30/10/2025
एउटा गाउँमा एकदम चलाख र धूर्त जमिन्दार बस्थ्यो। ऊ गरिब र विपन्न मानिसहरूलाई सानो रकम ऋण दिन्थ्यो, तर त्यसमा ठूलो ब्याज थप्दै जान्थ्यो। धेरै मानिस अशिक्षित थिए, त्यसैले ऊ त्यसैको फाइदा उठाउँथ्यो। सुरुमा सानो ऋण लिएका मानिसहरू पछि ब्याजसहित रकम तिर्न नसक्दा आफ्नै जग्गा उसलाई सुम्पन बाध्य हुन्थे।
त्यो जमिन्दारको नजर अब उसको घर नजिकै बस्ने एक वृद्ध आमाको जग्गामा पर्यो। ती वृद्धा एक्लै बस्दथिन्, उनको परिवार थिएन। आफ्नै खेतमा अन्न फलाएर आत्मनिर्भर जीवन बिताइरहेकी थिइन्। जमिन्दारले उनलाई कसरी झुक्याउने भनेर धेरै उपाय खोज्यो तर सफल भएन। अन्ततः उसले गाउँकै सरकारी अधिकृतलाई घूस दिएर जग्गाको नक्कली कागज बनायो। दुवै जना ती वृद्धा आमाकहाँ गए र उनलाई जग्गा खाली गर्न सूचना दिए।
यो सुनेर वृद्ध आमा स्तब्ध भइन्। उनले करुण स्वरमा भनिन् — “म त यहाँ सानो हुँदा देखिनै बस्दै आएकी छु। यो जग्गा मेरा पूर्खाको हो, यही मेरो जीवन बितेको ठाउँ हो। कसरी अरूले यो जग्गा आफ्नै भनेर दाबी गर्न सक्छ? म यो जग्गा छोड्ने वाला छैन।” उनले अदालतमा सबै ठाउँ गुहारिन् तर अदालतका मानिसहरू पनि जमिन्दारकै पैसा खाएर बिकिसकेका थिए। अदालतले फैसला जमिन्दारकै पक्षमा गर्यो।
मनभरी पीडा बोकेर वृद्धा आमाले आफ्नो घरबारी छाड्ने तयारी गर्न थालिन्। जमिन्दार र उसका मान्छेहरू नजिकै उभिएका थिए। वृद्धा आमाले आँसु पुछ्दै भनिन्, “साहुजी, आज तपाईंले मेरो सबथोक खोस्नुभयो। मेरो सारा जीवन यही माटोमा बित्यो। यहीँ म खेल्दै हुर्केँ, यहीँ परिवारसँग बाँचेँ। यो माटो मेरो आत्मासँग जोडिएको छ।”
उनीले थपिन्, “ठिक छ यो जग्गा त हजूरले हडपेर लिनुभयो तर जाँदाजादै खै किन किन यो जग्गाको माटो प्रती माया लागेर आयो । कृपया मलाई एउटा टोकरीमा यो जग्गाको माटो भरेर लैजान दिनुहोस् न । यसैको सुगन्ध लिएर म शान्तिपूर्वक मर्नेछु।”
जमिन्दारले ठट्टा गर्दै हाँस्यो। उसले सोच्यो — सारा जग्गा त मेरो भयो, अब एक टोकरी माटो लिएर गई भने के बिग्रिन्छ र? उसले भन्यो, “हुन्छ, दिदी, टोकरी भर्नुस् र लैजानुस् माटो।”
वृद्धा आमाले टोकरी माटोले भरिन्, त्यसलाई काखमा राखेर उठाउन खोजिन् तर धेरै भारी भयो। उनले भनिन्, “साहुजी, कृपया यो टोकरी मेरो टाउकोमा राखिदिनुहोस् न।”
जमिन्दार अघि बढ्यो र भन्यो, “दिदी, तपाईंले त टोकरीमा धेरै माटो हाल्नुभएछ, लानै नसकिने गरी किन यति धेरै माटो टोकरीमा भर्नुभएको ?” आमाले आँखाभरि आँसु पार्दै शान्त स्वरमा भनिन्, “साहुजी, म अहिले जीवित छु र पनि म यस जग्गाको माटो एक टोकरी लैजान सक्दिनँ भने जब म मर्छु, तब पनि माटोको एउटा कण साथ लैजान सकूँली र ?? तपाईंले त कति मान्छेको कति जग्गा खोस्नुभयो, सोच्नुस् त— मर्नु अघि तपाईं यी सबै माटो कहाँ लैजानुहुन्छ? र मरेपछि पनि आफ्नै साथमा कति माटो बोकेर जानुहोला? तपाईंले पनि त सबै छोडेरै जाने हो।”
जमिन्दार एकछिन छक्क पर्यो। अनायासै उसका आँखा रसाए। उसको अन्तर्मनमा पश्चात्तापले हलचल मच्चायो। ऊ वृद्धा आमाका खुट्टामा ढोग गर्दै भन्यो, “दिदी, मलाई माफ गरिदिनुहोस्। तपाईं यहीँ खुशीसँग बस्नुस्।” अन्तमा जमिन्दारले वृद्धा आमाको जग्गा फर्काइदिन्छ।
लोभले मानिसलाई अन्धो बनाउँछ। जीवनमा जे छ, त्यसमा सन्तुष्ट हुन सिक्नुस् — अरूलाई दुख दिई कमाएको सम्पत्तिले कहिल्यै खुशी मिल्दैन।