25/02/2024
कूपकन्या पूर्वविद्यार्थी मञ्च, कूपकन्या छात्रवृत्ति कोष र अन्य सरोकारवालाले श्री कूपकन्या माविसँग जोडिएका विभिन्न सन्दर्भमा उठाएका सवालबारे छलफल गरी देखिएका समस्या तत्काल समाधान गरी विद्यालयमा सकारात्मक वातावरण निर्माणका लागि आज मिति २०८० फागुन १३ गते विद्यालयका प्रधानाध्यापक फूलबहादुर तामाङ, सह–प्रधानाध्यापक नीलप्रसाद पराजुली, शिक्षक प्रतिनिधि चेतनाथ नेपाल र मञ्च तथा कोषका अध्यक्ष टुमराज कोइरालाबीच माङ्खा–६, अँधेरीमा भएको छलफलको टिपोट निम्नानुसारको छः
१. विद्यालयका कोषदाता तथा कूपकन्या छात्रवृत्ति कोष, कूपकन्या पूर्वविद्यार्थी मञ्च र अन्य सरोकारवालाले उठाएको सवालबारे छलफल गरी समन्वयकारी भूमिका निर्वाह गर्ने सन्दर्भमा विद्यालय प्रशासनबाट भएको कमजोरीको समीक्षा गरिएको छ र त्यसलाई सुधार गर्न तत्पर रहने प्रतिबद्धता विद्यालय प्रशासनबाट जाहेर भएको छ ।
२. विद्यालयमा छात्रवृत्ति कोष स्थापना गर्ने सम्पूर्ण दाताप्रति हार्दिक सम्मान व्यक्त गर्दै कोष स्थापनाका लागि अहोरात्र मिहिनेत गर्ने शिक्षकहरु, कूपकन्या पूर्वविद्यार्थी मञ्चका नेतृत्व तथा सदस्यहरु, कूपकन्या छात्रवृत्ति कोषका नेतृत्व तथा सदस्यहरु सम्पूर्णप्रति हार्दिक आभार व्यक्त गर्दै कोषका सन्दर्भमा देखिएका असमझदारीलाई कोषदाताहरुको पूर्ण भेलाबाट हल गर्नुपर्ने निष्कर्ष निकालिएको छ । त्यसका लागि बीचमा जुनसुकै निर्णय सार्वजनिक गरिएको भए पनि विद्यालयमा आयोजित २०८० माघ ६ गतेको कोषदाताहरुको भेलाबाट चुनिएको कूपकन्या छात्रवृत्ति कोषको कार्यसमितिले गरेको निर्णयलाई नै कार्यान्वयन गर्न विद्यालय प्रशासनले प्रतिबद्धता जनाएको छ । त्यसपछि विभिन्न सन्दर्भमा गरिएको निर्णयहरुले कोषदातालाई पर्न गएको अन्योल र त्यसबाट पैदा भएको असमझदारीलाई हल गर्न विद्यालय प्रशासन पूर्ण रुपमा लागिपर्ने प्रतिबद्ध जाहेर भएको छ ।
३. निष्कर्ष नम्बर दुईलाई आधार मानेर कोषदाता तथा कूपकन्या छात्रवृत्ति कोषका अध्यक्ष टुमराज कोइरालाले सार्वजनिक गर्नुभएको कोष फिर्ताको निर्णय फिर्ता लिने र कोष अध्यक्षको जिम्मेवारीबाट पछि नहट्ने प्रतिबद्धता जाहेर भएको छ । साथै, कोषलाई संस्थागत बनाउने कार्य अघि बढाउन कोष कार्यसमितिको बैठक राख्ने तथा दाताहरुको भेला बोलाउने कार्यलाई अघि बढाउने सहमति भएको छ । त्यसका लागि विद्यालय प्रशासनले पूर्ण तदारुकताका साथ प्रक्रिया अघि बढाउने प्रतिबद्धता जाहेर भएको छ ।
४. कूपकन्या मावि र यसका सेवाक्षेत्रका विद्यालयसमेतको हितार्थ स्थापना भएको कूपकन्या पूर्वविद्यार्थी मञ्चसँग निरन्तर सहकार्य गर्ने प्रतिबद्धता विद्यालय प्रशासनले जाहेर गरेको छ । साथै, स्थानीय निकाय र अन्य संघसंस्थासँग सहकार्य गर्ने कार्यमा विद्यालय प्रशासनले निर्वाह गर्नुपर्ने समन्वयकारी भूमिकाका हालसम्म भएका कमजोरीको समीक्षा गरिएको छ । त्यस्तो भूमिकालाई आगामी दिनमा पूर्ण सुझबुझका साथ अघि बढाउने प्रतिबद्धता विद्यालय प्रशासनले जाहेर गरेको छ ।
५. विद्यालयमा श्री विष्णुप्रसाद आचार्यले स्थापना गर्नुभएको ‘पुष्कर आचार्य स्मृति पुस्तकालय’ निर्माण प्रक्रिया अघि बढाउन कोषदाता तथा अन्य सरोकारवालासँग आवश्यक छलफल तथा समन्वय गरी कार्यसम्पादन गर्ने जिम्मेवारी प्रधानाध्यापक फूलबहादुर तामाङ र कोष तथा मञ्चका अध्यक्ष टुमराज कोइरालालाई प्रदान गर्ने सहमति भएको छ । यसका लागि विद्यालय प्रशासनले सम्पूर्ण वातावरण तयार गर्न प्रतिबद्धता जाहेर गरेको छ ।
६. पछिल्लो समय सरोकारवाला तथा कोषदाताले विद्यालयका सन्दर्भमा उठाएका सवालका सन्दर्भलाई आपसी छलफलमार्फत समझदारीपूर्ण तरिकाले हल गर्न समन्वयकारी भूमिका निर्वाह गर्ने सह–प्रधानाध्यापक नीलप्रसाद पराजुली र शिक्षक चेतनाथ नेपाललाई हार्दिक धन्यवाद व्यक्त गरिएको छ ।