19/08/2026
विद्यालयको दैनिक कार्य सञ्चालनसँगै शैक्षिक क्रियाकलापलाई थप व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउने उद्देश्यले आज मिति २०८३ भाद्र ३ गतेको विद्यालय व्यवस्थापन समिति र शिक्षक - कर्मचारीहरूको संयुक्त बैठकबाट यस विद्यालयका माध्यमिक तहमा अध्यापनरत शिक्षकद्वय #श्री_दीपक_पोख्रेल र #श्री_सृजना_पूनलाई सहायक प्रधानाध्यापक छनोट गरी जिम्मेवारी प्रदान गरिएको छ।
श्री दीपक पोखरेल र श्री सृजना पुन विद्यालयका अनुभवी तथा प्रतिबद्ध शिक्षक हुनुहुन्छ। श्री दीपक पोख्रेल १३ वर्षको शिक्षण अनुभव सहित त्रिभुवन विश्वविद्यालयबाट विज्ञान तथा प्रविधि संकायमा स्नातकोत्तर - M.Sc. Physics हुनुहुन्छ भने श्री सृजना पुन २१ वर्षको शिक्षण अनुभव सहित त्रिभुवन विश्वविद्यालयबाट शिक्षाशास्त्र संकाय अन्तर्गत नेपाली विषयमा स्नातकोत्तर (M.Ed.) हुनुहुन्छ। आगामी दिनमा उहाँ दुवैको विषयगत दक्षता, अनुभव, मेहनत, जिम्मेवारीबोध, नेतृत्व क्षमता तथा विद्यालयप्रतिको समर्पण सहित विद्यालयको समग्र शैक्षिक कार्यक्रमहरु अझ प्रभावकारी रुपमा सञ्चालन हुने अपेक्षा गरिएको छ।
दुवै सहायक प्रधानाध्यापकले प्रशासनिक तथा दैनिक कार्य सञ्चालन र शैक्षिक तथा गुणस्तर अभिवृद्धिका दुई फरक–फरक क्षेत्रको स्पष्ट जिम्मेवारीसहित एकअर्का संग र सम्पूर्ण शिक्षक कर्मचारीसँग समन्वय गर्दै प्रधानाध्यापकको नेतृत्वलाई थप प्रभावकारी बनाउन भूमिका निर्वाह गर्नुहुनेछ।
विद्यालयको सहायक प्रधानाध्यापकको रूपमा नियुक्त हुनु भएको शिक्षकहरु श्री दीपक पोखरेलज्यू तथा श्री सृजना पुनज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना! 🌷
11/08/2026
ूह_कोष
विद्यालय सुधारका लागि ठूलो बजेट, ठूलो दाता वा ठूलो सहयोग मात्र आवश्यक होइन। कहिलेकाहीँ धेरै मनहरू जोडिनु नै सबैभन्दा ठूलो शक्ति हुन्छ।
यही विश्वास, जिम्मेवारी र सार्वजनिक शिक्षाप्रतिको साझा प्रतिबद्धताबाट सुरु भएको यस विद्यालयको The Club Hundred - सय समूह कोष अभियान आज केवल सहयोग सङ्कलन गर्ने एउटा कार्यक्रम मात्र नभएर विद्यालय सुधार र सार्वजनिक शिक्षालाई बलियो बनाउने एउटा साझा अभियानका रूपमा विकसित हुँदै गएको छ।
प्रत्येक महिना रु. १००, अर्थात् वर्षमा रु. १,२०० नियमित योगदान गर्ने १८१ जना आदरणीय Regular Members आज हाम्रो Club Hundred - सय समूह कोष अभियान निरन्तरताको आधार स्तम्भ हुनुभएको छ।
The Club Hundred - सय समूह कोषमा Regular Member (नियमित सदस्य) को रूपमा हाम्रा अभिभावक, भूपू विद्यार्थी तथा शिक्षक, शिक्षाप्रेमी, समाजसेवी, बुद्धिजीवी, शिक्षा क्षेत्रका शुभेच्छुकहरू हुनुहुन्छ। अझ मन छुने कुरा त के छ भने—जसका छोराछोरी हाम्रो विद्यालयमा कहिल्यै पढ्नु भएको होइन र भविष्यमा पनि पढ्ने सम्भावना छैन, उहाँहरू समेत सार्वजनिक शिक्षाप्रतिको विश्वास र विद्यार्थीहरूको भविष्यप्रतिको मायाका कारण यस अभियानमा जोडिनु भएको छ।
एउटै परिवारबाट दुई जना अभिभावक सदस्य बन्नुभएको उदाहरण पनि छ।
यसले यो अभियान केवल रकम सँग मात्रै नजोडीएर, यो सम्बन्ध, विश्वास र जिम्मेवारी सँग जोडिएको हामीलाई महसुस भएको छ।
#रु_१००_को_अर्थ_रकम_भन्दा_धेरै_ठुलो_छ!
रु. १०० प्रति महिना सानो रकम हो तर जब सयौँ मनहरू एउटै उद्देश्यका लागि जोडिन्छन्, त्यही सानो योगदानले ठूलो अर्थ राख्छ।
यसबाट विद्यालयका फर्निचर तथा कक्षाकोठा व्यवस्थापन, खेलकुद सामग्री, खानेपानी, विद्यालय परिसर सुधार, मर्मत सम्भार, आवश्यक सामग्री, परीक्षा तथा मूल्याङ्कन, शनिबारका अभ्यास परीक्षा, विद्यार्थी हितका कार्यक्रम, तालिम तथा सिकाइ भ्रमण लगायत विभिन्न शैक्षिक गतिविधिमा सहयोग पुगेको छ। कहिलेकाहीँ शिक्षक सरुवा भएर लामो समयसम्म कक्षा खाली हुने अवस्था आउँदा विद्यार्थीको सिकाइ नरोकियोस् भनेर वैकल्पिक शिक्षक व्यवस्थापनमा समेत यही अभियानबाट सहयोग पुगेको छ। विभिन्न सहयोगी संघ–संस्थासँगको समन्वयमा विद्यार्थी हितका कार्यक्रम सञ्चालन गर्न पनि The Club Hundred - सय समूह कोषले ठूलो सहयोग गरेको छ।
त्यसैले तपाईंहरूको योगदान विद्यालयको खातामा जम्मा भएको रकम मात्र होइन।
यो कहिले कक्षाकोठा बनेर पुगेको छ,
कहिले विद्यार्थीको हातमा शैक्षिक सामग्री र छात्रवृत्ति बनेर पुगेको छ, कहिले खेलमैदानमा खेलकुद सामग्री बनेर पुगेको छ, कहिले खानेपानी बनेर पुगेको छ,
कहिले खाली कक्षामा शिक्षक बनेर पुगेको छ, र कहिले विद्यार्थीका नयाँ सिकाइ अवसर बनेर पुगेको छ।
#सदस्यप्रतिको_हाम्रो_जिम्मेवारी
The Club Hundred - सय समूह कोषलाई केवल विद्यालय सुधारको अभियानमा सीमित नराखी यस अभियानसँग जोडिनु भएका सदस्य र यस विद्यालयमा अध्ययनरत उहाँहरूका छोराछोरी प्रतिको हाम्रो जिम्मेवारीलाई पनि जोड्ने प्रयास गरेका छौँ।
यस वर्ष The Club Hundred - सय समूह कोषका सदस्यहरूको एक वर्षे दुर्घटना बीमा गरिएको छ भने सदस्यका विद्यालयमा अध्ययनरत सबै छोराछोरीहरूको समेत रु. १ लाखसम्मको दुर्घटना बीमा गरिएको छ। दुर्घटनाका कारण उपचार आवश्यक परेमा तोकिएको सीमासम्मको सुविधा उपलब्ध हुने व्यवस्था गरिएको छ।
त्यसैगरी, सदस्य अभिभावकलाई दुर्घटनाका कारण उपचार आवश्यक परेमा रु. १ लाखसम्म र दुर्घटना बाहेक अन्य रोगका कारण अस्पताल भर्ना हुनुपरेमा रु. ५० हजारसम्मको उपचार सुविधा समेत समेटिएको छ। सदस्य ज्यूहरुको लागी याे विमा सुविधा आगामी वर्षहरूमा पनि निरन्तर सञ्चालन हुनेछ।
#हाम्रो_दृष्टिमा_यो_केवल_बीमा_सुविधा_होइन।
यो हाम्रा अभिभावक तथा The Club Hundred सदस्य प्रतिको कृतज्ञता हो , उहाँहरू सँगको आत्मीय सम्बन्ध हो। #नियमित_सदस्यदेखि_विशेष_सहयोगीसम्म
