कानून त चाहिन्छ नै, करुणा पनि चाहिन्छ कि ?
जीतबहादुर शाह
एकजना विद्यार्थी सधै पन्ध्र मिनेट ढिला आउँथे । शिक्षकले एक थप्पड हिर्काएर उनलाई ढिलो आएको सजाय दिन्थे । एकबिहान शिक्षक स्वयम्ले उक्त ढिला आउने विद्यार्थीलाई साइकलमा दौडदै घरघरमा दैनिक पत्रिका पु¥याएर दौडिरहेको देख्छन् । उनी यत्ति हतारमा देखिन्छन् कि एउटा घरमा पत्रिका पु¥याउन उनले आधामिनेट पनि लगाउदैनन् । तथापि त्यो दिन पनि ती विद्यार्थी कक्षामा पन्ध्र मिनेट ढिला नै पुग्छन् । त्यो दिन भने शिक्षकले उक्त विद्यार्थीलाई कुट्दैनन् । बरु अङ्गालोमा बाँधेर आँखाभरि आँशु पार्दै ‘मैले तिमीलाई आजमात्र राम्रोसँग चिने, मलाई माफ गर’ भनेर कक्षा अगाडि बढाउछन् । यस घटनामा शिक्षकले विद्यार्थीलाई सजाय दिदै आएका थिए । उद्देश्य विद्यार्थीलाई समयमै विद्यालयमा आउने गरी कानूनको पालना गराउनु थियो । विद्यार्थीको यथार्थ अवस्था बुझ्दा भने शिक्षकलाई बोध भयो कि उक्त विद्यार्थीका निम्ति कानूनको पालना गर्नु भनेको विद्यालयको पढाइ बन्द गर्नु वा सोसरह नै थियो । तथापि हरेक दिन सजाय पाउँदा पनि विद्यार्थीले कक्षामा आउन छोडेको थिएन । यो उसको पढाइ र अध्ययनप्रतिको लालशा थियो । जसलाई बोध गरेपछि शिक्षकभित्रको हिजोदेखिको कानुनले होइन कि आजदेखि करुणाले काम गर्न थाल्यो ।
नेपाली जनताले धेरै वर्षपछि अहिलेको सरकारले केही गर्छ भनेर विश्वास पनि गरेका छन् र त्यो विश्वास यो पङ्क्तिकारले पनि गरेको छ । तथापि छिटोछिटो काम गर्ने क्रममा कतिपय मुद्दाहरुमा कानूनको कार्यान्वयन गर्ने गराउने सवालमा केही प्रक्रियागत त्रुटीहरु भएका हुन् कि झै लाग्छ । भ्रष्टाचार गर्ने केही नेता र अन्य केही व्यक्तिलाई केही दिनको हिरासततिरको यात्रा गराएपछि अहिले सरकार सुकुम्बासी बस्तीमा डोजर चलाउने काममा भिडेको छ । सरकारी जग्गा हडपेर बसेका जोकोहीलाई पनि नछाड्ने गरी सरकार अहोरात्र खटेको छ । यस अर्थमा स्पष्ट देखिन्छ कि सरकार कानूनलाई अक्षरशः कार्यान्वयन गर्ने गराउने पक्षमा छ । ठिक यही अवस्थामा अर्थात डोजर चलाएर घर भत्काउने क्रममा कक्षा १२ को परीक्षा दिइरहेका कतिपय विद्यार्थीहरुको अध्ययनमा आघात परेको छ । साना बालबालिकाहरुले अब फेरि हाम्रो भेट हुदैन भनेर आफूसँग भएको हैसियत अनुसारको मायाको चिनो बाँडेर विदा भएका दृश्यहरु पनि सामाजिक सञ्जालहरुमा आएका छन् । दुईजनाले त आत्महत्या नै गरेको खवर सतहमा आएको छ । एकजना किसानले ‘मेरा गाइभैसी र बस्तुभाउ छन् । व्यवस्था गर्न एकहप्ता समय चाहियो भन्दा पनि मैले समय पाइँन । मलाई गोली हानेर हजूरहरुलाई शान्ति मिल्छ भने हान्नोस्’ भनेका कारुणिक दृश्यहरु पनि मनै छुनेगरी बाहिरिएका छन् ।
कानूनलाई भन्दा करुणालाई मध्यनजर राखी न्यायाधीसहरुले पनि फैसला गर्ने गर्दछन् । अमेरिकामा एकजना फ्रान्सेस्को काप्रियो नामका न्यायाधीसले एकपटक ९० वर्षका वृद्ध ट्राफिक नियम मिचेको आरोपमा उनको इजलासमा आए । ती वृद्धले आफ्नो क्यान्सर पीडित छोरालाई अस्पताल लैजाँदै गर्दा गल्ती भएको बताए । न्यायाधीश काप्रियोले ती वृद्धको विवशता देखेर ‘तपाईँले आफ्नो परिवारको लागि जे गर्नुभयो, त्यो महान् छ’ भन्दै जरिवाना मिनाहा गरिदिएका थिए । इटालीको सर्वोच्च अदालतले सन् २०१६ मा रोममा एक भोको व्यक्तिले सुपरमार्केटबाट थोरै चिज र ससेज चोरेकोमा तल्लो अदालतले उनलाई सजाय सुनायो, तर सर्वोच्च अदालतले भन्यो— ‘बाँच्नका लागि अत्यन्तै थोरै खाद्यान्न लिनु अपराध होइन, किनकि बाँच्न पाउनु आधारभूत अधिकार हो ।’ अरुणा शानबागको मुद्दामा भारतको सर्वोच्च अदालतले कानूनमा स्पष्ट व्यवस्था नहुँदा नहुँदै पनि मानवीयतालाई आधार बनाएर निष्कृय इच्छामृत्युको बाटो खोलेको थियो । ४२ वर्षसम्म अचेत अवस्थामा रहेकी अरुणाको पीडा देखेपछि अदालतले ‘सम्मानपूर्वक मर्न पाउनु पनि जीवनकै अधिकारको हिस्सा हो’ भन्दै मानवीय आधारमा नयाँ कानूनी सिद्धान्त प्रतिपादन गरेको थियो ।
उल्लिखित दृष्टान्तहरुबाट पनि पुष्टि हुन्छ कि मानवीयता र करुणा भन्दा कानून ठूलो हुन सक्दैन । बरु मानवीयता र करुणालाई क्षतविक्षत गर्न होइन कि संरक्षण र प्रवर्धनका लागि कानूनको आवश्यकता पर्दछ । अदालतले कानूनलाई त्यागेर केवल भावनाको भरमा मात्र फैसला गर्न त मिल्दैन तर न्यायको आत्मा नै मानवीयता हो भन्ने कुरा भने भुल्नु हुदैन । कानूनको परिधि र कठघराभित्र रहेर सम्भव भएसम्म करुणा र विवेकको प्रयोग गर्नु नै एक सफल र निष्पक्ष न्यायप्रणालीको विशेषता मानिन्छ । मेरो आसय नेपालको अहिलेको परिवेशलाई हेर्दा सुकुम्वासीका घर भत्काउदा पनि मानवीयता र करुणाको प्रयोग गर्नु सकिन्थ्यो भन्ने हो । सकेसम्म कम क्षति हुने गरी वास्तविक सुकुम्वासीहरुको व्यवस्थापन गर्न सकिन्थ्यो भन्ने हो । वास्तविक सुकुम्वासीहरुलाई बसिरहेको स्थानबाट उठाउने क्रममा उनीहरुले दुखजिलो गरेर जोहो गरेका भाडावर्तन, लत्ताकपडा लगायतका अतिआवश्यक सामग्रीहरु फेरि अर्को स्थानमा व्यवस्थापन भएर जाँदाखेरी पुनः प्रयोग हुने गरी नष्ट हुनबाट जोगाउन सकेको भए सरकार र सुकुम्बासी दुवै पक्षलाई फाइदा हुन्थ्यो कि भन्ने हो । किनभने सुुकुम्वासीहरुलाई व्यवस्थापन गर्ने क्रममा सरकारसँग पनि भोली सुकुम्वासीहरुले जे भन्यो त्यही पु¥याउन सक्ने त्यत्ति धेरै हैसियत त छैन भन्ने कुरा स्पष्टै छ ।
सरकारी एवम् संवैधानिक निकायहरुले समेत उनीहरुले गर्ने कार्यहरुलाई प्रवद्र्धनात्मक, निरोधात्मक र दण्डात्मक कार्य गरेर तीन चरणमा विभाजन गरिएको हुन्छ । प्रवद्र्धनात्मक कार्य अन्तर्गत जनचेतनामूलक कार्य, यो गर्दा के हुन्छ र नगर्दा के हुन्छ ? जस्ता विषयमा अन्तरक्रिया जस्ता कार्यहरु पर्दछन् । निरोधात्मक कार्य अन्तर्गत सम्बन्धित क्षेत्रको अनुगमन निरीक्षण र त्यसो नगर्नका लागि सावधानी र चेतावनी दिनेजस्ता कार्यहरु पर्दछन् भने दण्डात्मक कार्य अन्तर्गत सजाय र कार्वाहीका कुराहरु पर्दछन् । सरकारले सुकुम्वासी व्यवस्थापन गर्ने सवालमा प्रवद्र्धनात्मक र निरोधात्मक कार्यहरुको तुलनामा दण्डात्मक कार्यलाई बढी प्राथमिकता दियो कि भन्ने गुनासो छताछुल्ल भएको देखिन्छ । दण्डात्मक कार्य नै गर्नु परेको थियो भने पनि जो होचो उसैका मुखमा घोचो नगरेर सबैभन्दा पहिले सुकुम्वबासीका नाममा पाँच तले र साततले बिल्डिङ बनाएर बसेका हुकुमबासीहरुका घरमा डोजर लगाएको भए त त्यत्तिबेलासम्म वास्तविक सुकुम्बासीहरुले आफ्नो आपतकालीन व्यवस्थापन गर्नका लागि समय पाउथे र उनीहरु मानसिक हिसाले पनि तयार हुन्थे जस्तो लाग्छ । यहाँ त सुकुम्बासीका घर र टहरा भत्काउन भूकुम्प आउनु र सरकार आउनु उस्तैउस्तै पारा अपनाएपछि लोकतान्त्रिक सरकारको अर्थ पो के रह्यो र !
