19/08/2026
नेपाली भाषा दिवसको अवसरमा उत्तरे वरिष्ठ माध्यमिक विद्यालयमा विशेष सम्बोधन
भोलि, २० अगस्ट २०२६, नेपाली भाषाले भारतको संविधानको आठौँ अनुसूचीमा मान्यता प्राप्त गरेको ३५ वर्ष पूरा हुँदैछ। यस ऐतिहासिक अवसरको पूर्वसन्ध्यामा आज उत्तरे वरिष्ठ माध्यमिक विद्यालयको बिहानको प्रार्थना सभामा नेपाली भाषा दिवसका विषयमा छोटो सम्बोधन कार्यक्रम सम्पन्न भयो।
कार्यक्रममा यसै विद्यालयका नेपाली पी.जी.टी. शिक्षक श्री ए.के. राईले नेपाली भाषा दिवसको महत्त्व, नेपाली भाषाको संवैधानिक यात्राका साथै भाषा संरक्षण र संवर्द्धनमा सबैको भूमिकाबारे विद्यार्थीहरूलाई जानकारी गराउनुभयो। उहाँले भाषा केवल सञ्चारको माध्यम मात्र नभई हाम्रो पहिचान, संस्कृति, इतिहास र साहित्यको महत्वपूर्ण आधार भएको बताउनुभयो।
नेपाली भाषाले २० अगस्ट १९९२ मा भारतको संविधानको आठौँ अनुसूचीमा स्थान प्राप्त गरेको ऐतिहासिक दिनलाई स्मरण गर्दै उहाँले नयाँ पुस्ताले नेपाली भाषाको संरक्षण, विकास र प्रयोगमा अझ सक्रिय हुनुपर्नेमा जोड दिनुभयो।
यस अवसरले विद्यार्थीहरूमा नेपाली भाषाप्रति गौरव, माया र जिम्मेवारीको भावना अझ बलियो बनाउने विश्वास गरिएको छ।
नेपाली भाषा दिवसको हार्दिक शुभकामना!