The Club Hundred - सय समूह कोष अभियानका विभिन्न आवश्यकता र अवस्थामा रु. १,००० देखि रु. १ लाख वा त्यसभन्दा बढी आर्थिक सहयोग गर्नुहुने, तथा शैक्षिक सामग्री, सङ्गीतका सामग्री, खेलकुद सामग्री, फर्निचर लगायत आवश्यक सामग्री सहयोग गर्नुहुने दाता महानुभावहरू पनि हाम्रो विद्यालयका महत्वपूर्ण सहयोगी र शुभेच्छुक हुनुहुन्छ।
उहाँहरूको सहयोगलाई हामीले नियमित रूपमा सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै सम्मान तथा कृतज्ञता व्यक्त गर्दै आएका छौँ।
यो सहयोगको प्रचार मात्र होइन—
सहयोगी मनहरूप्रति सार्वजनिक रूपमा आभार र कृतज्ञता व्यक्त गर्दै The Club Hundred का १८१ जना Regular Members को नामावली गर्वका साथ सार्वजनिक गरिएको यहाँहरु सबैमा जानकारी गराउँदै यस अभियानमा जोडिन यहाँहरु सबैमा हार्दिक अनुरोध गर्दछौं।
11/08/2026
#विज्ञापन!
#माध्यमिक_तह_गणित_विषय
05/08/2026
हाम्रो विद्यालयकी अत्यन्तै मेहनती, समर्पित र कुशल शिक्षिका श्री बुद्धिमाया श्रेष्ठ तथा उहाँको श्रीमान्, राष्ट्रसेवक नेपाल प्रहरीमा सेवारत श्री नेत्रकुमार श्रेष्ठ (बौदीकाली गाउँपालिका–२, नवलपरासी (पूर्व)) ले आफ्ना सुपुत्र, यस विद्यालयको कक्षा–५ मा अध्ययनरत विद्यार्थी मानव श्रेष्ठको जन्मदिनको पावन अवसरमा विद्यालयको The Club Hundred अभियानमा रु. ५,५०० (५५ वटा सय) सहयोग प्रदान गर्नु भएको छ।
प्रिय मानव श्रेष्ठलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना! जीवन सुस्वास्थ्य, दीर्घायु, उज्ज्वल भविष्य, उत्कृष्ट अध्ययन, निरन्तर उन्नति, प्रगति र सफलताले भरिपूर्ण रहोस्।
साथै, आदरणीय बुबा–आमाको जीवनमा सधैं सुख, शान्ति, समृद्धि र खुसी छाओस् तथा आफ्ना सन्तानको प्रगति, उपलब्धि र असल संस्कारबाट सदैव गौरव र सन्तोष प्राप्त भइरहोस्।
सहयोगका लागि श्री डेढगाउँ माध्यमिक विद्यालय परिवार तथा The Club Hundred परिवार हार्दिक धन्यवाद, उच्च सम्मान तथा कृतज्ञता व्यक्त गर्दछ।
04/08/2026
शिक्षक सरुवा सम्बन्धी सूचना (दोस्रो पटक प्रकाशन)
04/08/2026
श्री भुल माया बि क (पूर्व वडा सदस्य, बौदिकाली गाउँपालिका–२ तथा श्री डेढगाउँ माध्यमिक विद्यालयको पूर्व विद्यालय व्यवस्थापन समिति सदस्य) र श्री हिमाल बि क (शिक्षाप्रेमी तथा समाजसेवी), बौदिकाली गाउँपालिका–२ निवासी, ले आफ्ना ज्येष्ठ सुपुत्र अचित बि क को जन्मदिनको विशेष अवसर पारेर विद्यालयको The Club Hundred - सय समूह कोषमा रु. ५,५०० (५५ ओटा सय) आर्थिक सहयोग प्रदान गर्नुभएकोमा विद्यालय परिवार हार्दिक कृतज्ञता व्यक्त गर्दछ।
