थीहरूले अक्षर स्पष्ट, सुन्दर र व्यवस्थित रूपमा लेख्ने सीप विकास गर्नेछन्।
राम्रो हस्तलेखनले विद्यार्थीको परीक्षा नतिजामा सकारात्मक प्रभाव पार्नुका साथै आत्मविश्वास, अनुशासन र एकाग्रता विकास गर्न महत्वपूर्ण भूमिका खेल्दछ।
यस कार्यक्रमको पूर्ण लाभ लिनका लागि आफ्ना छोराछोरीलाई नियमित रूपमा विद्यालय पठाइदिनु तथा घरमा पनि लेख्ने अभ्यास गर्न प्रेरित गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं।
विद्यालय र अभिभावकको सहकार्यबाट नै विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माण सम्भव हुन्छ भन्ने विश्वासका साथ यहाँहरूको साथ र सहयोगको अपेक्षा राख्दछौं।
धन्यवाद।
सादर,

धर्मराज घर्ती मगर
प्रधानाध्यापक
श्री निराजन माध्यमिक विद्यालय
सिद्ध कुमाख–३, ढोरचौर, सल्यान

20/01/2026

यस बिद्यालय मा कक्षा 12 को फाराम भर्न छुट भयका नियमित तथा आंशिक ग्रडेबृदि का बिद्यार्थिहरुले डबल दस्तुर सुल्कमा यहि माघ १० गते सम्म अनिबार्य फाराम भर्न को लागि अनुरोध छ ।

09/01/2026

आवश्यकता

Want your school to be the top-listed School/college in Salyan?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address

सिद्ध कुमाख गाउँपालिका ३ ढोरचौर सल्यान नेपाल
Salyan