पहिले पहिले सरकारहरुले नागरिकलाई सेवाप्रवाह गर्ने प्रयोजनका लागि अवसरको सिर्जना गर्ने कामलाई प्राथमिकता दिएको अवस्था थियो । जस्तो कि पढ्न, लेख्नका लागि विद्यालय र कलेजको स्थापना गर्ने, स्वास्थ्य उपचारका लागि अस्पताल र स्वास्थ्य चौकीहरुको स्थापना गर्ने, शान्ति सुरक्षाका लागि प्रहरी चौकीको स्थापना गर्ने, आवतजावतका लागि सडक र बाटोघाटोको व्यवस्था गर्ने आदि आदि । अहिले त्यत्तिमात्रैले नपुगेर कतिपय अवसर दिदा पनि त्यो अवसरको उपयोग गर्न नसकेका नागरिकका निम्ति फरक किसिमले थप व्यवस्था गरेको अवस्था छ । जस्तो कि घरैनेर विद्यालय त छ तर त्यो घरबाट विद्यालयमा बालबालिका लेखपढ गर्न जाँदैनन् भने किन जाँदैनन् भन्ने कुराको अध्ययन गर्दै शिक्षालाई निशुल्क गरेर हुन्छ कि ? विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेर हुन्छ कि ? अभिभावकलाई अवसर लागतको प्रवन्ध गरेर हुन्छ कि ? जस्ता सकारात्मक विभेदनका कार्यहरु अघि सारिरहेको अवस्था छ । मेरो आसय, सकुम्बासीहरुका घरटहरामा डोजर चलाउनु पूर्व सरकारले यस्ता कुरा पनि ध्यान दिनु पर्ने होइन र ? वास्तविक सुकुम्वासी र सुकुम्वासीका नाममा देखिएका हुकुमबासीहरुलाई गर्ने व्यवहारमा सरकारले तात्विक भिन्नता देखाउन नसके पछि सरकार लोकतान्त्रिक धरातलमै टेकेर काम गर्दैछ भन्ने आधार त दिउसै बत्ती बालेर खोज्नु पर्ने भएन र ?
लोकतान्त्रिक सरकारहरुले अघि सारेको सकारात्मक विभेदनको कार्यक्रम अहिले विश्वभरि प्रभावकारी र लोकप्रिय हुदै गइरहेको देखिन्छ । यो भनेको समान उपलब्धि हासिल गर्नका लागि गरिने असमान व्यवहार हो । यसलाई अझै किटानीका साथ भन्नुपर्दा घरनेरै विद्यालय भएर पनि विद्यालय जान नसक्ने विपन्न आर्थिक अवस्था भएका बालबालिकालाई छात्रवृत्तिको व्यवस्था गर्नु एकप्रकारको सकारात्मक विभेदन हो । किनभने यो सबैलाई दिइदैन । यो त्यस्तालाई दिइन्छ, जो छात्रवृत्ति पाएपछि विद्यालयमा जान सक्छ । उद्देश्य यत्ति थियो कि कमजोर आर्थिक अवस्थाको बालबालिका पनि अरुजस्तै गरी नियमित रुपमा विद्यालयमा आएर अध्ययन गर्न सकोस् । सरकारले यसप्रकारको लोकतान्त्रिक पद्धति र प्रक्रिया सुकुम्बासी उठाउने प्रक्रियामा अवलम्बन गर्न नसकेको गुनासो सर्वत्र गरिएको छ । कम्तिमा वास्तविक सुकुम्बासीहरुको लगत सङ्कलन गरेर उनीहरुलाई बसोवासको विकल्प दिदै त्यहाँबाट आफूखुसी उठ्न प्रोत्साहित गर्नु पथ्र्यो । त्यत्ति गर्न नसके पनि नाममात्रका सकुुम्बासीहरुलाई सबभन्दा पहिले छानीछानी डोजर चलाएको भए मानिसको मन त्यत्ति साह्रो आक्रोसित हुदैनथ्यो जति अहिले आक्रोशित छ । सुत्केरी, बालबालिका, विरामी, बृद्धबृद्धा आदि कसैलाई पनि नचिनेझै गरी घरटहरा भत्काउनु भनेको करुणा, विवेक र मानवतालाई बिर्सिएर गरिएको व्यवहार भएन र ?
सुकम्वासीका वस्तीहरुमा भएका सामाजिक र धार्मिक संघसंस्थाहरु– मठमन्दिर, गुम्बा, चर्च र विद्यालयहरु पनि भत्काइएका छन् । यत्तिसम्म त नगरेको भए पनि हुन्थ्यो कि ? किनभने यी त्यस्ता संस्थाहरु हुन् जो त्यहाँ मानिस नबस्ने भएपछि स्वतः हराएर जाने स्थिति आउथ्यो । सरकारको स्वामित्वमा रहेको जग्गाजमीनमा भएका यस्ता संरचनाहरु सरकारले पछि पनि उपयोगमा ल्याउन सक्ने स्थिति आउथ्यो । कसैले सार्वजनिक जग्गामा बनाएको संरचना त व्यक्तिले आफ्नो हो भनेर जिकीर गर्न पनि सक्ने स्थिति हुदैनथ्यो । सम्बन्धित पक्षले जिकीर गरेर व्यक्तिगत हिसावले प्रयोग गर्ने काम जारी राख्यो भने तत्पश्चात डोजर चाहिन्थ्यो होला पनि । अर्को कुरा, सरकारले यस्ता विषयमा राजनीतिक दलहरुसँग बसेर अन्तरक्रिया गरेको भए पनि जाति हुन्थ्यो । किनभने यो प्रत्यक्ष नागरिकसँग जोडिएको सवाल थियो । अपराधीलाई समातेर हिरासतमा राख्ने र सुकुम्बासीका बस्ती उठाउने विषय अत्यन्तै भिन्न विषयहरु हुन् भन्ने लाग्छ मलाई ।
प्राकृतिक प्रकोपहरुबाट पनि मानिसहरुका हाँसो, खुसी खोसेर पीडा, बेदना र छटपटीहरु थप्ने काम त हुन्छ नै । ठुलाठुला विश्वयुद्धका विभिषिकामा परेर मानिसहरुले विभत्स किसिमले जिन्दगी बाँचेको वा समाप्त पारेका कथाहरु पनि देखिन्छन् र पढिन्छन् नै । तथापि सानातिना सवालहरुमा सामान्य नागरिकलाई सुरक्षित गर्न सकिने विभिन्न विकल्पहरु हुँदाहुदै पनि त्यो पनि सत्तामा करिवकरिव दुई तिहाइ बहुमतका साथ बहाल भएको सरकारले मानिसको ह्रदयमा चोट पर्ने गरी यो काम हतारो गरेर नगरेको भए उत्तम हुन्थ्यो कि जस्तो लाग्छ । सरकारका बिरोधीहरुले यसै पनि भनिरहेकै छन् सरकारलाई दुईतिहाइको मात लागि रहेको छ । यो सरकारले अब केही गर्छ भनेर आश गरेकाहरुले समेत ओठ लेब्य्राउने स्थिति आयो भने बाँकी के पो रह्यो र ! मानवता र करुणा भनेको यस्तो चिज हो, जसलाई अदालतहरुले समेत केन्द्रविन्दूमा राखेर कतै न्यायालयको फैसला निर्मम र क्रुर त हुदैछैन भनेर सोच्ने गर्दछन् । सच्चिने अवस्था सरकारलाई प्रशस्त छ, हनिमुन पिरियड आधाभन्दा बढि अझै बाँकी छ । एक्सनमा आउँदा मानवता, समता र निष्पक्षतालाई केन्द्रविन्दूमा राखेर काम गरियो भने सबै कुरा ठिक हुदै जान्छ । बाँकी जो हजूरहरुको मर्जी ।
मिति २०८३ साल बैशाख २४ गते बिहीबार
Jit Bahadur Shah
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Jit Bahadur Shah, Educational consultant, Nepalganj.
त्रिभुजीय शिक्षा ः अबको प्रभावकारी विकल्प
जीतबहादुर शाह
प्रसिद्ध लेखक डि.एच. लरेन्सले भनेका थिए : ‘यो धर्तीलाई जोगाउने हो भने हाम्रा विद्यालय र कलेजहरु कम्तिमा दुईसय वर्षका लागि बन्द गर्नुपर्दछ ।’ उनको भनाइको अर्थ यो थियो कि विद्यालय र कलेजले विद्यार्थीहरुलाई कितावी किरो बनाउन थाले । अक्षरहरु चिनेर पुस्तकहरु घोकेकै भरमा मानिसहरु विद्वानहरुमा दर्ज हुन थाले । तिनै विद्वानहरु समाज र मुलुकका लागि भन्दा पनि आफ्नो व्यक्तिगत जीवन र आफूसँग नजिकमै रहेका आफन्त र परिवारका सदस्यहरुको निम्ति मात्र समर्पित हुन थाले । जब कि उक्त व्यक्तिलाई त्यत्तिसम्मको शिक्षा दिनका लागि व्यक्ति आफूले त लगानी त गरेको छ नै । यसको अतिरिक्त राज्यले समेत उसको निम्ति लगानी गरेको छ, जुन कुरा शिक्षा लिएर विद्वान भइसक्दा पनि विद्वान भएँ भनेर अभिमानको भारीले थिचिएको तथाकथित विद्वानलाई समेत यसको बारेमा त्यत्ति हेक्का छैन । हेक्का छैन भनेर मैले यसकारण भनेको हो कि हेक्का हुन्थ्यो भने उसले राज्यको निम्ति केही गर्नु पथ्र्यो जस्तो लाग्छ । राज्यले दिएको शिक्षाबाट भएको विद्वानले आफ्नो विद्वताको उपयोग गरेर राज्यका निम्ति केही गर्नु पर्दैन र ? डि.एच. लरेन्सले यसकारण माथि उल्लेख गरेको कुरा आफ्ना लेखहरुमार्फत सार्वजनिक गरेका हुन् ।
त्रिभुजीय शिक्षाका प्रवर्तक आचार्यश्री पथिकको भनाइ यस्तो रहेको छ – ‘सम्पूर्ण पढाइ र शिक्षाको प्रतिफललाई दुई भागमा बाँड्न सकिन्छ ः अविद्या र विद्या । पढाइ र शिक्षाबाट प्राप्त भएको बर्तमान नतीजा जस्तै धार्मिक राजनीतिक विकृति, व्यापारिक अनैतिकता, युद्ध र सामाजिक विसङ्गति, विकार, विज्ञान र प्रविधिबाट निस्केका नकारात्मक प्रतिफल आदि सबै अविद्याका परिणाम हुन् । यसरी शिक्षाबाट क्लेश, द्वेष, हिंसा तथा अमानवीयतालाई जन्म दियो भने त्यो अविद्या हो ।’ साँच्ची अहिले पढेलेखेकै मानिसहरुबाट नै सामाजिक विसङ्गतिहरु बढाउने गरी विभिन्न हरकतहरु भइरहेका छन् । यस्तै कुराहरुलाई मध्यनजर राखी पाश्चात्य मुलुकहरुले शिक्षा आर्जन गरेका मानिसहरुलाई रोजगारी र सेवासुविधा पनि दिने र उनीहरुबाट कर पनि लिने जस्ता कुराहरुको सुनिश्चिता ग¥यो । मुलुकमा सुशासन कायम गर्नका लागि कानूनको निर्माण, कार्यान्वयन, पालना र नियममा पनि तुलनात्मक रुपले हाम्रोतिर भन्दा अलि बढि निर्मम भयो । यसकारण त्यस्ता मुलुकका मानिसहरु स्वाभाविक रुपमा राज्यप्रति बफादार र जिम्मेवार हुदै अघि बढे । तथापि राज्यको निम्ति केही गर्नुपर्छ भन्ने सोच भित्रैदेखि त्यस्ता मुलुकका नागरिकहरुमा पनि जति पलाउनु पथ्र्यो त्यत्ति पलाएको देखिदैन । त्यता पनि पढेलेखेकै शिक्षितहरुबाट अनाचार, दुराचार र भ्रष्टाचारजन्य हरकतहरु भइरहेका छन् । यत्ति हो कि यहाँको जस्तो त्यहाँ कर्मैपिच्छे कुकर्म पनि गरेको देखिदैन ।
महात्मा गान्धीले भनेका पनि छन् –‘विद्याका साथ जीवनको आदर्श उच्च हुदैन भने पढ्नु व्यर्थ छ ।’ साँच्ची भन्नु पर्दा हाम्रो तिर शिक्षाले मानिसलाई विद्वान बनायो । यसका साथमा बाठो पनि । बाठो पनि यस्तो बाठो बनायो कि कविशिरोमणी लेखनाथ पौडेलले तरुण तपसीमा ‘मै खाउँ, मै लाउँ, अरु सब मरुन् दुर्वलहरु’ भनेर लेखेका जस्तै । यसको एउटै कारण हो, उनीहरुले आचार्यश्री पथिकले भनेझै विद्या सिकेनन् कि कुविद्या सिके । किन सिके त कुविद्या ? यसको कारण स्पष्ट छ कि हामीले दिएको शिक्षा जानकारीमूलक भयो । हामीले राम्रो शिक्षक कस्तो हुनु पर्दछ भनेर घोकायौं तर व्यवहारमा गरेर देखाउनका लागि बाध्य बनाएनौं । यसरी व्यवहारमा हेर्न नपर्ने गरी वा भनौं घोकेर मात्र पुगिहाल्ने गरी शिक्षा दिन थालियो भने यस्ता मानिसहरु व्यावहारिक हिसावले अब्बल हुन सक्दैनन् । किनभने व्यवहारलाई अवलोकन र मूल्याङ्कन गर्नका लागि हामीसँग प्रभावकारी पद्धति नै छैन । बरु सैद्धान्तिक परीक्षामा अब्बल देखिएका विद्यार्थीको सैद्धान्तिक पक्षलाई नै मानक मानेर व्यवहारिक पक्षको पनि समानान्तर किसिमले मूल्याङ्कन गर्ने पद्धति हाम्रा विद्यालय र कलेजहरुमा हावी भइरहेको देखिन्छ ।
सबै विद्वान र वैज्ञानिकहरुले पुष्टि गरिसकेका छन् कि विचार र चिन्तनको हिसावले मस्तिष्कका तीन भाग छन् ः बाँया मस्तिष्क, दाँया मस्तिक र पछाडिको मस्तिष्क । बाँया मस्तिष्कलाई चेतन मस्तिष्क (कन्सस् माइन्ड), दाँया मस्तिष्कलाई अर्धचेतन मस्तिष्क (सवकन्सस् माइण्ड) र पछाडिको मस्तिष्कलाई अवचेतन मस्तिष्क (अनकन्सस् माइन्ड) भनिन्छ । शिक्षाको क्षेत्रमा मानिसको देबे्र मस्तिष्कले गर्ने प्रमुख कार्यहरु भनेको तर्क गर्ने, विश्लेषण गर्ने, विचार र छलफल गर्ने, कण्ठ गर्ने, सम्झिने, नक्कल गर्ने आदि पर्दछन् । यसैगरी दाँया मस्तिष्कले गर्ने कामहरु भनेका सिर्जर्ना, अन्तर्दृष्टिपूर्ण चिन्तन, कला (साहित्य, सङ्गीत, चित्रकला), परिकल्पना र अनुभूतिजन्य कार्यहरु पर्दछन्् । त्यसैगरी मानिसको पछाडिको मस्तिष्क अर्थात मेडुला ओब्लागाटाले गर्ने काम भनेको रहष्यद्रष्टाको काम हो । जसले वर्तमानको मात्र नभइ भूत र भविष्यलाई समेत अध्ययन र अवलोकन गर्न सक्छ । कतिपय सिद्धहस्त पुरुष र सन्तमहात्मा र योगीहरुले यो मस्तिष्कलाई सक्रिय बनाएर काम गरेको अवस्था पनि छ । तथापि सामान्य मानिसहरुले यो काम गर्न नसकेको अवस्था छ । यदि सामान्य मानिसले आफ्नो, जप, तप, योग, ध्यान आदिको माध्यमबाट यो काम गर्न सक्यो भने त्यो मानिस महामानव अर्थात देवत्व भएको माानिसमा परिणत हुन्छ जसरी गौतम बुद्ध, ओशो रजनीश, जिसस्, इब्राहिम, नानक र कविरहरु भए ।
