06/04/2026
कथा मात्रै ब्यथा हैन
एक गाउँमा एउटा अनौठो मान्छे बस्थ्यो—उ न त कसैको पक्षमा उभिन्थ्यो, न त कसैको विपक्षमा। गाउँलेहरू उसलाई “तटस्थ” भनेर चिन्थे। धेरैलाई उसको स्वभाव अलि अजिब लाग्थ्यो।
जब गाउँमा विवाद हुन्थ्यो, मान्छेहरू दुई धारमा बाँडिन्थे—कोही पक्षमा, कोही विपक्षमा। तर उ भने सधैं बीचमै उभिन्थ्यो, चुपचाप, शान्त। त्यसैले कतिपयले उसलाई नपत्याउने, कतिपयले बेवास्ता गर्ने।
तर समय सधैं उस्तै रहँदैन।
एक दिन गाउँको एक मान्छे ठूलो समस्यामा पर्यो। उसलाई नजिकको कोही भेटिएन, जहाँ ऊ आफ्नो मनको पीडा पोख्न सकोस्। खुज्रा दुख होस् या होलसेल दुख—कुनै चौतारो जस्तो ठाउँ ऊसँग थिएन।
त्यही बेला उसले तटस्थ मान्छेलाई सम्झियो।
उ न त उसको पक्षमा बोल्यो, न कसैको विपक्षमा। तर उसले सुन्ने काम गर्यो—धैर्यपूर्वक, बिना निर्णय। अनि त्यही क्षण, त्यो पीडित मान्छेले महसुस गर्यो—तटस्थ हुनु भनेको कमजोर हुनु होइन, बरु सबैलाई अट्ने ठाउँ हुनु रहेछ।
तटस्थ मान्छेमा अर्को विशेषता पनि थियो—उ अत्यधिक खुशी हुँदा पनि उस्तै देखिन्थ्यो, र ठूलो दुखमा पनि उस्तै स्थिर। न उ कसैको पुच्छार बन्न चाहन्थ्यो, न कसैको “हनुमान”।
तर विडम्बना के थियो भने—जुन बेला अरूहरू आफ्नै कर्मको विपक्षमा पुग्थे, त्यही बेला उनीहरूलाई तटस्थ मान्छे मन पर्दैनथ्यो। उनीहरूको नजरमा ऊ कहिल्यै रुचिको पात्र बन्न सकेन।
किनकि उनीहरूले उसको गहिराइ बुझ्ने आँट नै गरेनन्।
तर समयले भने सधैं देखाइरह्यो—
जहाँ पक्ष र विपक्षले दूरी बढाउँछ, त्यहाँ तटस्थता नै साँचो चौतारो बन्छ,
जहाँ सबैले साथ छोड्छन्, त्यहाँ तटस्थ नै अन्तिम सहारा बन्न सक्छ ।