05/10/2020
जुन समयमा "ज्ञानमार्ग पूर्व विद्यार्थी समाज" बनाउने प्रसङ्ग चल्यो, हामीमध्ये धेरैलाई आफ्नो स्कूले जीवनका रमाईला क्षणहरु सम्झँदा पक्कै रोमाञ्चित र नोस्टाल्जिक बनाएको हुनुपर्छ ।
यस दौरान धेरै अग्रजहरुका उपयुक्त सुझाव,सल्लाह र प्रेरणाले विभिन्न क्षेत्रमा क्रियाशील साथीहरू, दाजुभाई, दिदीबहिनीहरूसँग सहज सम्पर्क बनिरहेको जानकारी गराउँदछौं ।
केही साथीहरूलाई यो अभियानले आर्थिक सहयोग माग्न खोजेको हो कि भन्ने सन्देहपूर्ण जिज्ञासा समेत रहेको पाइएको सन्दर्भमा उहाँहरुलाई यसभन्दा अगाडिका सूचना/जानकारीहरु हेर्न, पढ्न र बुझ्न विनम्रतापूर्वक आग्रह गर्दछौँ ।
यसै सिलसिलामा अग्रपंक्तिमा रहेर सम्पर्क व्यवस्थापन गरिरहेका साथीहरूलाई सम्पर्क गर्न र सर्वेक्षणका लागि तयार गरिएको फाराम सकेसम्म छिटो अनलाईन भरिदिन सम्पूर्ण पूर्व विद्यार्थीहरूलाई यसै सूचना मार्फत् हार्दिक अनुरोध गर्दछौं ।
यदि अनलाईन भर्न नसकिएको अवस्थामा सर्वेक्षणको लागि तयार पारिएको Hardcopy form समेत उपलब्ध गराइने बेहोरा जानकारी गराउँदछौं ।
यसलाई तार्किक निष्कर्षमा पुर्याउन हामी पूर्व विद्यार्थीहरूको भूमिका महत्वपूर्ण हुनेछ ।
आफ्नो बाल्यकाल र साथीसङ्गीहरूसँगका अमूल्य सम्झनाहरु साँटासाँट गर्न, विद्यालयसँग एकाकार भइ हामीहरूबीचको आपसी सम्बन्ध सुदृढ तुल्याउन र आर्जेको ज्ञान, सीप र क्षमतालाई विद्यालय र समुदायको हितमा प्रयोग गर्ने पवित्र चाहना र उद्देश्यका साथ पूर्व विद्यार्थी समाज निर्माणको औपचारिक र व्यवस्थित प्रक्रिया यस वर्षको दशैंमा पुरा गर्ने तयारी हुँदैछ ।
कोभिड-१९ को महामारीका कारण यस बिचमा भौतिक उपस्थितिमा भेला आयोजना गर्ने सम्भावना नरहेकोले कार्तिक महिनाको पहिलो सातामा भौतिक दूरी कायम गरी ज्ञानमार्ग माविको प्राङ्गणमा भेला आयोजना गरिने छ ।
मिति र समय अर्को सूचनामा जानकारी गराइने छ ।
सर्वेक्षणको लागि भर्ने फारामको Hardcopy आफ्नो अनुकूलतामा विद्यालय नजिकैको पुस्तक पसल (आयुशा बुक्स एण्ड स्टेशनरी) मा निःशुल्क प्राप्त गर्न सकिने छ ।
धन्यवाद!