09/06/2025
नियो बैंक (Neo Bank)
भौतिक शाखा नभएका पूर्ण रुपमा अनलाइन वा डिजिटल माध्यमबाट संचालन हुने वित्तीय संस्थालाई नियो बैंक भनिन्छ। यस्ता संस्थाले मोबाइल एप वा वेबसाइट जस्ता डिजिटल प्लेटफर्म मार्फत सबै प्रकारका बैकिङ सेवा प्रदान गर्दछन्। यस्ता बैंकले परम्परागत बैंकहरुले जस्तै वित्तीय सेवाहरु प्रदान गर्दछन्। यिनीहरुलाई फिनटेक बैंक, च्यालेन्जर बैंक जस्ता नामले पनि चिनिन्छ। किनकि नियो बैंकले परम्परागत बैंकहरुलाई चुनौतीहरु समेत दिने गर्दछन्।
सरकारले आगामी आर्थिक वर्षमा नियो बैंक स्थापना गर्ने घोषणा गर्नुले नेपालको वित्तीय क्षेत्रमा डिजिटल रुपान्तरणलाई थप तीव्रता दिने संकेत गर्दछ। यस घोषणाले बैकिङ सेवालाई अझ बढी मानिसहरु माझ पुर्याउने र डिजिटल ट्रान्जेक्सनलाई प्रोत्साहन गर्ने लक्ष्य लिएको देखिन्छ।
नेपाल राष्ट्र बैंकले वित्तीय समावेशीकरण नीति २०८१ मार्फत डिजिटल प्रविधिमा नव प्रवर्धन र डिजिटल सेवाको उपलब्धता, पहुच र प्रयोग बढाउन प्रवर्दनात्मक कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखेको देखिन्छ। नियो बैंक सम्बन्धि सरकारको घोषणालाई यही नीतिको एक हिस्साको रुपमा हेर्न सकिन्छ।
परम्परागत बैकिङ भन्दा यो कसरी फरक छ?
नियो बैंकहरु पूर्ण रुपमा अनलाइनमा आधारित हुन्छन् जसले गर्दा तिनीको संचालन खर्च कम हुन्छ। शाखा र जनशक्तिमा हुने ठुलो खर्च जोगिने हुँदा यस्तो बैंकले ग्राहकलाई कम शुल्क र राम्रो ब्याज दर उपलब्ध गराउन सक्छन्। यस्ता वित्तीय संस्था मूलत प्रविधिमा आधारित हुन्छन्। जसले प्रयोगकर्ताको अनुभव सहज बनाउँछ र सेवाहरु वास्तविक समयमा उपलब्ध हुन्छन्।
परम्परागत बैंक भन्दा कम शुल्क लिने र बचत खातामा उच्च ब्याज दर दिने हुन्छ। बजेटिंग खर्च ट्रयाकिंग र बजत लक्ष्यहरु सेट गर्न सहयोग गर्ने उपकरणहरु पनि यस्ता संस्थाले प्रदान गर्दछन् ।
धेरै नियो बैंकहरुले फ्रीलान्सर,सानो तथा मझौला व्यवसाय, युवा वा कम बैंकिंग पहुँच भएका विशेष ग्राहक वर्गलाई लक्षित गरि सेवा प्रदान गर्छन्।
डाटा र प्रतिक्रियाको आधारमा नियो बैंकले नयाँ सुविधाहरु छिट्टै ल्याउन सक्छन्।
नियो बैंकको नाममा छुट्टै लाइसेन्स नीति जारी नभए पनि इसेवा, फोन पे, खल्ती, आइएमई पे जस्ता डिजिटल वालेट सेवा प्रदायक कम्पनीका साथै बैंक तथा केही फिनटेक कम्पनीले नियो बैंक जस्तै सेवा प्रदान गर्न थालिसकेका छन्। धेरै बैंकहरुले आफुलाई डिजिटल बैंकमा रुपान्तरण गर्न आवश्यक पूर्वाधारमा लगानी समेत गरिरहेका छन ।
नियो बैंकलाई चुनौती:
नियो बैंकहरुले विभिन्न चुनौतीहरूको सामना पनि गर्नुपर्ने हुनसक्छ जस्तै नाफा कमाउनु, परम्परागत बैंकहरूका लागि बनाएका नियमनकारी प्रावधानहरूसँग अनुकलन हुनु, साइबर सुरक्षा र स्थापित बैंकको तुलनामा ग्राहको विश्वास जित्नु आदि ।
भौतिक शाखा नहुँदा नगद व्यवस्थापनमा समेत समस्या हुने गरेको विश्वका केही बैंकको उदाहरणबाट देखिन्छ।
नेपालमा डिजिटल साक्षरता प्रवर्धनको चुनौती पनि रहेका छ, जसमा प्रविधिमा पहुँच, न्यून साक्षरता, ग्रामीण क्षेत्रमा पूर्वाधारको कमी, भाषागत चुनौती, आर्थिक स्थिति आदि हुन सक्छन्।
साइबर सुरक्षाको लागि दक्ष जनशक्तिको अभाव, नियमित परीक्षणको कमी, साइबर आक्रमणको बढ्दो प्रस्कृत प्रविधि नेपालका बैंकहरुमा मुख्य समस्याको रुपमा रहेका छन्।
अत: नियो बैंक डिजिटल युगको माग अनुसार उदाएको नयाँ वित्तीय संस्था हो जसले प्रविधिको प्रयोग गरि बैकिङ सेवालाई अझ पहुच योग्य, किफायति र सुविधाजनक बनाइरहेको छ। सरकारले नियो बैंक स्थापना गर्ने घोषणा गर्नुले नेपालमा पनि औपचारिक रुपमा यस्ता बैंकहरुको प्रवेशको लागि मार्ग प्रशस्त गरेको छ। जसले वित्तीय समावेशिता र डिजिटल अर्थतन्त्रमा टेवा पुर्याउने अपेक्षा गर्न सकिन्छ।