आचार्यश्री पथिकका अनुसार हाम्रो अहिलेको शिक्षाले मस्तिष्कको देब्रे पाटोलाई मात्र कामयावी बनाएको छ । देब्रे मस्तिष्कले जे काम गर्दछ अहिलेको मानिसले पनि त्यही काम गर्दछ । जसले गर्दा मानिस मानवीय हुन सकेन, करुणा र हार्दिकताले पूर्ण पनि हुन सकेन । परिणामस्वरुप मानिस अरुको भलो भन्दा पनि आफ्नो भलोको कुराको बारेमा पनि विद्वता छाँट्न थाल्यो । निजामति ऐन संशोधन गर्दा निजामति सेवाका उच्चपदस्थहरुले नितान्त आफैसँग सम्बन्धित कुलिङ पिरियडको बारेमा लफाडा गरेजस्तै । लोकसेवा आयोगको परीक्षामा उत्कृष्ठ हुनेहरुले नै जागिरमा हाजिर भएदेखि भ्रष्टाचारजन्य कर्ममा लिप्त भएजस्तै । शिक्षक सेवा आयोगको परीक्षामा टपटेनमा निस्कनेहरुले नै विद्यालयमा गएर जाँगर लगाइ अध्यापन गर्नुको सट्टा अर्को जागिरमा जानका लागि तयार गरेजस्तै । यत्तिबेला मानिसको मनभित्र करुणा, दया, प्रेम, मानवता, हार्दिकता जस्ता अनुभूतिहरु फष्टाउने गरी शिक्षा दिन सकेको भए मानिसहरु यत्ति तल झरेर आफ्नो निम्ति मात्रै मरिहत्ते गर्ने स्थिति हुने थिएन भन्ने तर्क अनुसन्धाताहरुको रहेको छ ।
शिक्षा आर्जन गर्ने क्रममा कक्षाकोठाभित्र बसेर पुस्तक पल्टाउदै र शिक्षकका प्रवचन टिप्दै गरिने सिकाइले घोक्ने, कण्ठ गर्ने, तर्क गर्ने र विश्लेषण गर्ने कार्यभन्दा माथि उठ्न नसकिने रहेछ । यदि विद्यार्थीहरुलाई अरुको दुख कष्टहरुलाई आफूले पनि भोग्नका लागि अवसर दिने हो भने विद्यार्थीहरुमा पनि स्वभावैले दुःख पाउनेहरुप्रति आत्मीयता, सह्रदयता र सहयोगको भावना बढ्ने हुन्छ । विद्यार्थीहरुलाई उकालो चढ्ने, खोला तर्ने, भारी बोक्ने, पसिनाले निर्थुक्क हुने गरी खेतबारीमा काम गर्ने, आफू एक्लैले गर्न नसकिने समस्याको समाधानका लागि साथीहरुसँग मिलेर काम गर्ने जस्ता अवसरहरु दिन सकियो भने विद्यार्थीहरुले गर्ने यस्ता कामहरुबाट त्यस्ता भोगाइहरुको अनुभूति गर्न सक्छन् जसका कारणले त्यस्तो कर्म गर्नेहरुप्रति उनीहरुको मनमा घृणा र अपहेलना होइन कि इज्जत र सम्मान पैदा हुने गर्दछ । यसका लागि विद्यालयहरुले विद्यार्थीहरुलाई व्यावहारिक र प्रयोगात्मक कार्यहरु गर्ने अवसर दिनु पर्दछ । फिल्डमा गएर विभिन्न प्रकृतिका मानिसहरुसँग अन्तरङ्ग कुराकानी गर्ने परिवेश सिर्जना गर्न सक्नुपर्दछ ।
विद्यार्थीले आर्जन गरेको ज्ञानलाई प्रमाणित गर्ने काम त्यसको प्रयोगबाट सम्भव हुन्छ । शिक्षाले जब प्रयोगको लागि अवसर पाउछ, यो परिवेशले दाँया मस्तिष्कलाई सक्रिय बनाउँछ । शिक्षकले अहिलेको इन्टरनेट, एआइ र ग्लोबल भिलेजको युगमा शिक्षालाई बाँया मस्तिष्कको पर्खालभन्दा बाहिर निकालेर दाँया मस्तिष्कको हराभरा उपत्यकातिर लैजानु पर्दछ । जहाँ व्यक्तिले भोगेर सिक्दछ, गरेर सिक्दछ, देखेर सिक्दछ, अरुसँग अन्तरङ्ग छलफल गरेर सिक्छ । यसबाट विद्यार्थीको सिर्जनशीलता, कल्पनाशीलता, अनुभूति, सम्बेदना र भावनाहरुको विकास हुन्छ । मस्तिष्कको दाँया मस्तिष्कको उपयोग गरेपछि मानिस मानवीय किसिमले अघि बढ्छ । अरुलाई होचोअर्घेलो र अन्याय गर्न सक्दैन । गर्नु परेपनि गर्नुभन्दा पहिले हजारपटक सोच्दछ । मैले कुनै व्यक्तिलाई अन्याय गरें भने उसलाई कति पीडा होला ! के मैले गर्ने त्यो कर्मले मलाई खुसी र शान्तिसँग बाँच्न देला त ! यस्तै कुराको चिन्तन गर्दै अन्ततः उसले आफूलाई गलत कार्यबाट सकेसम्म टाढा राख्दछ । यसबाट अब मानिस अविद्याको सिकार हुदैन कि बरु मानिस आफूले आर्जन गरेको शिक्षालाई अरुको समेत भलाइ हुने गरी उपयोग गर्दछ । गुरु आचार्यश्रीको शब्दमा यसैलाई भनिन्छ विद्या ।
त्रिभुजीय शिक्षाका प्रवर्तक आचार्यश्री पथिकको विचारमा मानिसमा आफूमा भएको क्षमता, दक्षता र प्रतिभालाई पूर्ण रुपमा प्रयोग गर्नका लागि मानिसका तीनओटै मस्तिष्कलाई सक्रिय हुने गरी शिक्षा दिनु जरुरी छ । अहिलेको बाँया मस्तिष्कमात्रै सक्रीय गराउन उद्यत शिक्षाले मानिसलाई लोभीपापी, छद्मभेषी, चतुर, चलाख र बाँठो बनायो । उसको यो स्वभावले अरुको भलो गर्न त नसक्ने नै भयो । त्यसैले यो धर्तीलाई जुगौजुगसम्म शिक्षाको मलजल दिएर मानवयोग्य बस्तीको रुपमा विकास गर्ने हो भने शिक्षाको तीनओटै मस्तिष्कहरु सक्रिय हुने गरी शिक्षा दिनु जरुरी छ, जसलाई आचार्यश्री पथिकबाट त्रिभुजीय शिक्षा नामाकरण गरिएको छ । यसो गर्न सकियो भने शिक्षा आर्जन गर्ने क्रममा प्रेमका नाममा आफ्नै प्रेमीको बलात्कार गरेर हत्या गर्ने काम पनि हुने छैन, आफूलाई दुःख गरेर जन्माए हुर्काएका बाबाआमालाई काम नलाग्ने बस्तुलाई डष्टबीनतिर फ्याकेजस्तै बृद्धाश्रमतिर लिएर थन्क्याउने (फ्याक्ने) काम पनि हुने छैन् र राष्ट्रसेवकको पगरी लगाएर त्यही राष्ट्र र त्यही राष्ट्रका नागरिकलाई डुवाउने गरी कर्म पनि कुनै राष्ट्रसेवकबाट पनि गरिने छैन ।
साना बालबालिकाको देव्रे भन्दा दाहिने मस्तिष्क सक्रिय हुन्छ । यस्तो अवस्थामा बालबालिकाहरुलाई त्यस्तै किसिमका गरेर सिक्ने, भोगेर सिक्ने, देखेर सिक्ने क्रियाकलापहरु गराएर शिक्षा दिन सकियो भने सिकाइ अर्थपूर्ण हुन्छ । यसरी गरिने क्रियाकलापहरुको सूची लामै बनाउन सकिन्छ । उनीहरुमा क्रमशः सुनाई र बोलाई सिपको विकास भएपछि मात्र पढाइ र लेखाइ सिपको विकासतिर लाग्नु पर्ने हुन्छ । सुनेको कुरा, बोलेको कुरा, देखेको कुरा, भोगेको कुरा, आफैले पसिना बगाएर गरेको कामकुरा लेख्न पाउँदा र पढ्न पाउँदा कति रमाइलो र आनन्द होला भन्ने कुराको बोध हुने अवस्थामा मात्र पढाइ र लेखाइका कामकुरा गर्नुपर्दछ । यसरी क्रमशः शिक्षामा योग, प्राणायाम्, ध्यान, आत्मशिक्षाजस्ता क्रियाकलापहरुलाई शिक्षण विधिको रुपमा अन्तरघुलन गर्न सकियो भने त यसले दक्ष जनशक्तिमात्र होइन कि मुलुक र विश्वमै उज्यालो छर्ने महामानव पनि जन्माउन सकिन्छ । यसको लागि बाहिरबाट केही गर्नै पर्दैन । सबैकुरा बालबालिका र विद्यार्थीहरुले आफ्नो मस्तिष्कमा जन्मजात ल्याएर आएका हुन्छन् । चुनौती भनेकै बालबालिकाले के ल्याएर आएको हुन्छ भन्ने कुरा पत्ता लगाउने हो । पत्ता लगाउनका लागि विद्यार्थीलाई राम्रो सँग नचिनेरै घोकाउनतिर लागेर हुदैन । बालबालिकालाई उपयुक्त शिक्षण परिवेशको सिर्जनाका माध्यमबाट राम्रोसँग बुझेर मात्र शिक्षणको ढाँचा तयार गरी अघि बढ्नु पर्दछ । यसो गर्न सकियो भने अहिलेको सरकारले नलिने भने भनी निर्देश गरेका लिखित परीक्षाहरु पनि लिन जरुरी हुने छैन ।
२०८२ साल बैशाख १ गते मङ्गलबार
14/04/2026
नयाँ वर्ष २०८३ को सबैमा हार्दिक मङ्गलमय शुभकामना ।
परीक्षा किन नलिने ? लिने नै भए, कसरी लिने ?
