22/08/2026
चीनको युनान प्रान्तमा १५ वटा जंगली एसियाली हात्तीको असाधारण यात्राले सन् २०२१ मा विश्वभर चर्चा पाएको थियो। यी हात्तीहरू आफ्नो पुरानो बासस्थान सिशुआङबान्नाबाट करिब ५०० किलोमिटर टाढासम्म यात्रा गर्दै कुन्मिङ सहर आसपास पुगेका थिए।
लामो यात्राका क्रममा हात्तीहरू खेतबारी र बस्ती हुँदै अघि बढेका थिए। कतिपय ठाउँमा उनीहरूले बालीमा क्षति पुर्याए भने घर, भान्साघर र अन्य मानव बस्तीमा समेत प्रवेश गरेका थिए। एउटा हात्ती भने मुख्य समूहबाट छुट्टिएर केही टाढा पुगेको थियो।
सबैभन्दा चर्चित दृश्य भने १५ वटै हात्ती एकसाथ जंगलमा आराम गर्दै सुतेको थियो। ड्रोनबाट खिचिएको उक्त दृश्यले सामाजिक सञ्जालमा निकै चर्चा पाएको थियो।
मानव–हात्ती द्वन्द्व रोक्न चिनियाँ अधिकारीहरूले ड्रोनबाट निगरानी गर्नुका साथै सडक बन्द गर्ने र मकै, अनानास तथा केरालगायत खानेकुरा प्रयोग गरेर हात्तीहरूको बाटो सुरक्षित दिशातर्फ मोड्ने प्रयास गरेका थिए।
विशेषज्ञहरूका अनुसार यति लामो दूरीसम्म हात्तीहरू किन हिँडे भन्ने कुरा पूर्ण रूपमा स्पष्ट थिएन। तर यस घटनाले जंगली हात्तीका लागि पर्याप्त बासस्थान, सुरक्षित आवतजावत गर्ने मार्ग र मानिससँगको द्वन्द्व कम गर्ने संरक्षण उपायको आवश्यकता विश्वसामु देखाएको थियो।