19/06/2026
जानकी सेकेन्डरी स्कुल, वीरगञ्ज ३ मा स्टुडेन्ट काउन्सिल २०८३ को निर्वाचन सम्पन्न, नयाँ विद्यार्थी नेतृत्व चयन
वीरगञ्ज, असार ५ । विद्यार्थीहरूमा नेतृत्व क्षमता, अनुशासन, जिम्मेवारी तथा लोकतान्त्रिक संस्कारको विकास गर्ने उद्देश्यले जानकी सेकेन्डरी स्कुल, वीरगञ्ज–३ मा आयोजित स्टुडेन्ट काउन्सिल २०८३ को निर्वाचन सम्पन्न भई नतिजा सार्वजनिक गरिएको छ।
विद्यालयको निर्वाचन समितिको संयोजनमा सम्पन्न निर्वाचनमा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। ११ वटा पदका लागि २७ जना विद्यार्थीले उम्मेदवारी दर्ता गराएका थिए। मतदान प्रक्रियामार्फत विद्यार्थीहरूले आफ्ना प्रतिनिधि चयन गरेका हुन्।
निर्वाचन परिणामअनुसार हेड ब्वायमा राजेश यादव, हेड गर्लमा सृष्टि पटेल तथा प्रिफेक्टमा आदित्य पाण्डे निर्वाचित भएका छन्।
त्यसैगरी विभिन्न हाउसका पदाधिकारीहरू पनि चयन भएका छन्। ब्लु हाउसको क्याप्टेनमा रञ्जना यादव तथा उपक्याप्टेनमा नन्दनी गुप्ता, रेड हाउसको क्याप्टेनमा जय पटेल तथा उपक्याप्टेनमा पुष्पा आर्या, ग्रीन हाउसको क्याप्टेनमा सिंघम यादव तथा उपक्याप्टेनमा राजनन्दनी साह, र येलो हाउसको क्याप्टेनमा आस्था कुमारी तथा उपक्याप्टेनमा आर्यन कर्ण निर्वाचित भएका छन्।
विद्यालय प्रशासनले निर्वाचित सम्पूर्ण विद्यार्थी प्रतिनिधिहरूलाई बधाई दिँदै विद्यालयको अनुशासन, शैक्षिक वातावरण तथा अतिरिक्त क्रियाकलापको प्रभावकारी सञ्चालनमा सक्रिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेको छ। विद्यालयले यस्ता लोकतान्त्रिक अभ्यासले विद्यार्थीहरूमा नेतृत्व क्षमता, आत्मविश्वास र जिम्मेवारीबोधको विकास हुने जनाएको छ।
विद्यालयका प्रधानाध्यापक वीरेन्द्र यादवले विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि स्टुडेन्ट काउन्सिल कार्यक्रम महत्वपूर्ण माध्यम बनेको बताउँदै निर्वाचित प्रतिनिधिहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो।