15/07/2026
शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३ का केही प्रावधानप्रति असहमति जनाउँदै विभिन्न शैक्षिक सङ्घ–संस्थाहरूले आज संयुक्त पत्रकार सम्मेलन आयोजना गरेका छन्।
पत्रकार सम्मेलनमा नेपाल शैक्षिक परामर्श व्यवसायी महासङ्घका वरिष्ठ सदस्य तथा ECAN का पूर्व अध्यक्ष प्रकाश पाण्डेले विशेषगरी धरौटी लगायतका केही प्रावधानहरूले शैक्षिक परामर्श व्यवसायलाई अनावश्यक रूपमा निरुत्साहित गर्ने मात्र नभई त्यसको प्रत्यक्ष असर विद्यार्थी र अभिभावकमाथि पर्ने बताउनुभयो। यस्ता व्यवस्थाले सेवाको लागत बढ्ने, पहुँच सीमित हुन सक्ने तथा अन्ततः विद्यार्थी र अभिभावक नै प्रभावित हुने भएकाले सरोकारवालासँग व्यापक छलफल गरी नियमावली संशोधन गर्न सरकारसँग आग्रह गर्नुभयो।
उहाँले गुणस्तरीय नियमन आवश्यक रहेको स्वीकार गर्दै अव्यावहारिक र कार्यान्वयन गर्न कठिन प्रावधानहरू सच्याएर मात्र प्रभावकारी, न्यायोचित र दीगो नियमन सम्भव हुने धारणा व्यक्त गर्नुभयो। साथै, नीति निर्माणका क्रममा शैक्षिक परामर्श क्षेत्रलाई साझेदारका रूपमा लिएर अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो।