27/05/2026
दक्षिण एसियाकै ठूलो तथा उच्च गुणस्तरको म्याग्नेसाइट उद्योगमध्ये एक मानिएको नेपाल ओरियन्ट म्याग्नेसाइट उद्योग विगत २७ वर्षदेखि बन्द अवस्थामा छ। कुनै समय दुई हजारभन्दा बढी नेपालीलाई प्रत्यक्ष रोजगारी दिएको सिन्धुपाल्चोकको बलेफीस्थित यो उद्योग अहिले भग्नावशेषमा परिणत भएको छ। अर्बौं मूल्य बराबरको खनिज जमिनमुनि थन्किएको छ भने करोडौं मूल्यका मेसिन तथा संरचनाहरू जिर्ण बन्दै गएका छन्।
२०३५ साल चैत २४ गते सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–८, लामोसाँघुमा स्थापना भएको उद्योगको खानी क्षेत्र भने दोलखाको भीमेश्वर नगरपालिका–९, खरीढुंगामा फैलिएको छ। तत्कालीन पञ्चायत सरकारले लामोसाँघुमा ३ सय ६६ रोपनी जग्गामा उद्योग तथा प्रशोधन संरचना निर्माण गरेको थियो भने खरीढुंगामा करिब ५ हजार २ सय रोपनी क्षेत्र समेटेर विशाल खानी सञ्चालनमा ल्याइएको थियो।
नेपालमा पाइने म्याग्नेसाइट अत्यन्त उच्च गुणस्तरको ‘क’ श्रेणीको मानिन्थ्यो। उद्योगसम्बन्धी जानकारहरूका अनुसार भारतमा पाइने म्याग्नेसाइट तुलनात्मक रूपमा कम गुणस्तरको भएकाले नेपाली उत्पादनले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा बढाउन सक्ने अवस्था थियो। यही कारण विभिन्न कालखण्डमा विदेशी स्वार्थ, राजनीतिक अस्थिरता र आन्तरिक चलखेलका कारण उद्योगलाई योजनाबद्ध रूपमा कमजोर बनाइएको दाबी गरिन्छ।
उद्योग सञ्चालनमा भारतको उडिसा इन्डस्ट्रिजको १२.५ प्रतिशत मात्र सेयर थियो। पूर्ण नियन्त्रण नपाएको कारण भारत असन्तुष्ट बनेको र त्यसपछि उद्योगमाथि अप्रत्यक्ष दबाब बढेको दाबी उद्योगसँग सम्बन्धित केही जानकारहरूले गर्दै आएका छन्। अन्ततः २०५५ सालमा उद्योग पूर्ण रूपमा बन्द भयो।
त्यसपछि पनि उद्योग पुनः सञ्चालन गर्न सकिने अवस्था रहेको दाबी गरिन्छ। तर, द्वन्द्वकालमा माओबादी द्वारा उद्योग परिसरमा बम तथा ग्रिनेड विस्फोट गराउँदा बहुमूल्य मेसिन र उपकरणहरूमा ठूलो क्षति पुगी उद्योग ध्वस्त भएको स्थानीयहरू बताउँछन्। त्यसपछि उद्योग झन् जीर्ण बन्दै गयो। विभिन्न सरकार गठन भए, अध्ययन समिति बने, प्रतिवेदन तयार भए, तर उद्योग पुनः सञ्चालनतर्फ कुनै ठोस प्रगति हुन सकेन।
अहिले उद्योग परिसरमा केही सुरक्षा गार्ड र सीमित कर्मचारीबाहेक कुनै गतिविधि छैन। तर, म्याग्नेसाइट साधारण खनिज होइन। यसबाट रासायनिक मल, सिमेन्ट, औद्योगिक रसायन, औषधि, स्टिल उद्योग तथा उच्च ताप सहने औद्योगिक सामग्री उत्पादन गर्न सकिन्छ। विश्व बजारमा यसको माग अझै उच्च रहेको विज्ञहरू बताउँछन्।
उद्योग पुनः सञ्चालन गर्न सकिए हजारौं युवाले रोजगारी पाउने, नेपालले विदेशी मुद्रा आर्जन गर्ने र औद्योगिकीकरणको नयाँ सम्भावना खुल्ने अपेक्षा गरिएको छ। पछिल्लो समय उद्योग पुनः सञ्चालनको सम्भावनाबारे सरकारी स्तरमा अध्ययन भइरहेको चर्चा पनि सुरु भएको छ।
विज्ञान, प्रविधि तथा नवप्रवर्तनको क्षेत्रमा भइरहेको बहससँगै उद्योगलाई आधुनिक प्रविधिमा आधारित बनाएर पुनर्जीवित गर्नुपर्ने आवाज उठ्न थालेको छ। उद्योग पुनः सञ्चालनका लागि स्पष्ट नीति, दीर्घकालीन योजना र राष्ट्रिय प्रतिबद्धता आवश्यक रहेको सरोकारवालाहरूको भनाइ छ।
नेपालसँग पर्याप्त स्रोत, खानी र सम्भावना छ। आवश्यकता भनेको आफ्नै प्राकृतिक सम्पदामाथि विश्वास गर्दै त्यसलाई राष्ट्रिय समृद्धिसँग जोड्ने दृढ इच्छाशक्ति हो। 🇳🇵