07/04/2017
निधि र थापा को सिनियर ?
उमेरको हिसावले निधि र थापा करिव-करिव समकालिन हुन् । पारिवारिक पृष्ठभूमी पनि दुवैको उच्च मध्यम बर्ग नै हो । दुवै जना राजनीतिमा संलग्न हुनुको मुख्य कारण पनि पारिवारिक पृष्ठभूमी नै रहेको देखिन्छ । फरक के हो भने निधि राजनीतिक संस्कारमा हुर्किए, कमल थापा सेनाको व्यारेकमा हुर्किए । २०१६ सालमा महेन्द्रनारायण निधि प्रतिनिधिसभाको उपसभामुख थिए भने कमल थापाका बाबु क्षेत्रबहादुर नेपाली सेनाका क्याप्टेन थिए । २०१७ सालमा राजाले प्रजातन्त्र अपहरण गरेपछि निधिको परिवार प्रजातन्त्र प्राप्तिको आन्दोलनमा होमियो भने कमल थापाको परिवार प्रजातान्त्रिक आन्दोलन दबाउने अभियानमा सामेल भयो ।
विमलेन्द्र निधिको बालमस्तिस्कमा प्रजातन्त्र नै सबै थोक हो भन्ने छाप पर्यो, कमल थापाको बाल मस्तिस्कमा निरंकुशता नै सबै थोक हो भन्ने छाप पर्यो । २०१८ सालमा नेपाली कांग्रेसको नेतृत्वमा सशस्त्र आन्दोलन हुँदा निधि परिवारको खाने बस्ने ठेगान भएन तर कमल थापाका बाबु क्षेत्रबहादुर थापा आफ्नो परिवारलाई हेटौंडा स्थिति सैनिक ब्यारेकमा सुरक्षित राखेर चितवन खटिए ।
त्यतिबेला सेनाको मेजर भइसकेका क्षेत्रबहादुरले नेपाली कांग्रेसको आन्दोलन दवाउन ठूलो सफलता प्राप्त गरे । जगतप्रकाश जंग शाह, शमशेरबहादुर घिमिरेलगायत नेपाली कांग्रेसका ११ जना नेताहरुलाई चितवनको दियालो बंगला नजिक एक चिहान बनाउन सफल भएका मेजर क्षेत्रबहादुर बढुवा भएर कर्णेल बने । त्यही पुरस्कार बापत दरबारले कमल थापालाई राजनीतिमा स्थापित गराएको हो । निधि नेवि संघको राजनीतिमा लाग्ने क्रममा १४ वर्षको उमेरमै जेल परे ।
कमल थापा पञ्चायती व्यवस्था समर्थक राष्ट्रवादी विद्यार्थी मण्डलको राजनीतिमा लागेका कारण उनले दुख पाउनु परेन । निधि नेवि संघको अध्यक्ष बन्दा कमल थापा पनि पन्चायती व्यवस्था समर्थक राष्ट्रवादी विद्यार्थी मण्डलको अध्यक्ष भइसकेका थिए । त्यतिवेला नेवि संघका नेता कार्यकर्ताहरुलाई संघातिक आक्रमण गर्न स्वतन्त्र विद्यार्थी मण्डलले सेना र प्रहरीको सहयोगमा खेलेको भूमिका इतिहासको पानाबाट कहिल्यै मेटिँदैन ।
पञ्चायतकालमा नेवि संघको अध्यक्ष हुँदा त निधिले कमल थापा तथा मण्डले प्रवृत्ति विरुद्ध लडाँइ लडेकै थिए । यतिबेला गणतन्त्र आइसक्दा समेत त्यही पात्र तथा प्रवृत्तिको लडाइँमा निधिको समय खेर गएको छ । वर्तमान व्यवस्थालाई ध्वस्त पार्ने कमल थापाको घोषित नीति नै हो । यो प्रवृत्ति विरुद्ध सिंगो कांग्रेस लड्ने कि निधिलाई खुच्चिङ् भन्दै बस्ने ? नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता माथिको यक्ष प्रश्न हो यो ।