श्री अचित बि क एसईई २०७४ ब्याच का अत्यन्त मेहनती, अनुशासित र लगनशील विद्यार्थी हुनुहुन्छ। हाल उहाँ उच्च शिक्षा अध्ययनको सिलसिलामा जापानमा रहनुभएको छ।
श्री अचित बि क लाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै उहाँको सुस्वास्थ्य, दीर्घायु, सुख, समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक कामना गर्दछौं।
साथै, यस पवित्र अवसरमा विद्यालयप्रति सहयोग प्रदान गर्नुहुने आदरणीय श्री हिमाल बि क तथा श्रीमती भुल माया बि क प्रति हार्दिक सम्मान, आभार तथा धन्यवाद व्यक्त गर्दछौं।
विद्यालयप्रतिको यहाँहरूको निरन्तर सद्भाव, विश्वास र सहयोग भविष्यमा पनि यसैगरी कायम रहिरहोस् भन्ने शुभेच्छा व्यक्त गर्दछौं।
02/08/2026
#सूचना!
सम्पूर्ण विद्यार्थी, अभिभावक तथा सरोकारवालाहरूमा शैक्षिक सत्र २०८३ को वर्षे बिदा समाप्त भई भोलि मिति २०८३ साल साउन १८ गते (सोमबार) देखि नर्सरी देखि कक्षा १० सम्म विद्यालयको नियमित पठनपाठन तथा सम्पूर्ण शैक्षिक गतिविधिहरू पूर्ववत् सञ्चालन हुने जानकारी गराइन्छ।
तसर्थ, सम्पूर्ण विद्यार्थीहरूलाई बिदाको समयमा दिइएको गृहकार्य पूरा गरी, आवश्यक पाठ्यपुस्तक तथा शैक्षिक सामग्री सहित विद्यालयको निर्धारित समयमै उपस्थित भई नियमित कक्षामा सहभागी हुन अनुरोध गरिन्छ।
साथै कक्षा ११ र १२ को मिति २०८३ श्रावण २५ गते देखि नियमित कक्षा सञ्चालन हुनेछ।
26/07/2026
#आमाको_जन्मदिनको_पावन_अवसरमा_प्रेरणादायी_सहयोग 🎉
बौदीकाली गाउँपालिका - २, डेढगाउँ फेदी निवासी #श्रीमती_श्याम_कुमारी_कुँवरको आज परेको शुभ जन्मदिनको पावन अवसरमा उहाँका सुपुत्रहरू #श्री_राम_बहादुर_कुँवर तथा #श्री_विष्णु_कुँवरले विद्यालयको The Club Hundred - सय समूह कोषमा रु. ५,५००।- (५५ ओटा सय) रकम सहयोग प्रदान गर्नुभएकोमा विद्यालय परिवार हार्दिक कृतज्ञता व्यक्त गर्दछ।
#श्री_राम_बहादुर_कुँवर (SLC-2061) र #विष्णु_कुँवर (SLC - 2063) यस विद्यालयका भूपू विद्यार्थी हुनुहुन्छ। श्री राम बहादुर कुँवर हाल जापानमा रहनुभएको छ भने श्री विष्णु कुँवर अष्ट्रेलियामा हुनुहुन्छ। आमाको जन्मदिनलाई परोपकारी कार्यसँग जोडेर विद्यालयको The Club Hundred - सय समूह कोषमा सहयोग गर्नु उहाँहरूको अनुकरणीय र उदाहरणीय पहल हो।
यस सहयोगका लागि उहाँहरू दुवैप्रति विद्यालय परिवार हार्दिक सम्मान, आभार तथा धन्यवाद व्यक्त गर्दै आदरणीय #श्री_श्याम_कुमारी_कुँवरज्यूलाई_जन्मदिनको_हार्दिक_शुभकामना_व्यक्त_गर्दछौं।
उहाँको जीवन सधैँ सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति र समृद्धिले भरिपूर्ण रहोस्।