जीतबहादुर शाह
हिजोआज विद्यार्थीहरुको निम्ति परीक्षाको मौसम चलिरहेको छ । यो मौसमले विद्यालयमा भर्ना भएका सबै उमेरका बालबालिकाहरुलाई छोएको छ । यो मौषमले मेरो चारवर्षको सानो साथी (नाती) लाई पनि छोएको छ । एकदिन मेरो नाति (सानो साथी) लाई सँगै लिएर विद्यालयतिर जाने क्रममा उनी हिड्दाहिड्दै अचानक बाटोमा उभिएर दुईहात जोड्दै आकाशतिर हेरेर भनेँ ः ‘मलाई घरमा र विद्यालयमा मसँग कसैले पनि कराएको र कचकच गरेको मन पर्दैन । यो कुरा उनीहरुलाई भन्दिनु न भगवान् !’ उनको यो अनौठो कुराले मलाई निशब्द र आश्चर्यचकित बनायो । सकेसम्म घर विद्यालयको वातावरण बालबालिका सुहाउँदो पनि बनाउन प्रयास गरेकै हो । तथापि हामी घरकाले र विद्यालयले पनि परीक्षाको तयार गर्ने नाममा उनको मन दुखाएको कुरा साँचो रहेछ भन्ने कुरा पनि बोध भयो । म उनको मन मिल्ने मान्छे भए पनि उनले मलाई भन्दा भगवानलाई मन पराउँदा रहेछन् क्या रे । त्यही भएर गाह्रोसाह्रो पर्दा र अन्यत्र कसैबाट पनि आफ्ना गुनासाहरु सुनुवाइ नभएमा आफ्नो ईश्वरलाई सम्झिदा रहेछन् ।
हाम्रो पारिवारिक वातावरण पनि त्यत्ति इश्वरीय भक्तिभाव सिक्ने जस्तो पनि छैन । थाहा छैन कसरी र कहाँबाट सिके यो कुरा उनले ? भगवान वा इश्वर छन् वा छैनन् भन्ने बहसतिर नलागौं अहिले । तथापि बालबालिकाहरु हामीले परिकल्पना गरेका इश्वरजस्तै हुन्छन् भन्ने लाग्छ । उनीहरु यो जात र त्यो जातको लडाइमा हुदैनन् । उनीहरु धर्म, लिङ्ग, वर्ण र सम्प्रदायको छिनाझप्टीमा पनि हुदैनन् । उनीहरु विचार, वाद, राष्ट्र र राष्ट्रियताको बादलले पनि ढाकिएका हुदैनन् । उनीहरु आफूप्रति प्रेम दर्साउनेहरु सबैप्रति आफूले पनि प्रेम दर्साउछन् । हामीमा जस्तो तेरोमेरो भावना हुदैन उनीहरुमा । सँगै खान मन पराउँछन्, सँगै खेल्न मन पराउँछन्, सँगै सुत्न मन पराउँछन् । उनीहरुमा सामुहिकतावादले आसनग्रहण गरेको हुन्छ । म त भन्छु, जीवनभरि सामुहिकतावादको वकालत गरेर पनि पार्टी फुटाउने नै मुख्य लक्ष्य बनाएर अघि बढेका कम्युनिष्टहरुले साना बालबालिकाहरुबाट धेरै कुरा सिक्नु पर्ने देखिन्छ । आफ्नो स्वभाव हामीले परिकल्पना गरेका इश्वरसँग मिल्ने भएकाले पनि मेरो सानो साथीले पनि इश्वरसँग कुरा गरेको होला भन्ने लाग्यो । यस्तै सोच्दै आफ्नो मन आफैले बुझाएँ ।
स्वभावगत रुपमा भन्नु पर्दा बालबालिकाहरु निष्कपटता र निश्छलताको हिसावले वयष्क अर्थात हामी भन्दा अब्बल हुन्छन् । उनीहरुमा रिस, राग, द्वेष वा अहंकार जस्ता नकारात्मक भावनाहरू हुदैनन् भन्दा अन्यथा हुदैन । उनीहरूको मन एउटा सफा ऐना जस्तै हुन्छ । बालबालिकाको मन र स्वभाव पवित्र र छलछाम रहित हुने गर्दछ । हामीले जस्तो सानो बच्चाले कसैलाई प्रेम गर्दा कुनै स्वार्थ वा प्राप्तिको आशा राख्दैन । उनीहरूको स्नेह प्राकृतिक र निस्वार्थ हुन्छ । वयस्कहरू अक्सर विगतको पश्चात्ताप वा भविष्यको चिन्तामा अल्झिएका हुन्छन्, तर बालबालिकाहरू पूर्ण रूपमा वर्तमानमा रमाउँछन् । बालबालिकाहरू तुरुन्तै झगडा गर्छन् र तुरुन्तै बिर्सिएर फेरि मिल्छन् । उनीहरूमा मनमा तुष पालेर राख्ने बानी हुँदैन । यो सहज क्षमादानको शक्ति ईश्वरीय स्वभावसँग मेल खान्छ । बालबालिकाहरुमा हुने उल्लिखित गुण र स्वभावहरुकै कारणले आध्यात्मिक चेत र चिन्तन भएका मानिसहरु उनीहरूलाई ‘ईश्वरको प्रतिरूप’ पनि भन्ने गर्दछन् ।
बालबालिकाको निर्दोषपन र उनीहरूमा पाइने दैवी गुणका बारेमा विश्वका विभिन्न साहित्यकार, दार्शनिक र शिक्षाविद्हरूले निकै मार्मिक भनाइहरू व्यक्त गरेका छन् । प्रसिद्ध अङ्ग्रेजी कवि वर्डस्वर्थले आफ्नो कवितामा बालबालिकालाई भगवानको नजिक देखाउँदै भनेका छन् कि बालबालिकाहरू स्वर्गको महिमा बोकेर यस धर्तीमा आएका हुन्छन् र उनीहरू भगवानको सबैभन्दा नजिक हुन्छन् । नोबेल पुरस्कार विजेता कवि रविन्द्रनाथ टैगोरले बालबालिकालाई आशा र ईश्वरको सन्देशका रूपमा हेर्दै लेखेका छन् कि प्रत्येक बच्चाले भगवान अझै पनि मानिससँग निराश हुनुभएको छैन भन्ने सन्देश लिएर आएका हुन्छन् । महात्मा गान्धी बालबालिकाको सत्यनिष्ठा र पवित्रतालाई जोड दिँदै भनेका छन् कि यदि हामीले यो संसारमा वास्तविक शान्ति ल्याउने हो भने, हामीले बालबालिकाहरूबाटै सुरु गर्नुपर्छ । भन्नुको मतलव उनले बालबालिकालाई इश्वरको रुपमा स्वीकार गर्दै उनीहरूको सेवा र शिक्षालाई धर्मकै रूपमा स्वीकार गरी कर्म गर्नुपर्दछ ।
यसरी नै ‘किन्डरगार्टन’ शिक्षा पद्धतिका जनक फ्रेड्रिक फ्रोबेलले बालबालिकालाई बिरुवा र ईश्वरको प्रतिविम्ब मान्दै भनेका छन् कि बाल्यकाल भनेको ईश्वरको बगैँचा हो र बालबालिकाहरू त्यहाँका फूलहरू हुन् । त्यसरी नै प्रसिद्ध दार्शनिक जिन ज्याक रुसोले बालबालिकाको प्राकृतिक अवस्थाको प्रशंसा गर्दै भनेका छन् कि सृष्टिकर्ताको हातबाट निस्कँदा सबै कुरा राम्रा र शुद्ध हुन्छन्, तर मानिसको हातमा परेपछि ती बिग्रन्छन् अर्थात बन्धनमा पर्छन् । उनको विचारमा बालबालिका जन्मँदा पूर्ण रूपमा दैवी र निष्पाप हुन्छन् । यसरी नै दार्शनिक कवि खलील जिब्रानले बालबालिकाको आत्माको शुद्धताको बारेमा लेखेका छन् कि तिमीहरूले उनीहरू जस्तो बन्ने प्रयास गर्न सक्छौ, तर उनीहरूलाई तिमीहरू जस्तो बनाउने प्रयास नगर्नु । किनकि जीवन पछाडि फर्कँदैन । यसको अर्थ उनीहरू हामीभन्दा शुद्ध र प्राकृतिक छन् भन्ने हो । यी भनाइहरूले के पुष्टि गर्छन् भने बालबालिकाको स्वभावमा हुने सरलता, सत्य र निश्छलताकै कारणले उनीहरूलाई इश्वरीय शक्तिको नजिक मानिएको हो ।
भनाइहरु सबैका मन परे । झनै बढि कबि खलिल जिब्रानको मन प¥यो । तिमीहरुले उनीहरुजस्तो बन्ने प्रयास गर्न सक्छौ तर उनीहरुलाई तिमीहरुजस्तो बनाउने प्रयास नगर्नु । बिडम्बना अहिले विद्यालयहरुमा यही दर्शनको वरिपरि उभिएर युद्ध गर्ने काम भइरहेको छ । बालक हामीसँग लागेर विग्रदैछ भन्ने कुरा एकातिर छ भने बालकलाई हाम्रा कुरा सिकाएर विद्वान बनाउनु पर्छ भन्ने विचार अर्कोतिर छ । आफ्नो संसारमा रमाइरहेको र मुस्कुराइरहेको बालकलाई त्यसरी नै अघि बढ्न प्रेरित गरेको भए के हुन्थ्यो ? ऊसँग भएका स्वभाव र विशेषताहरुलाई निमोठेर उसको थाप्लोमा हाम्रा स्वभाव र विशेषताहरु थुपार्दा कतै उसको प्राकृतिक स्वभाव कुण्ठित हुने त होइन ? जुन कुरा ऊसँग हुँदा ऊ हामीले परिकल्पना गरेको इश्वरजस्तो निश्चल, पवित्र र आनन्दित देखिन्थ्यो, के हामीले हाम्रा कुराहरु ऊमाथि थुपार्दा ऊ साँच्चिकै निश्चल, पवित्र र आनन्दित देखियो त ? यदि देखिएन भने हामीले उनीहरुलाई इश्वर गुहार्ने गरी दिएको सास्ती र पीडा फेरि केका लागि ? यस्ता विषयमा बहस र छलफलहरु विहङ्गम किसिमले चलाउन जरुरी छ ।
सरकारका सय काम मध्ये बूँदा नं. ८९ मा कक्षा ५ सम्म आन्तरिक परीक्षा लिने कार्य आगामी शैक्षिक सत्रदेखि बन्द गर्ने भन्नुको आसय पनि बालकको बालापन बचाउनु पर्छ भन्ने आसयका साथ अघि सारिएको कार्य हो जस्तो लाग्छ । शब्द भने सरकारले उपयुक्त चयन गर्न सकेन । आन्तरिक परीक्षा होइन कि लिखित परीक्षा हो वा परीक्षाको हाउगुजीलाई बन्द गर्ने भनेको जस्तो लाग्छ । यसका लागि गर्ने के त ? यसका बारेमा पनि सरकारले शिक्षाविद् र पाठ्यक्रम विद्हरुको बिचमा शीघ्रातिशीघ्र बहस र छलफल चलाएर टुङ्गो लगाउनु पर्दछ । अन्यथा यो भ्याकुम धेरै दिन रहन गयो भने यो भ्याकुमलाई अराजक, उत्छृङ्खल र असामाजिक क्रियाकलापहरुले ओगट्न सक्छ । दृष्टान्त दिएर भन्नु पर्दा हामीले विद्यालयलाई भयरहित बनाउने त भन्यौं । भयरहित भयो पनि । शिक्षकहरुले विद्यार्थीहरुलाई सजाय दिने, कुट्ने जस्ता गतिविधिहरु गर्न छोडे । तथापि यसको स्थान बालमैत्री व्यवहार र क्रियाकलापहरुले लिनु पथ्र्यो । बिडम्बना भन्नु पर्छ, लिन सकेन । कारण सरकारको तयारी पुगेन । अहिले कतिपय विद्यालयहरुमा विद्यार्थीहरु अराजक किसिमले समेत प्रस्तुत भएका घटनाहरु देखापरिरहेका छन् । कारण स्पष्ट छ, उनीहरुप्रति हामी बालमैत्री किसिमले प्रस्तुत हुन सकेनौं । यस्तो लाग्छ, उनीहरु कसैको डर र भर दुबै गुमाएर सडक, चोक र गल्लीमा हिड्ने अनाथहरुजस्ता भए ।
बालबालिकालाई परीक्षारुपी हाउगुजीबाट मुक्ति दिलाउने हो भने कतिपय क्रियाकलापहरु अहिलेकै पाठ्यक्रममा समेत समावेश गरिएको छ । समावेश गरिएको मात्र छैन, परियोजना र प्रयोगात्मक कार्यको रुपमा सम्पादन गर्नका लागि सहजीकरण पनि गरिएको छ र त्यही अनुरुप अथ्र्याइएको पनि छ । कुनै पनि विद्यार्थीहरुको मूल्याङ्कन गर्नका लागि यत्ति गते यो विषयको परीक्षा हुने भनेर सूचना प्रकाशित गरेर झ्याली पिट्नु पर्छ भन्ने छैन । बालबालिकासँग अनौपचारिक हिसावले भलाकुसारी र छलफल गर्दागर्दै पनि विद्यार्थी वा बालबालिकाले आफ्नो मूल्याङ्कन भइरहेको छ भन्ने थाहै नपाउने गरी परीक्षा लिन सकिन्छ र मूल्याङ्कन गर्न सकिन्छ । भलाकुसारी गर्ने क्रममा घरपरिवारका मानिसहरुको नाम, गर्ने काम र नाता सोध्न सकिन्छ । परिवारका सदस्यहरुले गर्ने काम र व्यवहारमध्ये विद्यार्थीलाई मन पर्ने काम र व्यवहारको बारेमा सोध्न सकिन्छ । मन पर्नुको कारणको बारेमा सोध्न सकिन्छ । उनी घुम्न गएको ठाउँ र त्यहाँ उनलाई परेको कुराको बारेमा सोध्न सकिन्छ । सोधपुछ र भलाकुसारी भने अन्तरङ्ग किसिमले हुनुपर्दछ । दिल खोलेर आत्मीयतापूर्वक हुनुपर्दछ । यसका लागि परिवेश समेत उपयुक्त हुनुपर्दछ, सबैभन्दा ठूलो कुरा, प्रश्नकर्ता अर्थात शिक्षक विद्यार्थी वा बालकको मन र मुटुमा विराजमान हुन सक्नुपर्दछ ।
प्रयोगात्मक र परियोजना कार्य सम्पादनका लागि अभिभावकलाई समेत जिम्मेवार र जवाफदेही बनाउनु पर्दछ । यसका लागि बालकले घरमा जोसँग बढी समय विताउने गर्दछ, त्यसैलाई विद्यालयमा बोलाएर घरमा गर्ने क्रियाकलापहरुको सूचि बनाएर गर्ने तरिकाको बारेमा समेत सहजीकरण र प्रवोधीकरण गरिनु पर्दछ । सरकारले हप्तामा दुई दिन बिदा गरेको परिवेशमा त यसको महत्त्व झनै बढेको छ । बालबालिकाको व्यक्तिगत सरसफाइ, घर र वरिपरिको वातावरणीय सरसफाइ जस्ता कार्यमा उनीहरुलाई कसरी सरिक गराउने र कसरी आत्मनिर्भर सिपको विकास गराउने भन्ने सम्बन्धमा अभिभावकहरुसँग अन्तरक्रिया र सहजीकरणका कार्यहरु गरिनु पर्दछ । अभिभावकहरुलाई बालबालिकासँग गर्नुपर्ने बालमैत्री क्रियाकलापहरुको विधि र तरिकाको बारेमा सहजीकरण गरेर घरलाई सिकाइमैत्री बनाउन सकेमात्र पनि धेरै काम हुन्छ र हुनेछ । यसका लागि विद्यालय, विद्यालय व्यवस्थापन समित, शिक्षक अभिभावक संघ, शिक्षाका सरोकारवाला, अभिभावक र शिक्षकहरु सुझबुझका साथ लाग्नु पर्दछ ।
विद्यार्थी विद्यालयमा आएको समयमा शिक्षकले विद्यार्थीहरुलाई घरमा गर्ने गरेका क्रियाकलापहरुको बारेमा सोधपुछ गर्दै जानकारी लिने र अभिभावकले घरमा आफ्ना सन्ततीहरुसँग विद्यालयमा गरेका क्रियाकलापहरुको बारेमा सोधपुछ र जानकारी लिने मात्र गरेमा पनि धेरै हुन्छ । उक्त काम गर्नुको कारण के हो ? त्यसबाट के फाइदा र सिकाइ भयो ? अब फेरि त्यो काम गर्ने कि नगर्ने ? अब फेरि त्यो काम गर्न सकिन्छ कि सकिदैन ? घर र छरछिमेकका मानिसहरुबाट के के सिक्नु भयो ? तपाईमा आफूमा भएका स्वभाव र व्यवहारमध्ये साथीहरु र घरका मानिसहरुमध्ये धेरैले मन पराउने स्वभाव र व्यवहार के हो ? र अरुले मन नपराउने व्यवहार र स्वभाव पनि तपाईसँग केही छन् कि ? यस्ता अनगिन्ति जिज्ञाशाहरु विद्यार्थी र बालबालिकाहरुसँग राख्दै उनीहरुमा भएको क्षमता र सम्भावनाहरुको बारेमा उत्खनन् गर्न सकिन्छ । उनीहरुको रुचि र अरुचिको विषयमा समेत जानकारी लिन सकिन्छ । यत्ति मात्र नभइ कतिपय प्रयोगात्मक सिप आवश्यक पर्ने किसिमका शारीरिक श्रमहरु सँगसँगै मिलेर पनि गर्न सकिन्छ । यस्ता कार्य गरेर आर्जन गरेको शिक्षा घोकेर आर्जन गरेको शिक्षाभन्दा धेरै जीवनोपयोगी र व्यावहारिक पनि हुन्छ । बालबालिकाहरुसँग यस्ता क्रियाकलाप गर्दा उनीहरुले भगवानसँग हारगुहार पनि गर्नु पर्दैन । बाँकी जो हजूरहरुको मर्जी !
