23/12/2025
सन् २०२६ देखि पानीजहाज निर्माणमा छुट्टै कोटा नहुने 🇰🇷‼️
कोरियन श्रम मन्त्रालयले हालै सार्वजनिक गरेको प्रेस विज्ञप्ति अनुसार सन् २०२६ बाट पानीजहाज निर्माण क्षेत्र (Shipbuilding) का लागि छुट्टै कोटा व्यवस्था लागू नहुने भएको छ। सन् २०२३ अप्रिलदेखि सुरु गरिएको यस क्षेत्रको निश्चित कोटा प्रणाली सन् २०२५ को अन्त्यसँगै औपचारिक रूपमा समाप्त हुने जनाइएको छ।
अब सन् २०२६ देखि भने पानीजहाज निर्माण क्षेत्रका कामदारहरू पुरानै अभ्यासअनुसार उत्पादनमूलक क्षेत्र (Manufacturing) को कोटामार्फत नै छनोट गरिनेछ। यसले पानीजहाज निर्माण क्षेत्रलाई स्वतन्त्र कोटाको रूपमा होइन, उत्पादनमूलक क्षेत्रकै एक भागका रूपमा समेटिने संकेत गर्दछ।
यस निर्णयले अहिले पानीजहाज निर्माण क्षेत्रतर्फ रोष्टरमा रहेका व्यक्तिहरूको भविष्यबारे अनेक प्रश्न खडा गरेको छ। पानीजहाज निर्माणको रोष्टरलाई उत्पादनमूलक क्षेत्रको रोष्टरकै रूपमा मानिने हो कि होइन? हाल छुट्टै कोटा हुँदाहुँदै पनि उत्पादनमूलक क्षेत्रबाटै पानीजहाज निर्माणतर्फ कामदार पठाइँदै आएको अवस्थामा, बाँकी रहेको रोष्टरको अवस्था अब के हुन्छ? भन्ने विषयमा स्पष्टता आवश्यक देखिन्छ।
यस सम्बन्धमा सम्बन्धित निकायले समयमै स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने आवश्यकता छ, ताकि रोष्टरमा रहेका व्यक्तिहरू अन्योलमा नपर्न्। यद्यपि, पानीजहाज निर्माण क्षेत्रमा आबद्ध केही व्यक्तिहरूले अझै कुनै वैकल्पिक व्यवस्था वा नयाँ सम्भावना देखा पर्न सक्ने आशा व्यक्त गरिरहेका छन्। त्यसैले यस नीतिगत परिवर्तनका कारण कसैलाई अवसरबाट बञ्चित हुनुपर्ने अवस्था नआओस् भन्ने अपेक्षा गरिएको छ।