२०८२ साल चैत्र २४ गते मङ्गलबार
शिक्षामा यत्तिसम्म गरे पनि धेरै हुन्छ, सरकार ।
जीतबहादुर शाह
सरकारले गर्ने एकसय काम मध्ये बूँदा नं. ८९ मा लेखिएको छ ः कक्षा ५ सम्मका विद्यार्थीहरुलाई आन्तरिक परीक्षा लिने कार्य आगामी शैक्षिक सत्रदेखि बन्द गर्ने । उनीहरुलाई मनोवैज्ञानिक असर र दवाव नपर्ने खालको मूल्याङ्कन प्रणालीबारे विकल्प तयार गर्ने । यसलाई सामाजिक सञ्जालमा समेत अरुभन्दा शिक्षाका सरोकारवालाहरुको बिचमा मनग्य स्थान दिएको पनि देखिन्छ । यो भनेको के हो भन्ने विषयमा विभिन्न विद्वानहरुले विभिन्न अर्थ लगाएको पनि अवस्था छ । कतिपय विद्वानहरुले आन्तरिक परीक्षा भनेको लिखित परीक्षा हो भनेर पनि विश्लेषण गरेको देखियो । वास्तवमै आन्तरिक परीक्षा के हो ? सरकारले गर्न खोजेको के हो ? यसलाई कसरी व्यवस्थित गर्न सकिन्छ ? लगायत शिक्षामा गर्न सकिने मसिना मसिना कुराहरु, जसको प्रभाव थोरै लगानीमा पनि दीर्घकालीन हिसावले सकारात्मक किसिमबाट पर्न सक्छ, विषयमा आजको आलेख मार्फत चर्चा गर्ने जमर्को गरिएको छ ।
सर्वप्रथम त आन्तरिक परीक्षा भनेको आन्तरिक मूल्याङ्कनका लागि लिइने परीक्षालाई बुझ्नु पर्दछ । विद्यार्थीको आन्तरिक मूल्याङ्कन भनेको उनीहरुको सुधार र समुन्नतिका लागि गरिने निर्माणात्मक मूल्याङ्कनको एउटा पाटो हो । सरकारले भनेको आन्तरिक परीक्षा भनेको लिखित परीक्षा अर्थात पेपर पेन्सिल टेष्ट हो भने आन्तरिक परीक्षा भन्नाले त्यो कुरालाई बुझाउदैन । त्यसका लागि लिखित परीक्षा वा पेपर पेन्सिल टेष्ट भनेर शब्दावलीको प्रयोग गरिनु पर्दछ । अहिलेको आन्तरिक मूल्याङकन त कक्षा ४ देखि सुरु हुन्छ र कक्षा ८ सम्म सोही किसिमबाट आगाडि बढ्छ । आन्तरिक मूल्याङकन गर्नका लागि पचास प्रतिसत अङकमध्ये विद्यार्थीको सहभागितामा चार प्रतिसत, त्रैमासिक परीक्षामा दश प्रतिसत र परियोजना एवम् प्रयोगात्मक कार्यका लागि छत्तिस प्रतिसत अङक छुट्याइएको छ । यसबाट प्रष्ट हुन्छ कि यी भनेकै आन्तरिक मूल्याङ्कनका लागि लिइने परीक्षा वा गरिने क्रियाकलापहरु हुन् । बाँकी पचास प्रतिसत अङ्क शैक्षिक सत्रको अन्तमा लिइने पेपर पेन्सिल टेष्ट हो जसलाई पाठ्यक्रमले बाह्य परीक्षा वा बाह्य मूल्याङकन शब्दावली प्रयोग गरेको छ ।
आन्तरिक मूल्याङ्कन वा परीक्षालाई शिक्षाका साहित्यहरुले निर्माणात्मक मूल्याङ्कन वा निर्माणात्मक परीक्षा भनेर पनि अर्थबोध गर्ने गरिएको छ । कक्षा १ देखि कक्षा ३ सम्म त निरन्तर मूल्याङ्कनको परिमार्जित संस्करणको रुपमा सक्षमता वा सिकाइ उपलब्धिमा आधारित मूल्याङ्कन भनेर पाठ्यक्रममा व्यवस्था गरिएको छ । कक्षा १–३ का लागि बाह्य परीक्षा वा अन्तीम परीक्षाको व्यवस्था नै गरिएको छैन । एकाइगत रुपमा राखिएका विषयगत सिकाइ उपलब्धि हासिल गर्दै अगाडि बढ्ने व्यवस्था गरिएको छ । एकपटकको परीक्षा वा मूल्याङ्कनमा भनेजस्तो उच्च अङ्क ल्याउन नसकेमा दोस्रो पटक अवसर दिने व्यवस्था पनि छ । उच्चतम अङ्क चार र न्यूनतम अङ्क १ रहेको छ । मानौं कि तिम्रो घरमा भएका चारजना परिवारका सदस्यहरुको नाम भन्नु होस् भन्ने प्रश्नको जवाफमा एउटाको मात्रै नाम भने एक अङ्क पाउछ विद्यार्थीले । यसले अर्को पटक पनि अवसर पाउँछ । अर्को पटकको परीक्षामा चारवटै परिवारका सदस्यहरुको नाम भन्यो भने एकबाट बढेर उसको उपलब्धि चार कायम हुन्छ ।
अहिलेको आन्तरिक परीक्षा वा मूल्याङ्कन पाठ्यक्रमले तोके अनुसार अधिकांस विद्यालयहरुले सञ्चालन गरेको देखिदैन । अन्तिममा बाह्य परीक्षा अर्थात पेपर पेन्सिल टेष्ट लिएर त्यसैको आधारमा आन्तरिक मूल्याङ्कन गर्ने गरिएको देखिन्छ । यसले गर्दा केही प्रयोगात्मक कार्य गरेर सिक्ने प्रकृति (बुद्धि) भएका विद्यार्थीहरुलाई एकातिर अन्याय भएको छ भने अर्कोतिर शिक्षाको प्रयोगात्मक, व्यावहारिक र जीवनोपयोगी पक्ष नै कमजोर भएको छ । गुणस्तरीय शिक्षाको मियोको रुपमा रहेका प्रयोगात्मक र परियोजना कार्य आन्तरिक मूल्याङ्कनको क्रममा किन नगरिएको भनेर विद्यालयहरुसँग जिज्ञाशा राख्दा धेरै विद्यालयहरुले परियोजना र प्रयोगात्मक कार्य गर्नका लागि बजेट नभएको कुरा अघि सारेको अवस्था छ । केही हदसम्म यो पनि वास्तविक र सही हो भने अर्को वास्तविकता भनेको सबै परियोजना र प्रयोागात्मक कार्य गर्नका लागि बजेट नै चाहिन्छ भन्ने होइन बरु त्यस्तो अवस्थामा चाहिने भनेको शिक्षकको पेसा र बालबालिका प्रतिको समर्पण र रुचि हो, जुन मामलामा हाम्रा अधिकांस शिक्षकहरु पछि परेको कुरालाई स्वीकार गर्नै पर्ने हुन्छ ।
पाठ्यक्रमले सक्षमताभित्र सिकाइका ५ वटा पक्षहरु समावेश गरेको छ ः ज्ञान (knowledge), सिप (Skill), अभिवृत्ति (Attitude), मूल्य (Value) र काम गर्न सक्ने क्षमता (Ability to work) । भन्नुको मतलव कुनै पनि विषयवस्तुको जानकारी हुनु पर्यो, त्यसलाई प्रयोग गर्ने सिप हुनु पर्यो, त्यसको बारेमा आफूभित्र सकारात्मक प्रवृत्ति वा सोचको विकास गर्नु पर्यो, जीवनमा त्यसको आवश्यकता र महत्व बोध गर्नु पर्यो र त्यही अनुसार जीवनमा प्रयोग गरेर जीवनलाई सहज, खुसी र गुणस्तरीय बनाउनु पर्यो । अहिले पाठ्यक्रमले अघि सारेका उल्लिखित पाँच आयामहरुमध्ये पहिलो अर्थात ज्ञानमात्रै एक्टिभ भएको छ । त्यसपछि आउने सिप, प्रवृत्ति, मूल्य र काम गर्ने क्षमता त कोमामा थन्किएको अवस्था छ । यसैको परिणामस्वरुप शिक्षाले बेरोजगारी उत्पादन गर्ने काम भन्दा अरु गर्न सकिरहेको छैन । त्यसैले सरकारसँग मेरो अनुरोध भनेको शिक्षालाई व्यावहारिक बनाउनका लागि पाठ्यक्रम बदल्नु पर्देन, बदल्ने भनेको शिक्षको प्रवृत्ति हो, शिक्षक छनोट गर्ने परीक्षा हो र सरकारको शिक्षालाई बजेट बिनियोजन गर्ने परिपाटी हो । कम्तीमा परियोजना र प्रयोगात्मक कार्य गर्नका लागि विद्यालयलाई बजेट दिने व्यवस्था गरौं न । अनि त्यसपछि भनौंला नि किन नगरेको परियोजना र प्रयोगात्मक कार्य भनेर ।
म त भन्छु, आन्तरिक परीक्षा वा मूल्याङ्कनलाई आगामी शैक्षिक सत्रदेखि बन्द गर्ने होइन कि व्यवस्थित गर्ने किसिमले सरकार अघि बढ्नु पर्छ । यसका लागि बरु आन्तरिक परीक्षा होइन कि बाह्य परीक्षालाई जति प्राथमिकता दिने गरिएको छ त्यत्ति प्राथमिकता नदिए पनि हुन्छ । कक्षा १ देखि कक्षा ८ सम्मका विद्यार्थीहरुको सिकाइउपलब्धि र सक्षमतामा अभिवृद्धिका लागि शिक्षक निरन्तर रुपमा विद्यार्थीहरुको पछि पछि लागिरहनु पर्दछ जसरी बिरामीको राम्रो उपचारका लागि चिकित्सक पछि पछि लागिरहनुपर्दछ । हाम्रा अधिकांश शिक्षकहरुबाट त्यो काम हुन सकिरहेको छैन । यसका लागि शिक्षण पेसालाई रुचिको पेसा सम्झिने र बालबालिकासँग काम गर्दा रमाइलो महसुस गर्ने शिक्षकहरुको छनोट गर्ने कार्यमा हाम्रो शिक्षक सेवा आयोगको शिक्षक छनोट पाठ्यक्रम कत्तिको प्रभावकारी छ ? यस विषयमा पनि सरकारले गम्भीर भएर समीक्षा गर्नु आवश्यक छ ।
दुनियाभरि घोकेको कुरा परीक्षण गर्नका लागि पेपर पेन्सिल टेष्ट लिएर शिक्षक छनोट गर्ने अनि त्यो शिक्षकबाट पेसा र बालबालिकाप्रतिको समर्पण भाव, इमान्दारिता, नैतिकता, सेवाभाव, असल आचरण र व्यवहार आदि सबै कुराको अपेक्षा गर्ने, यस्तो पनि सम्भव हुन्छ र ? यसका लागि त शिक्षक छनोट गर्ने परीक्षा प्रणाली पनि त्यस्तै हुनु पर्दैन र ? घोकेरै परीक्षा पास गर्दै आएको शिक्षकले विद्यार्थीलाई पनि घोकेर अघि बढ्न प्रेरित गरिरहेको देखिन्छ, हाम्रो शिक्षाप्रणालीको सबैभन्दा ठूलो दुर्भाग्य भनेकै यही हो । यससम्बन्धमा वारेन वफेटको भनाइ छः संस्थाका जनशक्तिको नियुक्ति गर्दा इमान्दार, उर्जावान र बुद्धिवान यी तीन कुराहरु हेर्नुपर्दछ । कथम्कदाचित नियुक्ति भएको व्यक्तिमा पहिलो गुण (इमान्दार) छुट्यो भने उसँग भएको बाँकी दुई गुणको कारणले नियुक्त गर्ने व्यक्ति र संस्थालाई नै खरानी बनाइदिन सक्छ । हाम्रोमा शिक्षकको नियुक्ति गर्दा पनि इमान्दारिताको मापन गर्न सकिएको छैन जसले गर्दा नियुक्त हुनेहरुबाट अपेक्षित कर्म पनि प्राप्त गर्न सकिएको छैन । यो कुरा कर्मचारीहरुमा समेत हुबहु लागू हुन्छ ।
म देशविदेश घुमेको नभएर मुलुकको हिमाल, पहाड, तराइ भने अवश्य घुमेको र काम गरेको व्यक्ति हुँ भन्दा गर्व गर्दछु । अहिले गुणस्तरीय शिक्षा (अभिभावकको बुझाइमा अङ्ग्रेजी माध्यमबाट पढिने शिक्षा) को लागि सानासाना चारपाँच वर्षका बालबालिकाहरु पनि आफ्नो आमाबाबाको कोख र जन्मेको गाउँ छोडेर सहरतिर झरिरहेका छन् । अब निश्चित भइसक्यो कि उनीहरु ठूलो भएपछि जन्मेको ठाउँमा आमाको काख खोज्दै जानेवाला छैनन् । आमाको काखमा बस्ने बेलामा त उसले आमाको काख छोडेर गाउँ छोड्नु पर्यो भने युवा भएपछि आमाको काख खोज्न जरुरी पो किन भयो र ? गाउँमा जाँदा कसैलाई चिन्दैन, न आफन्तलाई चिन्छ, न त त्यहाँका वनपाखा र पाखापखेरालाई चिन्छ । अनि किन जान्छ ऊ त्यहाँ । अनि क्रमशः उसले आफ्नो आमाको काख छोडेर सहर पस्यो, त्यसपछि क्रमशः विदेश पस्छ । ऊ भित्रको मातृभूमि र राष्ट्रप्रतिको अपनत्व सानोमा अङ्कुरित हुन नपाउँदै मरेको छ । यसलाई जोगाउने हो भने कम्तिमा आधारभूत तह (कक्षा ५) सम्मको शिक्षा आमाकै काखमा हुर्किदै सकेसम्म जन्मेकै गाउँमा लिनका लागि सरकारले आवश्यक प्रावधानको जोहो गर्नु पर्ने देखिन्छ । यसले गर्दा सामुदायिक विद्यालयहरुको गुणस्तर उकास्न सहयोग पुग्नेछ र अङ्ग्रेजी भाषाको शिक्षालाई गुणस्तरीय शिक्षा भन्ने गरेको भ्रमबाट पनि मुक्त हुन सहयोग पुग्दछ ।
अहिले एसइइ र एसएलसीको परीक्षाको नतिजा छिटोछरितो प्रकाशन गर्ने कुरा मिडियामा आइरहेको छ । यो राम्रो कुरा हो । तर छिटोछरितो प्रकाशन गर्ने नाममा विद्यार्थीका विवरणहरुमा त्रुटी बढ्ने भयो भने विद्यार्थीहरुले सास्ती पनि त्यही अनुपातमा व्यहोर्नु पर्ने हुन्छ । सरकार चलाउनेहरुलाई जानकारी छैन होला भन्ने मेरो हैसियत भएन, तथापि सत्य कुरा यही हो कि एउटा हुम्ला र डोल्पाको विद्यार्थी केही दिन लगाएर सुर्खेत आउछ, जन्ममिति र नाममा भएको सामान्य त्रुटी सच्याउनका लागि । उसलाई लाग्छ कि सुर्खेतबाट केही मिनेट वा घण्टामै यो काम हुन्छ । यो काम त केन्द्रीय कार्यालय सानोठिमीबाट हुन्छ, सुर्खेतले त सिफारिस गर्ने मात्र हो भन्ने थाहा पाएपछि पुर्पुरोमा हात राखेर वेहोस होला झै गर्छ । केन्द्रमा पुगेपछि पनि तत्काल हुदैन । मिटिङ बस्छ, एउटा मिटिङमा आएजति सबैको एकैपटक सच्याउने काम हुदैन । जानकारीमा आए अनुसार एउटा मिटिङमा बीसजना विद्यार्थीको भन्दा बढिको सच्याइदैन । बरु एकदिनमा विहान, दिउसो र बेलुका गरी तीनचारवटा बैठक राखिन्छ । मलेपले समेत यसलाई बेरुजु भनेर औल्याएको देखिन्छ । बैठकमा मन्त्रालयका सचिव र सहसचिवहरुको उपस्थिति गराएर आलोपालो बैठक भत्ता प्रदान गरिने भएको हुँदा बिरोध कसैले गर्दैनन् । विचरा विद्यार्थी भने मर्कामा परेको पर्यै छ । नागरिकता दिने र सच्याउने हैसियत भएको प्रमुख जिल्ला अधिकारी जिल्लामै छ । प्रजिअ नै हो, परीक्षा समन्वय समितिको अध्यक्ष । प्रजिअको अध्यक्षतामा बस्ने बैठकबाटै त्रुटी सच्याउने काम किन शाखा कार्यालय र जिल्लाबाट नगरी केन्द्रमा पठाइन्छ ? यस्ता कुरामा सरकारको ध्यान जानुपर्छ भन्ने लाग्छ ।
यत्तिमात्र नभइ, शिक्षा सङकायमा अध्ययन गर्नका लागि सबैभन्दा कम जिपिए भए पनि हुन्छ । यहीबाटै शिक्षाको गुणस्तर खस्किन आरम्भ हुन्छ । शिक्षण पेशालाई आकर्षक पेसा बनाउनका लागि किन कुरा मात्रै गरिन्छ ? यसलाई कर्ममा उतारेर कार्यान्वयन किन गरिदैन ? अन्य जुनसुकै सङ्कायमा अध्ययन गरेपनि शिक्षण पेसामा आउनका लागि थप एकवर्ष बालमनोविज्ञान र शिक्षण विधिको अध्ययन र अभ्यास गराएर शिक्षण पेसामा प्रवेश गराउने काम किन गरिदैन ? जब कि शिक्षा सम्बन्धी विभिन्न आयोगका प्रतिबेदन र शिक्षा नीतिले समेत यसलाई उठाएको छ ? सरकारले यस विषयमा पनि गम्भीर भएर अब्बल दर्जाका मानिसहरु शिक्षण पेसामा प्रवेश गराउने र उनीहरुलाई पर्याप्त सुविधा दिएर शिक्षण पेसामा टिकाउने काम गर्नुपर्दछ भन्ने लाग्छ मलाई । यसका अतिरिक्त १९ थरिका शिक्षकलाई एकथरी बनाउन नसकेपनि एकाधथरि मात्र बनाउने काम गर्नुपर्दछ । जति थरि भए पनि तलवभत्ता र सुविधा भने तहगत रुपमा एकैनास हुनुपर्दछ । काम गर्ने एकैनासको, सुविधा पाउने थरिथरिको ? यो प्रथाको अन्त्य गरिनुपर्दछ । दृष्टान्त दिएर भन्नुपर्दा संघीय अनुदानमा भएकोले ३५ हजार पाउने, प्रदेश अनुदानमा भएकोले २५ हजार किन ? काम गर्ने एउटै र तह पनि एउटै अनि कक्षामा सुविधा भने फरक ?
हाम्रौ सार्वजनिक शिक्षा कमजोर हुनुको पछाडि निःशुल्क शिक्षाको अभियान पनि एउटा हो । प्रमुख कुरा त शिक्षा निःशुल्क कहिल्यै हुदैन । कि त शुल्क विद्यार्थी र अभिभावकले तिर्नुपर्छ, कि त सरकारले । कसैले नतिर्ने भयो भने सार्वजनिक शिक्षा हाम्रो जस्तो गएगुज्रेको हुन थाल्छ । न शिक्षक दरबन्दी छ, न शिक्षक छ, न त शिक्षक राख्नका लागि कतैबाट पैसा लिन पाइन्छ । अनि कसरी हुन्छ विद्यालय अब्बल ? अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी नियमावली २०७७ को नियम ५ मा विद्यार्थी भर्ना शुल्क, मासिक पढाइ शुल्क, परीक्षा शुल्क र पाठ्यपुस्तक वापतको शुल्क माध्यमिक तहसम्म लिने नपाइने भनेर प्रष्ट लेखेको छ । तर परीक्षा शुल्क राष्ट्रिय परीक्षा बोर्डले भने खुल्लेआम लिइरहेको छ । विद्यालयले लिएमा अदालतको कठघरमा उभिनु पर्ने, सरकारले लियो भने नियमानुसार हुने, यस्तो पनि हुन्छ र ? अन्य मुलुकले शिक्षक विद्यार्थी अनुपात तीसभन्दा तल झारिसक्दा पनि हाम्रोमा पचास जना भनेर छाति फुल्याउने काम गरिएको छ । साँच्चिकै पेसा प्रति समर्पित शिक्षकलाई समेत व्यक्तिगत विभिन्नतालाई सम्बोधन गर्दै पचासजना विद्यार्थीलाई सहजीकरण गर्नु भनेको चानचुनै होइन । त्यसैले यस्ता कुरामा सरकारले गम्भीर भएर पाइला चाल्नु पर्ने देखिन्छ । शिक्षा हचुवाको भरमा चलाउने काम कसैबाट पनि नहओस् । शिक्षामा साना कुराहरुको पनि ठूलो असर हुने गर्दछ । सरकार सबै क्षेत्रका अतिरिक्त शिक्षामा झनै गम्भीर भएर अघि बढोस् । शुभकामना ।
२०८२ साल चैत्र १७ गते मङ्गलबार
Click here to claim your Sponsored Listing.